सीमापार तस्करी नियन्त्रणका लागि गृहमन्त्री र सांसदहरूबीच छलफल
काठमाडौं । सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार ( आज ) गृह मन्त्रालयमा छलफल सम्पन्न भएको छ । गृहमन्त्री सुधन गुरुङ र मधेश तथा लुम्बिनी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूबीच सो विषयमा केन्द्रित रहेर संवाद भएको हो । छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रका वस्तुस्थिति प्रस्तुत गर्दै तस्करी नियन्त्रणका विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने र आवश्यकता अनुसार भन्सार दरको पुनरावलोकन गर्नुपर्ने, सीमा नाकाहरूमा प्रभावकारी निगरानी तथा अनुगमनका लागि थप बलियो संयन्त्र विकास गर्नुपर्ने, किसानहरूलाई आवश्यक पर्ने कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रियालाई सरलीकृत गरिनुपर्ने तथा सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई दैनिक उपभोग्य सामग्री आयातमा निश्चित मापदण्ड तोकी भन्सार छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा उठेका विषयवस्तुहरूलाई सम्बोधन गर्दै गृह मन्त्रालयले आफ्ना क्षेत्राधिकार भित्रका सवालहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू मन्त्रालयले कार्यान्वयन गर्नेछ भने अर्थ मन्त्रालयसँग जोडिएका विषयहरूमा आपसी समन्वय र थप छलफलमार्फत् समाधान खोजिने बताइएको छ ।
कांग्रेसको आधिकारिकता विवादमा सकियो जवाफी बहस, केहीबेरमै आदेश आउने
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा जवाफी बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासबाट अब केही छिनमै आदेशको तयारी भएको अदालत स्रोतले बताएको छ । गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसको नयाँ कार्यसमितिको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको हो । उक्त विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनबाट बनेको उक्त कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि विवाद चर्किएको हो । निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको पक्ष सर्वोच्च अदालत पुगेको थियो ।
आज पनि सकेन कांग्रेसले संसदीय दलको नेता चयन गर्न
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकमा नेतृत्व चयनबारे प्रारम्भिक छलफल भएको निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन् । साथै मोहन आचार्यदेखि निस्कल राईसम्मका नेताहरूको नाम पनि चर्चामा रहेको छ । ‘सम्भवतः भोलि सहमतिका साथ दलको नेता चयन हुन्छ,’ सोलुखुम्बुका सांसद प्रकाशसिंह कार्कीले भने । उनका अनुसार स्पष्ट मापदण्डसहित भोलि कांग्रेसले दलको नेता पाउनेछ । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद रहेका छन् । पार्टीले सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको कार्कीले जानकारी दिए । सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत टुंगो लगाइने कार्कीले जानकारी दिए । सहमहामन्त्री रसाइलीका अनुसार सहमतिको प्रयासलाई निरन्तरता दिँदै भोलि पुनः दाबेदारहरूसँग छलफल गरिनेछ । उनले भने, ‘नेता चयन प्रक्रिया सुरु भइसकेको छ, तर आज टुंगो लागेन । भोलि फेरि छलफल गरेर सहमति खोज्ने प्रयास गर्छौं ।