प्रधानमन्त्रीलाई संसदमा जवाफदेही बनाउने रुलिङपछि प्रतिपक्षीको अवरोध हट्यो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित गराएर सांसदका प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेपछि झण्डै दुई महिनादेखि हुँदै आएको प्रतिनिधि सभा अवरोध हटेको छ । सभामुखको रुलिङपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षीको विरोध र अवरोधबिनै सञ्चालन भइरहेको छ । बिहान ११ बजे सुरु भएको बैठकमा प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध नगरी नियमित कार्यसूचीमा सहभागी भएका छन् । प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा बोल्ने क्रममा ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरू आक्रोशित भएका थिए । उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसदमै जवाफ दिनुपर्ने र आफ्नो भनाइबारे स्पष्ट पार्नुपर्ने माग गर्दै उनीहरूले त्यसयता निरन्तर बैठक अवरुद्ध गर्दै आएका थिए । बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाउने, प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गर्ने र आफ्ना प्रश्नको जवाफ दिनुपर्ने अडान राख्ने गरेका थिए । तर, प्रधानमन्त्री शाहले प्रतिपक्षीको माग सम्बोधन नगरेपछि संसदमा गतिरोध कायमै थियो । सोमबारको बैठकमा पनि सुरुआतमै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसक्रममा सभामुख अर्यालले यसअघिका बैठकमा जस्तो प्रतिपक्षीलाई लामो समय बोल्ने अवसर नदिई प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरे। सभामुखको उक्त रुलिङपछि प्रतिपक्षी दलहरूले बैठकमा गर्दै आएको अवरोध तत्काल हटाएका थिए । त्यसको भोलिपल्टै संसद् बैठक सहज रूपमा सञ्चालन भएको हो । मंगलबारको बैठकमा आकस्मिक समयअन्तर्गत सांसदहरूले आफ्ना धारणा राखिसकेका छन् । अहिले शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना भनाइ राखिरहेका छन् । आजको बैठकमा सरकारका चार मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘थारु आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८१/०८२’ संसदमा पेस गर्नेछिन् । त्यसपछि विधायिकी कामकारबाही अघि बढाइनेछ। परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछिन् । आजको बैठकमा अन्तर्राष्ट्रिय समुद्री कानुनसँग सम्बन्धित सम्झौता पनि संसदमा प्रस्तुत हुँदैछ । कानुनमन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा प्रश्नोत्तर, वार्षिक प्रतिवेदन, विधेयक र अन्तर्राष्ट्रिय सम्झौता प्रस्तुत गर्नेसहितका कार्यसूची छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सरकारको जवाफदेहिता र विधायिकी प्रक्रियाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
कांग्रेसले फेर्यो १५औँ महाधिवेशनको कार्यतालिका, वडा अधिवेशन धकेलियो
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशनलाई केही समय पछाडि सार्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्र असन्तुष्ट रहेका पक्षलाई समेत सहमतिमा ल्याएर महाधिवेशन अघि बढाउने प्रयासस्वरूप वडा अधिवेशनको मिति सारिएको हो । महामन्त्री पौडेलले वडा अधिवेशन सुरु भइसकेपछि असन्तुष्ट पक्षसँग सहमति कायम गर्न कठिन हुने भएकाले थप छलफल र सहमतिका लागि समय लिन खोजिएको बताए । उनले भने, ‘वडा अधिवेशन सुरु गरेपछि उहाँहरूका लागि ढोका बन्द हुन्छ । त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर गरेको प्रयास हो। हामी सहमतिका लागि लचिलो भएका छौँ ।’ बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमको कार्यतालिकामा समेत आवश्यक हेरफेर गर्ने तयारी गरेको छ । यद्यपि कांग्रेसले १५औँ महाधिवेशनको मुख्य मिति भने परिवर्तन नगर्ने जनाएको छ । महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने पूर्वनिर्धारित निर्णय यथावत् राखिएको महामन्त्री पौडेलले बताए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र कुनै अन्योल नरहेको र तोकिएको समयमै प्रक्रिया अघि बढाइनेछ । संविधान र पार्टी विधानअनुसार मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि बाध्यकारी रहेको पनि उनले स्पष्ट पारे । पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको तयारी, प्रतिनिधि छनोट र संगठनात्मक गतिविधिलाई लिएर विभिन्न पक्षबीच मतभेद देखिँदै आएको छ । यही पृष्ठभूमिमा नेतृत्वले असन्तुष्ट पक्षलाई समेत समेटेर महाधिवेशनको वातावरण बनाउने रणनीति लिएको हो । वडा अधिवेशन नै महाधिवेशनको प्रारम्भिक संगठनात्मक प्रक्रिया भएकाले यसको मिति पछाडि धकेलिनुलाई कांग्रेसभित्र सहमतिको प्रयासका रूपमा हेरिएको छ । अब संशोधित कार्यतालिकाअनुसार तल्लो तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी कांग्रेसको छ ।
गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छु : डा. शशांक कोईराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन् । संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए । कोइरालाले कांग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ । उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे । कांग्रेसभित्र सहमति हुने दाबी गर्दै उनले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताए । उनले भने, ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके कांग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।