नाडा अटो शोको तयारी अन्तिम चरणमा (फोटो–फिचर)

काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो- २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । अहिले भृकुटीमण्डपमा स्टल बनाउने काम धमाधम भइरहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ ।  नाडाका अनुसार अटो शोलाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सजावटका कामहरु भइरहेका छन् ।  यसपटकको नाडा अटो शोमा मुख्य आकर्षकका रूपमा उड्ने कारदेखि रोबोटसम्म देख्न सकिनेछ ।  तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज ​​​​​​​ ​​​​​​​ ​​​​​​​

नाइमा मोबिलिटी एक्स्पोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।  एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज, भोलि’,  ‘वर्कफोर्स डेभलपमेन्ट,’  र ‘सेफ मोबिलिटी’  जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ ।  तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज    

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरूको भीड देख्न सकिन्छ । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमवार भगवान शिवजीको महिना र वार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।