काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि सतहभित्र सीमित रहेको शक्ति संघर्ष अब खुला राजनीतिक प्रतिस्पर्धामा रूपान्तरित हुने संकेत देखिएको छ ।
आगामी १५औं महाधिवेशनको तयारीसँगै नेतृत्व पक्ष र संस्थापन इतर समूहबीच बढ्दै गएको अविश्वास साउन ६ गते आयोजना गरिएका दुई समानान्तर कार्यक्रममार्फत सार्वजनिक रूपमा प्रकट हुने भएको हो ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवश पारेर दुवै समूहले छुट्टाछुट्टै कार्यक्रम गर्न थालेका हुन् ।
पार्टीको आधिकारिक कार्यक्रम र इतर समूहको छुट्टै राजनीतिक कार्यक्रम एउटै दिन आयोजना हुनु कांग्रेसभित्रको सामान्य गुटगत गतिविधिभन्दा धेरै माथिको राजनीतिक सन्देश मानिएको छ ।
यसलाई आगामी नेतृत्वको शक्ति सन्तुलन, महाधिवेशनको तयारी तथा पार्टीको भावी दिशालाई प्रभावित गर्ने शक्ति परीक्षणका रूपमा समेत विश्लेषण गर्न थालिएको बताउँछन् विश्लेषक परसुराम घिमिरे ।
साउन ६ गते कांग्रेसको संस्थापन पक्षले देशव्यापी रूपमा सञ्चालन गर्दै आएको जरा अभियान ७७ वटै जिल्लामा समापन गर्ने कार्यक्रम तय गरेको छ ।
काठमाडौंमा हरित हिँडाइ र हरित बहस आयोजना गर्दै अभियानलाई औपचारिक रूपमा समापन गरिने नेता मनोजमणि आचार्यले जानकारी दिए । उनका अनुसार पार्टी नेतृत्वले यसलाई संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, नयाँ पुस्तासँग संवाद र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ ।
तर यही दिन संस्थापन इतर समूहले भने काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ४४औं बीपी स्मृति दिवसका अवसरमा वृहत राजनीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
कार्यक्रमलाई बीपी कोइरालाको विचारमाथिको विमर्शका रूपमा प्रस्तुत गरिए पनि यसको राजनीतिक अर्थ भने महाधिवेशनअघि इतर समूहको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
नेता डा. प्रकाशशरण महतका अनुसार उक्त कार्यक्रमपछि देशव्यापी राजनीतिक अभियान र राष्ट्रियस्तरको भेलासम्बन्धी घोषणा गर्ने तयारीसमेत भइरहेको छ ।
बीपी कोइराला नेपाली कांग्रेसका साझा आदर्श र सबै धाराले स्वीकार गरेका नेता हुन् । तर उनकै स्मृति दिवसका अवसरमा एउटै पार्टीले दुई अलग–अलग मञ्चबाट राजनीतिक गतिविधि आयोजना गर्नु कांग्रेसको वर्तमान अवस्थाको सबैभन्दा दारुण उदाहरण बनेको घिमिरेको ठहर छ ।
राजनीतिक विश्लेषक घिमिरेका अनुसार कार्यक्रमको उद्देश्य फरक देखिए पनि यसको वास्तविक सन्देश संगठनभित्रको शक्ति सन्तुलनसँग सम्बन्धित छ । नेतृत्व पक्षले आफ्नो संगठनात्मक पकड देखाउन खोजिरहेको छ भने इतर समूहले पार्टीभित्र आफू कमजोर नरहेको सन्देश दिन खोजेको उनको बुझाइ छ ।
यसअघि पनि कांग्रेसभित्र गुटगत भेला, छलफल र समानान्तर गतिविधि हुँदै आएका थिए । तर पार्टीकै आधिकारिक राष्ट्रिय कार्यक्रमसँगै अर्को राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुनु भने असामान्य राजनीतिक अभ्यास मानिएको छ ।
कांग्रेसभित्र देखिएको पछिल्लो ध्रुवीकरणको मूल कारण आगामी १५औँ महाधिवेशन हो । क्रियाशील सदस्यता वितरण, सदस्यता प्रमाणीकरण, महाधिवेशन प्रतिनिधिको आधार, कार्यतालिका, केन्द्रीय संरचनाको पुनर्संरचना र नेतृत्व चयनका विषयमा नेतृत्व र संस्थापन इतर पक्षबीच लामो समयदेखि मतभेद छ ।
इतर समूहले पार्टी सञ्चालन क्रमशः एकपक्षीय बन्दै गएको, महत्त्वपूर्ण निर्णयहरू सीमित घेरामा हुने गरेको तथा महाधिवेशनको तयारी निष्पक्ष ढंगले अघि नबढाइएको आरोप लगाउँदै आएको छ । उनीहरूले पार्टीभित्र संस्थागत छलफल कमजोर हुँदै गएको र नेतृत्वले असन्तुष्ट आवाजलाई बेवास्ता गरेको दाबी गर्दै आएका छन् ।
नेतृत्व पक्ष भने विधान र संस्थागत प्रक्रियाअनुसार नै सबै निर्णय अघि बढिरहेको बताउँदै आएको छ । असन्तुष्टिहरू संवादमार्फत समाधान गर्न सकिने भए पनि समानान्तर गतिविधिले पार्टीलाई कमजोर बनाउने तर्क संस्थापन नेतृत्वको छ ।
राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चासो साउन ६ का कार्यक्रममा कुन पक्षले कति उपस्थिति जुटाउँछ भन्ने विषयमा छ ।
कुन पक्षसँग बढी केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, जिल्ला नेतृत्व तथा कार्यकर्ता उपस्थित हुन्छन् भन्ने विषयले महाधिवेशनअघिको मनोवैज्ञानिक सन्तुलन निर्धारण गर्न सक्ने आँकलन गरिएको छ । त्यसैले साउन ६ लाई केवल दुई कार्यक्रम भएको दिनका रूपमा होइन, कांग्रेसभित्रको वास्तविक शक्ति सन्तुलन सार्वजनिक हुने दिनका रूपमा पनि हेरिएको हुन सक्ने विश्लेषक घिमिरेले बताए ।
कांग्रेसभित्र अहिले सार्वजनिक रूपमा कसैले पनि पार्टी विभाजनको पक्षमा बोलेको छैन । दुवै पक्षले पार्टीलाई एकताबद्ध राख्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् ।
तर समानान्तर संगठनात्मक गतिविधि, छुट्टै सम्पर्क संयन्त्र, अलग राजनीतिक कार्यक्रम र नेतृत्वमाथिको सार्वजनिक आलोचना बढ्दै जाँदा पार्टीभित्र व्यवहारतः दुई शक्ति केन्द्र स्पष्ट बन्दै गएको देखिन्छ । तर नेता आचार्य भने प्रजातान्त्रिक दलको लागि यस्ता गतिविधि नियमित प्रक्रिया भएको बताउँछन् ।
राजनीतिक विश्लेषक घिमिरेका अनुसार तत्काल औपचारिक विभाजनको सम्भावना कमजोर भए पनि संवाद असफल हुँदै गए र महाधिवेशनको प्रक्रिया विवादित बन्यो भने संगठनात्मक संकट गहिरिन सक्ने जोखिम भने नकार्न सकिँदैन ।
साउन ६ पछिका घटनाक्रमले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने सम्भावना बलियो देखिएको छ । यदि शक्ति प्रदर्शनपछि दुवै पक्ष संवादमा फर्किए भने महाधिवेशन सहमतिका आधारमा सम्पन्न हुने वातावरण बन्न सक्छ ।
तर प्रतिस्पर्धा अझ चर्किदै गए संगठनभित्र समानान्तर शक्ति केन्द्र संस्थागत बन्ने सम्भावना रहेको घिमिरेको बुझाइ रहेको छ । इतर पक्षको नेतृत्व भने बल सभापति गगन थापाको कोर्टमा रहेको बताउँछ ।
इतर पक्षका नेता डा. महत भन्छन्, ‘नेतृत्वले सम्वाद, सहकार्यको ढोका खोले सबै सामान्य हुन्छ । ढोका बन्द गरेर बिराले चुट्ने हो भने परिणाम अन्यथा पनि हुनसक्छ । त्यसले निर्णय प्रक्रिया, संगठन सञ्चालन र निर्वाचन तयारीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।’
अधिवक्तासमेत रहेका घिमिरेका अनुसार नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, नेपालको लोकतान्त्रिक राजनीतिको प्रमुख स्तम्भमध्ये एक हो । उनका अनुसार त्यसैले कांग्रेसभित्रको स्थिरता वा अस्थिरताले राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
यही कारण साउन ६ को घटनाक्रमलाई सामान्य पार्टीगत कार्यक्रमका रूपमा भन्दा पनि कांग्रेसको नेतृत्वको भविष्य र महाधिवेशनको दिशाको संकेत दिने राजनीतिक घटनाका रूपमा हेरिएको घिमिरे बताउँछन् ।
बीपी कोइरालाले जीवनभर जोड दिएको सहमति, संस्थागत लोकतन्त्र र संगठनात्मक एकताको सन्देश स्मरण गर्ने दिनमै कांग्रेसभित्र दुई फरक राजनीतिक मञ्च देखिनु आफैमा प्रतीकात्मक घटना हो ।
अब साउन ६ पछि कांग्रेस संवाद, सहमति र संस्थागत एकताको बाटो रोज्छ कि प्रतिस्पर्धा र ध्रुवीकरण अझ गहिरिन्छ भन्ने प्रश्नले केवल कांग्रेसका नेता–कार्यकर्तालाई मात्र होइन, समग्र राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्नेछ ।