आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यकाल, कर्मचारीमा खुशियाली

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा दोश्रो कार्यभार सम्हालेका हुन् । उनको पहिलो कार्यकाल पनि आजैदेखि सकिएको छ । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको थियो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि प्रस्ताव गरेसँगै बीमा समितिले स्वीकृति दिएको हो । बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने र सबैभन्दा बढी बीमितलाई दिने सेवा सुविधामा विशेष जोड दिने योजना रहेको विकासन्युजसँग बोल्दै उनले भने । सीईओ श्रेष्ठ २०७८ चैतमा मात्रै ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिएको थियो । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स पनि एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट सम्मानित भएको थियो । सीईओको पुनः नियुक्तिसँगै कर्मचारीमा छायो खुशियाली (तस्विर : सामाजिक सञ्जालबाट) सीईओ श्रेष्ठले थप ४ वर्ष कम्पनीको कार्यकाल सम्हाल्ने भएसँगै कम्पनीका कर्मचारीहरुमा खुशीयाली छाएको छ । सो अवसरमा कम्पनीमा कार्यरत सबैले केक काटेर एक आपसमा खुशीयाली साटासाट गरेका छन् ।

किसान लघुवित्तको सीईओमा पर्वत कार्की नियुक्त

काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई साउन २५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

धितोपत्र बोर्डका चार जना निर्देशक उप-कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना नियुक्त भएका छन् । गत विहीबार बसेको सेबोनको संचालक समितिले ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो । आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट निर्देशकबाट उपकार्यकारी निर्देशकमा बढुवा हुनेमा निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवा भएका हुन् ।