कांग्रेस महामन्त्री पाैडेल भन्छन्- असफलता लुकाउन सरकार अराजकताको प्रायोजक बन्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र कांग्रेस सभापति गगन थापाको निवासअगाडि नियोजित रूपमा गाडी तेर्स्याएर प्रवेशमार्ग अवरुद्ध गरिएको घटना अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्ट रहेको बताएका छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो हर्कतको सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने मागसमेत गरेका छन् ।

पार्किङकै विषयमा राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना हाम्रो सामु रहेको उल्लेख गर्दै पाैडेलले भनेका छन्, 'उक्त दुःखद घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरूको जवाफ दिनुको सट्टा, 'ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ' भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ ।'

मिडियाले राज्यका कमी-कमजोरी  औंल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा, राज्य आफै नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन यसरी सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग र विधिको शासनमाथिको भद्दा मजाक रहेको पाैडेलले बताएका छन् । 

'राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने हो; आफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन', पाैडेलले भनेका छन्, 'स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम कसैले पाल्नु हुँदैन ।'

Share News