गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन हुँदै, एमाले र कांग्रेसबाट चार/चार जना नयाँ मन्त्री सिफारिस

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।  मुख्यमन्त्री पाण्डेको मन्त्रिपरिषदमा नेकपा एमालेबाट चारजना र नेपाली कांग्रेसबाट चार जना नयाँ मन्त्री सिफारिस भएका हुन् । आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए ।  पुनर्गठनका लागी एमालेले गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको रूपमा सिफारिस गरेको जनाएको छ । यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्रीका रूपमा सिफारिस भएका हुन् । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट पनि चारजना नयाँ मन्त्री सिफारीस भएका छन् । दीप शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्रीको रूपमा सिफारिस भएको कांग्रेस प्रदेश संसदीय दलका एक नेताले जानकारी दिए । नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

रास्वपाले आह्वान ग‍र्यो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बिहीबार (भाेलि) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा मध्यान्ह सवा १२ बजे बस्न लागेको हो । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  त्यसैगरी अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।  

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो । शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेको सहयोग र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ ।  मन्त्री पोखरेल र राजदूत फेनबीच नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिज्म स्कुलको लागि सहकार्य, शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा पनि उनीहरूबीच परामर्श भएको छ । भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार, शिक्षकहरूको क्षमता विकासलगायत विषयमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गरे । साथै मन्त्री पोखरेलले अजिटम स्कुलको लागि स्रोत र जनशक्ति विकास तथा शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत फेनले नेपालको शैक्षिक र खेलकुद क्षेत्रका साथै अन्य क्षेत्रमा विगतदेखि गरिआएको सहयोग र सहकार्यका लागि बेलायत सरकार उत्सुक रहेको बताएका थिए। सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।  त्यस्तै, शिक्षकको क्षमता विकासमा सहकार्य गर्ने तथा ट्रान्सनेशनल एजुकेशनको नेपालमा सम्भावनाबारे पनि कुराकानी भएको छ ।