कांग्रेसभित्र गगन थापाको राजीनामाबारे दुई धार, नेतृत्व टिकाउने कि नैतिक जिम्मेवारी लिने ?

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि नेपाली कांग्रेसभित्र नेतृत्व र जिम्मेवारीबारे गम्भीर बहस सुरु भएको छ । पार्टीका सभापति गगनकुमार थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सक्ने संकेत गरेपछि कांग्रेसभित्र नेताहरू स्पष्ट रूपमा दुई धारमा विभाजित देखिएका छन् । एक पक्षले अहिले नेतृत्व परिवर्तनको बहसभन्दा पार्टीलाई पुनर्गठन र संगठन सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने तर्क अघि सारेको छ । अर्को पक्षले भने चुनावी पराजयपछि नेतृत्वले नैतिक जिम्मेवारी लिनु राजनीतिक संस्कारअनुसार आवश्यक रहेको बताउँदै सभापति थापाले पद त्याग गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यसले कांग्रेसभित्र नेतृत्व, रणनीति र संगठनात्मक संरचनाबारे नयाँ बहस सुरु भएको छ। सभापति थापा निकट नेताहरूले अहिलेको परिस्थितिमा राजीनामा दिनु उपयुक्त नहुने बताएका छन् । उनीहरूको तर्कअनुसार चुनावी परिणामको जिम्मेवारी केवल सभापतिको मात्र नभई समग्र पार्टी नेतृत्व, संगठन र चुनावी रणनीतिसँग जोडिएको विषय हो । कांग्रेस नेता डा. सुनिल शर्माले अहिलेको अवस्थामा गगन थापाको नेतृत्वमै पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको बताएका छन् । उनका अनुसार चुनावी हारपछि नेतृत्व परिवर्तनको बहसमा अल्झिनुभन्दा पार्टीलाई पुनर्गठन गर्दै संगठन सुदृढ बनाउने काम प्राथमिकतामा हुनुपर्छ । थापा पक्षका युवा नेताहरूले पनि यही धारणा व्यक्त गरेका छन् । उनीहरू अहिले सभापतिले राजीनामा दिएमा पार्टीभित्र थप अस्थिरता उत्पन्न हुन सक्ने बताउँछन् । नेता मनोजमणि आचार्यले निर्वाचन परिणामको गम्भीर समीक्षा गर्दै संगठनात्मक सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिन्छन् । तर सभापतिले राजीनामा दिने कुरो अहिलेको यथार्थभन्दा बाहिरको विषय रहेको उनको भनाइ छ । उनका अनुसार पार्टीलाई नयाँ ढंगले अघि बढाउन गगनको नेतृत्वमा संगठन, रणनीति र नेतृत्व शैलीबारे गहिरो पुनर्विचार आवश्यक हुनसक्छ । कांग्रेसका अर्का नेता डा. चन्द्रकान्त भण्डारीले पनि अहिलेको अवस्थामा सभापति थापाले राजीनामा दिनु उपयुक्त नभएको बताएका छन् । उनका अनुसार अहिले जिम्मेवारीबाट पछि हट्ने समय नभई पार्टीलाई सुधार गर्ने समय हो । पार्टीभित्र देखिएका संरचनात्मक समस्या समाधान गर्न नेतृत्व सक्रिय हुनुपर्ने उनले बताएका छन् । भण्डारीले पार्टी पुनर्गठनका लागि छिटो महाधिवेशन बोलाएर संगठन सुदृढ बनाउनुपर्ने सुझाव पनि दिएका छन् । उनका अनुसार नयाँ जनादेशको सन्दर्भमा कांग्रेसले आफ्नो संगठनात्मक ढाँचा र कार्यशैली पुनः परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ । यद्यपि कांग्रेसभित्रको अर्को ठूलो समूहले भने नेतृत्वले चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने धारणा अघि सारेको छ । उनीहरूको तर्कअनुसार पार्टीले अपेक्षा गरेभन्दा धेरै कमजोर परिणाम ल्याउनु मात्र होइन, सभापति स्वयं पनि चुनावमा पराजित हुनु राजनीतिक रूपमा गम्भीर विषय हो । यस समूहका नेताहरूका अनुसार यस्तो अवस्थामा नेतृत्वले नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्याग गर्नु लोकतान्त्रिक राजनीतिक संस्कारअनुसार उपयुक्त हुन्छ। नेता जितजंग बस्नेतले नेतृत्वले आफ्नो कार्यकालको जस र अपजस दुवै स्वीकार गर्नुपर्ने बताउँछन् । उनका अनुसार एक समय देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति मानिएको कांग्रेस अहिले खुम्चिँदै गएको छ र यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने हुन्छ । अर्का नेता तथा तरुण दलका सभापति विद्घान गुरुङले कांग्रेसको नयाँ संस्करणको राजनीतिक प्रयोग असफल भएको टिप्पणी गरेका छन् । उनका अनुसार अहिले देश र समाजलाई परम्परागत मूल्य र संगठनात्मक आधारमा चल्ने कांग्रेस आवश्यक भएको दाबी गरेका छन् । यस धारका नेताहरूले चुनावी रणनीतिमा देखिएको कमजोरी, संगठन व्यवस्थापनमा देखिएको असक्षमता र नेतृत्व शैलीका कारण पनि परिणाम प्रभावित भएको बताएका छन् । त्यसैले पार्टीले केवल परिणामको समीक्षा मात्र नभई आफ्नो राजनीतिक दिशा, संगठनात्मक संरचना र रणनीतिबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनीहरूको भनाइ छ । कांग्रेसभित्र केही नेताहरू भने तत्काल राजीनामा वा नेतृत्व परिवर्तनको निर्णयमा हतार गर्न नहुने पक्षमा देखिएका छन् । उनीहरूका अनुसार पार्टीको आधिकारिक बैठकमा निर्वाचन परिणामबारे विस्तृत समीक्षा भएपछि मात्र नेतृत्वसम्बन्धी निर्णय लिनु उपयुक्त हुन्छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै त्यसको गहिरो समीक्षा गरिने बताएका छन् । उनका अनुसार पार्टीभित्र सबै तहमा छलफल गरेर परिणामको  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ । प्रत्यक्षतर्फ पार्टीले अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा सिट गुमाएको छ । यसैक्रममा सभापति गगन थापा स्वयं पनि सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका छन् । पार्टी नेतृत्व आफ्नै निर्वाचन क्षेत्रबाट हार्नुले कांग्रेसभित्र राजनीतिक र नैतिक जिम्मेवारीबारे बहसलाई थप तीव्र बनाएको छ । थापाले चुनावी परिणामपछि पार्टीभित्र आन्तरिक छलफल सुरु गर्दै हारको नैतिक जिम्मेवारीबारे संवाद अघि बढाउने संकेत गरेका थिए । उपसभापति शर्माले यसबारे जानकारी गराएपछि थापाको राजीनामा वा संगठन पुनर्गठन भन्ने बहसले तीव्रता लिएको छ । त्यसपछि पार्टीभित्र नेतृत्वको भूमिका, संगठनको अवस्था र आगामी रणनीतिबारे बहस झन् चर्किएको छ । कांग्रेसभित्र अहिले मुख्य प्रश्न राजीनामा कि पुनर्गठन भन्ने बनेको छ । एक पक्षले नेतृत्वलाई निरन्तरता दिँदै पार्टीलाई सुधार गर्ने अवसर दिनुपर्ने बताइरहेको छ भने अर्को पक्षले नयाँ नेतृत्वमार्फत पार्टीलाई पुनर्जीवित गर्नुपर्ने तर्क अघि सारेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो बहस केवल एक व्यक्तिको पद वा राजिनामासँग मात्र सम्बन्धित छैन । यसले कांग्रेसको भावी राजनीतिक दिशा, नेतृत्व शैली र संगठनात्मक पुनर्संरचनासँग पनि गहिरो सम्बन्ध राख्छ । यस विषयको अन्तिम निर्णय भने पार्टीका औपचारिक बैठक र संस्थागत छलफलपछि मात्र स्पष्ट हुने देखिएको छ । तर हालको परिस्थितिले भने कांग्रेसभित्र गहिरो आत्मसमीक्षा र राजनीतिक पुनर्संरचनाको आवश्यकता उजागर गरेको छ ।

६ टन मकैको बीउ बाँड्दै पोखरा महानगर, किसान उत्साहित

गण्डकी । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ ।      महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।  उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।       अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए । महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए ।     

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् ।      सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् ।      प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।      अधिकांश नयाँ अनुहार जितेको रास्वापाबाट झापा निर्वाचन क्षेत्र नं १ बाट निशा डाँगी, क्षेत्र नं २ बाट इन्दिरा राना मगर, क्षेत्र नं ३ बाट प्रकाश पाठक, क्षेत्र नं ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं ५ बाट बालेन्द्र शाह निर्वाचित भएका छन् । मोरङ क्षेत्र नं १ बाट यज्ञमणि न्यौपाने, क्षेत्र नं २ बाट कृष्णकुमार कार्की, क्षेत्र नं ३ बाट गणेश कार्की, क्षेत्र नं ४ बाट सन्तोष राजवंशी, क्षेत्र नं ५ बाट आशा झा र क्षेत्र नं ६ बाट रुबिना आचार्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।      सुनसरी निर्वाचन क्षेत्र नं २ बाट लालविक्रम थापा, क्षेत्र नं ३ बाट अशोककुमार चौधरी, क्षेत्र नं ४ बाट दीपककुमार साह, ओखलढुङ्गा क्षेत्र नं १ विश्वराज पोखरेल, उदयपुर क्षेत्र नं १ बाट पारशमणि गेलाल र क्षेत्र नं २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् ।     सप्तरी क्षेत्र नं १ बाट पुष्पाकुमारी चौधरी, क्षेत्र नं २ बाट रामजी यादव, क्षेत्र नं ३ बाट अमरकान्त चौधरी र क्षेत्र नं ४ बाट सीताराम साह, सिराहा क्षेत्र नं १ बाट बब्लु गुप्ता, क्षेत्र नं २ बाट शिवशङ्कर यादव, क्षेत्र नं ३ बाट शम्भुकुमार यादव र क्षेत्र नं ४ बाट तपेश्वर यादव निर्वाचित भएका छन् ।      धनुषा क्षेत्र नं २ बाट रामविनोद यादव, क्षेत्र नं ३ बाट मनिष झा र क्षेत्र नं ४ बाट राजकिशोर महतो, महोत्तरी क्षेत्र नं १ बाट प्रमोदकुमार महतो, क्षेत्र नं २ बाट दीपकुमार साह, क्षेत्र नं ३ बाट उज्ज्वलकुमार झा र क्षेत्र नं ४ बाट गौरीकुमारी विजयी भएका छन् ।      सर्लाही क्षेत्र नं १ मा नितिमा भण्डारी (कार्की), क्षेत्र नं २ मा रविन महतो, क्षेत्र नं ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट क्षेत्र नं १ मा राजेशकुमार चौधरी, क्षेत्र नं ३ मा रवीन्द्र पटेल र क्षेत्र नं ४ मा गणेश पौडेल निर्वाचित भएका छन् ।      सोही पार्टीबाट बारा क्षेत्र नं १ बाट गणेश धिमाल, क्षेत्र नं २ बाट चन्दनकुमार सिंह, क्षेत्र नं ३ बाट अरबिन्द साह र क्षेत्र नं ४ बाट रहबर अन्सारी, पर्सा क्षेत्र नं १ बाट बुद्धिप्रसाद पन्त, क्षेत्र नं २ बाट सुशीलकुमार कानु, क्षेत्र नं ३ बाट रामाकान्तप्रसाद चौरसिया र क्षेत्र नं ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका छन् ।          दोलखा क्षेत्र नं १ बाट जगदीश खरेल, रामेछाप निर्वाचन क्षेत्र नं १ बाट कृष्णहरि बुढाथोकी, सिन्धुली क्षेत्र नं १ बाट धनेन्द्र कार्की र क्षेत्र नं २ बाट आशिष गजुरेल, धादिङ क्षेत्र नं १ बाट आशिका तामाङ र क्षेत्र नं २ बाट बोधनारायण श्रेष्ठ, नुवाकोट क्षेत्र नं १ बाट विक्रम तिमिल्सिना र क्षेत्र नं २ बाट अचुत्तम लामिछाने निर्वाचित भएका छन् ।  ​​​​​​ रास्वपाबाटै काठमाडौं क्षेत्र नं १ बाट रन्जु न्यौपाने, क्षेत्र नं २ बाट सुनिल केसी, क्षेत्र नं ३ बाट राजुनाथ पाण्डे, क्षेत्र नं ४ बाट पुकार बम, क्षेत्र नं ५ बाट सस्मित पोखरेल, क्षेत्र नं ६ बाट शिशिर खनाल, क्षेत्र नं ७ बाट गणेश पराजुली, क्षेत्र नं ८ बाट विराजभक्त श्रेष्ठ, क्षेत्र नं ९ बाट डोलप्रसाद अर्याल र क्षेत्र नं १० बाट प्रदीप विष्ट, भक्तपुर क्षेत्र नं १ बाट रुकेश रन्जित र क्षेत्र नं २ बाट राजीव खत्री, ललितपुर क्षेत्र नं १ बाट बुद्धरत्न महर्जन, क्षेत्र नं २ बाट जगदीश खरेल र क्षेत्र नं ३ बाट तोसिमा कार्की विजयी भएका छन् ।      काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट मधुकुमार चौलागाई र क्षेत्र नं २ बाट बदनकुमार भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट भरतप्रसाद पराजुली, मकवानपुर क्षेत्र नं १ बाट प्रकाश गौतम र क्षेत्र नं २ बाट प्रशान्त उप्रेती, चितवन क्षेत्र नं १ बाट हरि ढकाल, क्षेत्र नं २ बाट रवि लामिछाने र क्षेत्र नं ३ बाट सोविता गौतम निर्वाचित भएका छन् ।        गोरखा क्षेत्र नं १ मा सुधन गुरुङ र क्षेत्र नं २ मा कविन्द्र बुर्लाकोटी, लमजुङ क्षेत्र नं १ मा धर्मराज केसी, कास्की क्षेत्र नं १ मा खडकराज पौडेल, क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नं ३ मा बिना गुरुङ, तनहुँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले र क्षेत्र नं २ मा श्रीराम न्यौपाने निर्वाचित भएका छन् ।     सोही पार्टीबाट स्याङ्जा क्षेत्र नं १ मा धनन्जय रेग्मी, क्षेत्र नं २ मा झविलाल डुम्रे, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ मा राजन गौतम, क्षेत्र नं २ मा मनिष खनाल, बागलुङ क्षेत्र नं १ मा सुशील खड्का र क्षेत्र नं २ मा सोम शर्मा तथा पर्वत क्षेत्र नं १ मा सागर भुसाल विजयी भएका छन् ।     गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नं २ मा गोविन्द पन्थी, पाल्पा क्षेत्र नं २ मा माधवबहादुर थापा, अर्घाखाँची क्षेत्र नं १ मा हरिप्रसाद भुसाल, रुपन्देही क्षेत्र नं १ मा सुनिल लम्साल, क्षेत्र नं २ मा सुलभ खरेल, क्षेत्र नं ३ मा डा लेखजङ्ग थापा, क्षेत्र नं ४ मा कन्हैया बनिया र क्षेत्र नं ५ मा तौफिक अहमद खान निर्वाचित भएका छन् ।   कपिलवस्तु क्षेत्र नं १ मा मोहनलाल आचार्य र क्षेत्र नं २ मा विक्रम थापा, प्यूठान क्षेत्र नं १ मा सुशान्त वैदिक, दाङ क्षेत्र नं १ मा देवराज पाठक, क्षेत्र नं २ मा विपिनकुमार आचार्य र क्षेत्र नं ३ मा कमल सुवेदी, बाँके क्षेत्र नं १ मा कमल सुवेदी र क्षेत्र नं ३ मा खगेन्द्र सुनार र बर्दिया क्षेत्र नं १ मा ठाकुरसिंह थारू र क्षेत्र नं २ मा श्रीधर पोख्रेल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा विक्रम खनाल र क्षेत्र नं २ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएको आयोगले जनाएको छ ।      सुर्खेत निर्वाचन क्षेत्र नं २ मा रमेशकुमार सापकोटा, सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नं १ मा कोमल ज्ञवाली, क्षेत्र नं २ मा केपी खनाल, क्षेत्र नं ३ मा जगतप्रसाद जोशी, क्षेत्र नं ४ मा खेमराज कोइराला र क्षेत्र नं ५ मा आनन्दबहादुर चन्द, बैतडी क्षेत्र नं १ मा हरिमोहन भण्डारी, डडेल्धुरा क्षेत्र नं १ मा ताराप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नं १ मा जनकसिंह धाँमी, क्षेत्र नं २ मा दीपकराज बोहरा र क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् ।   नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये चार जनाबाहेक सबै नयाँ अनुहार छन् । सो पार्टीबाट पाँचथर क्षेत्र नं १ मा नरेन्द्रकुमार केरुङ, इलाम क्षेत्र नं १ मा निश्कल राई, तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, सोलुखुम्बु क्षेत्र नं १ मा प्रकाश सिंह कार्की, रौतहट क्षेत्र नं २ मा फिरदोश आलम, रसुवा क्षेत्र नं १ मा मोहन आचार्य, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भएका छन् ।      यस्तै, पाल्पा क्षेत्र नं १ मा सन्दीप राना, कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेकप्रताप शाह, मुगु क्षेत्र नं १ मा खड्ग शाही, हुम्ला क्षेत्र नं १ मा जयपति रोकाया, जाजरकोट क्षेत्र नं १ मा खडकबहादुर बुढा, दैलेख क्षेत्र नं १ मा बासना थापा, सुर्खेत क्षेत्र नं १ मा विष्णुबहादुर खड्का, बाजुरा क्षेत्र नं १ मा जनकराज गिरी, अछाम क्षेत्र नं १ मा भरतकुमार स्वार र डोटी क्षेत्र नं १ मा भरतबहादुर खड्का निर्वाचित भएका छन् ।          नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी नौ मध्ये तीन जना नयाँ अनुहार छन् । सो पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फको सांसद सदस्यमा ताप्लेजुङ क्षेत्र नं १ मा क्षितिज थेबे, इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङ, सङ्खुवासभा क्षेत्र नं १ मा अर्जुनकुमार कार्की, धनकुटा क्षेत्र नं १ मा राजेन्द्रकुमार राई, बाँके क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राई, दैलेख क्षेत्र नं २ मा लक्ष्मीप्रसाद पोखरेल, अछाम क्षेत्र नं २ मा यज्ञबहादुर बोगटी, बझाङ क्षेत्र नं १ मा ऐनबहादुर महर र दार्चुला क्षेत्र नं १ मा गणेशसिंह ठगुन्ना विजयी भएको आयोगले जनाएको छ ।          नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीन जना सङ्घीय संसद्मा नयाँ अनुहार रहेका छन् । सो पार्टीबाट धनुषा क्षेत्र नं १ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक क्षेत्र नं २ मा युवराज दुलाल, रुकुम (पूर्वीभाग) क्षेत्र नं १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पा क्षेत्र नं १ बाट वर्षमान पुन, सल्यान क्षेत्र नं १ बाट रमेशकुमार मल्ल, डोल्पा क्षेत्र नं १ बाट धनबहादुर बुढा, कालिकोट क्षेत्र नं १ बाट महेन्द्रबहादुर शाही र रुकुम (पश्चिम भाग) क्षेत्र नं १ बाट गोपाल शर्मा विजयी भएका छन् ।      यस निर्वाचनदेखि उदाएको श्रम संस्कृति पार्टीबाट विजयी तीनै जना नयाँ अनुहार हुन् । सो पार्टीबाट भोजपुर क्षेत्र नं १ मा ध्रुवराज राई, सुनसरी क्षेत्र नं १ बाट हर्कराज राई र खोटाङ क्षेत्र नं १ बाट आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला क्षेत्र नं १ मा ज्ञानबहादुर शाही पुरानै सांसद हुन् ।        म्याग्दी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहारका रुपमा विजयी भएका छन् ।   समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा      यही फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आज अपराह्न २ बजेसम्म एक करोड पाँच लाख मतगणना भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर केसीका अनुसार समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने अनुमान गरिएको छ । जारी मतगणनाअनुसार हालसम्म छवटा राजनीतिक दलले कुल गणना मतको तीन प्रतिशत मत कटाएका छन् । समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । रासस