फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

काठमाडौं ।  नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउसमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् । राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत साथा प्रमुख भूमिकामा रहेका थिए । व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा थापा संलग्न हुँदै आएका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट’ क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ । फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

राष्ट्र बैंकका सञ्चालक शिवाकोटी र डा. आचार्यले लिए सपथ

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायमकुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शथप ग्रहण गराए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । सिवाकोटी राष्ट्र बैंककाे पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन् । सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ । सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह– रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीहरूको उपस्थिति थियो ।

समितिको अनुमतिसँगै सीईओ प्रसाईंले सम्हाले कार्यभार, कम्पनीले नयाँ उचाई लिने विश्वास

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईंले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ११ गते इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन् । बीमा समितिले अनुमति दिएसँगै कम्पनीको संचालक समितिले जेठ ११ गतेदेखि नै लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको छ । र, सीईओ प्रसाईंले आफ्नो पदभार सम्हालेका छन् । सीईओ प्रसाईले कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सपथ ग्रहण गरेर जेठ ११ गते नै पदभारग्रहण गरेका हुन् । यससँगै प्रसाईंले आगामी ४ वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । सीईओमा उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । तत्काल चालु आवका टाग्रेटहरुलाई पुरा गर्नमा जोड दिने र आगामी वर्ष नयाँ प्लान बनाएर अगाडि बढ्ने नवनियुक्त सीईओ प्रसाईंको योजना छ । ‘चालु आवमा मात्र डेढ महिनाको समय छ, यो अवधिमा तोकिएको टाग्रेटलाई नै मीट गर्ने हो, मुख्य योजना भने अर्को वर्ष गरिन्छ,’ सीईओ प्रसाईंले विकासन्युजसँग भने । प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५/६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्षको लामो अनुभव सम्हालेका थिए । प्रभुको सीईओ पदमा नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका हुन् । र, फागुन १८ गतेदेखि नै कम्पनीको सीईओ पद रिक्त थियो । प्रसाईंको नियुक्तिसँगै प्रभु लाइफले करिब साढे २ महिनापछि सीईओ पाएको छ ।