राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार (आज) राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा निर्वाचन प्रक्रिया, मतदानको अवस्था तथा अन्तिम परिणामसम्बन्धी विवरण समेटिएको छ । माघ ११ गते सम्पन्न निर्वाचनमा २ करोड ४० लाख ६६ हजार खर्च भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा निर्वाचनका विविध विषय प्रतिवेदनमा समेटिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।मंगलबार (आज) श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठ पार्टीमा प्रवेश गरेको जानकारी दिए। श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए । सांसद रहँदा स्वास्थ्यमन्त्री बन्ने उद्देश्यले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । उक्त अडिओ सार्वजनिक भएलगत्तै रास्वपाले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।
सर्लाहीका चार वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश, लोसपाका ३ केन्द्रीय सदस्यसहित ५०० जना भोलि प्रवेश गर्ने
काठमाडौं । सर्लाही जिल्लाको गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, वडा नम्बर २ का अध्यक्ष अजयप्रसाद शाह, वडा नम्बर ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता रघु कार्कीले जानकारी दिए । कांग्रेस सभापति गगनकुमार थापाले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् । कार्कीका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ३ केन्द्रीय सदस्यसहित ५०० नेता कार्यकर्ता भोलि (बिहीवार) पार्टी प्रवेश गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १ र २ का अध्यक्ष नेकपाबाट निर्वाचित भएका थिए भने वडा नम्बर ५ का अध्यक्ष जनता समाजवादी पार्टी र वडा नम्बर ११ का अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए । फरक–फरक दलबाट निर्वाचित वडाध्यक्षहरू एकैसाथ कांग्रेस प्रवेश गरेपछि सर्लाहीको स्थानीय राजनीति थप रोचक बनेको कार्कीले जानकारी दिए ।