काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन् ।
संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए ।
कोइरालाले कांग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ ।
उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे । कांग्रेसभित्र सहमति हुने दाबी गर्दै उनले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताए ।
उनले भने, ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’
उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके कांग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।