दोस्रो पटक योजना आयोगको उपाध्यक्ष बने डा. श्रेष्ठ, को हुन् उनी ?
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भएर काम गरिसकेका उनलाई सोमबारकाे मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए । श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। माओवादीनिकट उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्। राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।
प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ
काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा २ जना गरी ५ जना निर्वाचित गरेको थियो । संस्थापकबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारणबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।साधारणसभापश्चात् बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
बैंकर्स संघको अध्यक्षमा सीईओ केसी र उपाध्यक्षमा कोइराला चयन
काठमाण्डौ । वाणिज्य बैंकहरुका सीईओको संगठन नेपाल बैंक संघ (एनबिए)को अध्यक्ष सुनिल केसी चयन भएका छन् । बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी सर्वसम्मत रुपमा चयन भएका हुन् । बैंकर्स संघको बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि सीईओ केसी संघको उपाध्यक्ष थिए । यसअघि संघको अध्यक्ष कृषि विकास बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्याय थिए । उनको सीईओको कार्यकाल पुस १० गते सकिएपछि अध्यक्ष पद पनि सकिएको थियो । सीईओको कार्यकाल सकिएपछि संघको अध्यक्ष पद पनि स्वतः रिक्त रहने व्यवस्था रहेको छ । यस्तै, बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वम्मत चयन भएका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपकुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेका छन् ।