पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ ।
मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल, उच्च प्रतिफल दिनेमा जोड
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । यसअघि पनि बैंकको सीईओका रूपमा कार्यरत पोखरेलको पहिलो कार्यकाल सकिएसँगै पुनः सोही बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको पोखरेलले बताए । बैंकिङ्ग क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका थिए । उनी २०७६ जेठ १ गते बैंकको सीईओमा नियुक्त भएका थिए । सीईओमा पुनः दोहिरिएसँगै पोखरेलले मुक्तिनाथ विकासको विकासका लागि फरक योजना र रणनीतिका साथ अगाडि बढ्ने बताए । ‘विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक एक फरक छवि बनाएको बैंकको रुपमा परिचित छ, अब हामी राष्ट्र बैंकको नीति नियम पालना गर्नेमा उत्कृष्ट बैंकका रुपमा चिनिनेछौं, सेयरधनीहरुलाई जतिसक्दो बढी प्रतिफल दिनेमा पनि हाम्रो जोड हुनेछ,’ उनले विकासन्युजसँग भने । पोखरेलको पहिलो कार्यकालमा मुक्तिनाथ विकास बैंकका अधिकांश सूचकहरु उत्कृष्ट पनि देखिएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरेका थिए । उनले नबिल बैंकमा करिब १९ वर्ष विभिन्न विभागहरुको नेतृत्व समेत गरेका थिए । उनीसँग मेगा बैंकमा पनि काम गरेको अनुभव छ । उनी डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष पनि हुन् ।
सीएनआईको महानिर्देशकमा दीपकराज जोशी
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन्। उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् । अन्तर्राष्ट्रियरूपमा ‘च्यान्पिएन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसकेका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघको छ। वाणिज्यशास्त्रमा स्नातोक्ततर उनी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन् ।