चैत २७ मा उपसभामुखको निर्वाचन हुने, प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । सभामुख अर्याल स्वयं भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका थिए । उनको एकल उम्मेदवारी परेपछि प्रतिस्पर्धा बिना नै सभामुखमा चयन भएका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख चयन भइसकेपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने प्रावधान छ । सोही व्यवस्थाअनुसार अब उपसभामुख चयन प्रक्रिया तीव्र बनेको हो ।
कुटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई ब्रिफिङ
काठमाडौं । मन्त्रीहरूको कुटनीतिक अभिव्यक्तिलाई नियन्त्रणमा ल्याउन सरकार आकस्मिक रूपमा सक्रिय बनेको छ । परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई कडा चेतावनीसहित कुटनीतिक आचारसंहिताबारे ब्रिफिङ दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रस्तुतीकरणमा बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीलाई अब मनलाग्दी बोल्न नपाइने सन्देश स्पष्ट रूपमा दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले पठाएको प्रेस नोटअनुसार, परराष्ट्र सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित र कूटनीतिक मर्यादाबारे कडाइका साथ पालना गर्नुपर्ने सीमाहरू प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयका सचिवले दिएको प्रशिक्षणमा विदेशी राष्ट्रसँग सम्बन्धमा व्यक्तिगत धारणा नचल्ने सल्लाह दिईएको थियो । प्रधानमन्त्री साहका प्रेष विज्ञ दाहालका अनुसार राष्ट्रिय हितविरुद्ध जाने अभिव्यक्तिमा कडा निगरानी राख्ने कूटनीतिक शिष्टाचार उल्लंघन नगर्ने र विदेशी पदाधिकारीसँगको भेटमा अनिवार्य प्रोटोकल पालना गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । कुटनीतिक वृत्तमा यसलाई स्पष्ट वार्निङ सिग्नलका रूपमा लिइएको छ । अब मन्त्रीहरूका हरेक अन्तर्राष्ट्रिय टिप्पणी र भेटवार्ता सरकारकै आधिकारिक लाइनभित्र सीमित हुने संकेत गरिएको छ ।
योजना आयोगका नवनियुक्त उपाध्यक्ष भट्टले गरे पदबहाली
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले बुधबार (आज) पदबहाली गरेका छन् । सचिव तथा आयोगको टोलीले उनलाई कार्यालयमा स्वागत गरेको थियो । मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पौडेल गभर्नरमा नियुक्त भएका थिए । भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काबिल अर्थशास्त्रीका रूपमा परिचित छन् ।