मनोहराको सुकुम्बासी बस्तीमा १२ वटा डोजर, सुरक्षाका लागि २ हजार प्रहरी परिचालन (फोटो–फिचर)
काठमाडौं । सरकारले भक्तपुरस्थित मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन आइतबार बिहानैदेखि डोजर चलाउन सुरु गरेको छ । आइतबार (आज) बिहान साढे १० बजेबाट सुरु भएको यो कारबाहीका क्रममा १२ वटा डोजर प्रयोग गरी घर(टहराहरू भत्काउने कार्य भइरहेको छ । सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सो क्षेत्रमा करिब २ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले सुकुम्बासी बस्तीका बासिन्दाहरू हतार-हतार आफ्ना सरसामान घरबाट बाहिर निकालिरहेका छन् भने प्रहरीले सामान निकालिसकिएका संरचनाहरूमा मात्र डोजर लगाएर भत्काइरहेको छ । यसअघि शनिबार पनि प्रशासनले सो बस्ती भत्काउने प्रयास गरेको थियो, तर स्थानीयको कडा प्रतिरोध र ढुङ्गामुढाका कारण प्रहरी टोली पछि हट्न बाध्य भएको थियो । हिजोको झडपमा केही प्रहरी कर्मचारीहरू घाइते समेत भएका थिए । शनिबार स्थानीयले बस्तीमा प्रवेश गर्न नदिएपछि आज ठुलो संख्यामा सुरक्षाकर्मी र डोजरसहित पुगेको टोलीले कडा सुरक्षा घेराका बीच बस्ती हटाउन सुरु गरेको हो । हाल सो क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
धमाधम सर्दै गैरिधाराका सुकुम्वासी, डोजर चल्यो (फोटो फिचर)
काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए । उनले भने, ‘यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।’ अभियानका क्रममा सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ।
बैजनी रङमा रंगिएको काठमाडौं : सडकमा पोखिएको वसन्तको मधुर सपना (फोटो फिचर)
काठमाडौं । जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौंले एउटा भिन्नै अवतार धारण गर्छ । धुलो र धुँवाको बाक्लो पर्दालाई चिर्दै शहरको मुटुमा यतिबेला ‘ज्याकाराण्डा’ का नीलाभ–बैजनी फूलहरू यसरी मुस्कुराइरहेका छन्, मानौँ आकाशले धर्तीमा आफ्नो सुन्दरताको मसी पोखिदिएको छ । शहरका व्यस्त सडकहरूमा यतिबेला मात्र ट्राफिक जाम छैन, त्यहाँ त वसन्तको एउटा कव्यात्मक उत्सव चलिरहेको छ । सुन्धारादेखि दरबारमार्गसम्म, अनि रत्नपार्कदेखि जमलका गल्लीहरूसम्मका ज्याकाराण्डाका रुखहरू फूलको भारले निहुरिएका छन् । ती डालीहरूबाट खसेका फूलका गुच्छाहरूले सडकका किनारा र फुटपाथलाई बैजनी गलैँचामा परिणत गरिदिएका छन् । ती सुन्दर पत्रदलहरूमाथि टेक्दा बटुवाका पाइलाहरू पनि कता कता अडिन्छन्, मानौँ यो कुनै साधारण बाटो होइन, एउटा स्वप्निल संसारको प्रवेशद्वार हो । तस्बिरहरूमा कैद भएको काठमाडौं झनै जीवन्त देखिन्छ । एकातिर नवनिर्मित धरहराको सेतो गजुरले आकाश चुम्न खोज्दैछ, अर्कोतिर त्यसकै वरिपरि फैलिएका बैजनी फूलहरूले आधुनिकता र प्रकृतिको एउटा अपूर्व सङ्गम झल्काएका छन् । खैरो र रङहीन देखिने कङ्क्रिटका भवनहरूका बीचमा यी फूलहरूले काठमाडौंलाई एउटा नयाँ प्राण भरेका छन् । काठमाडौंवासीका लागि यी फूलहरू केवल वनस्पतिका हिस्सा मात्र होइनन्, यी त ‘नोस्टाल्जिया’ (पुरानो याद) का संवाहक पनि हुन् । कलेजका ती दिनहरू, साथीभाइसँग हातमा हात मिलाएर हिँडेका ती साँझहरू, अनि यही बैजनी छहारीमुनि साटिएका कयौँ अधुरा प्रेमका सुस्केराहरू आज फेरि तिनै फूलहरूसँगै ब्युँझिएका छन् । बुढापाकाहरू यी फूललाई हेरेर पुराना दिन सम्झिन्छन् भने युवा पुस्ताका लागि यो ‘सेल्फी’ र ‘रिल्स’ बनाउने एउटा रङ्गीन पृष्ठभूमि बनेको छ । रुखका ती मसिना हाँगाहरूमा गत वर्षका सुकेका कोसाहरू र यो वर्षका नयाँ कोपिलाहरू सँगै देखिन्छन् । यसले समयको निरन्तरता र पुनर्जन्मको सन्देश दिइरहेको छ । जाडोको ठिहीले सुकेका ती हाँगाहरूमा आज जुन उभार आएको छ, त्यसले हरेक नगरवासीको मनमा एउटा आशाको सञ्चार गरेको छ । साँच्चै, काठमाडौं यतिबेला एउटा क्यानभास बनेको छ र ज्याकाराण्डा त्यसको मुख्य रङ । यो बैजनी वर्षाले शहरको कोलाहललाई केही क्षणका लागि भएपनि बिर्साइदिएको छ । यदि तपाईं यो बैजनी सम्मोहनको स्वाद लिन चाहनुहुन्छ भने, एकपटक शान्त मनले यी सडकहरूमा निस्कनुहोस् । तपाईंले पाउनुहुनेछ— वसन्त केवल ऋतु मात्र होइन, यो त काठमाडौंको हृदयमा फुलेको एउटा मीठो मुस्कान रहेछ । तस्बिरहरु : अनुप प्रधान