एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको भन्दै पार्टीभित्रको एकता कायम राखेर उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै कार्यकर्तामा निहित रहेको बताए । संकटका बेला एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई फाइदा पुग्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिए ।

पार्टी नेतृत्व परिवर्तनको माग उठिरहेको विषयतर्फ संकेत गर्दै ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिए । कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गर्दै उनले नेतृत्व परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा एमालेले मुख्यतः दुईवटा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । देशमा देखिएको प्रतिगमन सच्याउँदै लोकतन्त्र र शान्ति–सुव्यवस्था कायम गर्नु तथा विकासको अभियानलाई अघि बढाउनु पार्टीको प्राथमिकता रहेको उनको भनाइ छ ।

‘नेकपा एमाले कायर पार्टी होइन । पार्टी भनेको तपाईं–हामी नै हौँ । यस्तो बेलामा पार्टी फुटेर, कोही यता फर्केर, कोही उता फर्केर एकले अर्काको खुट्टा तान्न थालेर हामी विरोधीसँग लड्न सक्छौँ र ? हामी एकताबद्ध हुनुपर्छ,’ ओलीले भने ।

ओलीले अहिले पार्टीभित्रको विवादमा अल्झिनुभन्दा प्रतिक्रियावादी शक्तिविरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै देशलाई विकासको बाटोमा अघि बढाउन पार्टी पंक्ति तयार रहनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि प्रतिक्रियावादी शक्तिविरुद्ध दृढताका साथ लड्न पार्टी पंक्तिलाई तयारी अवस्थामा रहनसमेत अध्यक्ष ओलीले निर्देशन दिए ।

Share News