युनाइटेड इन्स्योरेन्सबाट बाहिरिइन् सीईओ पौडेल, हिमालयन रिको डेपुटी सीईओ बन्दै
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उपासना पौडेल बाहिरिएकी छिन् । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पौडेल कम्पनीबाट बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले कार्त्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलको राजिनामा स्वीकृत गरेको हो । साथै, सोही मितिदेखि लागू हुने गरी कम्पनीको निमित्त कार्यकारी अधिकृतमा नबिन सुबेदीलाई नियुक्त गरिएको छ । सुबेदी कम्पनीको महाप्रबन्धक समेत हुन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक कार्यकालको लागि भन्दै २०७८ बैशाख १६ गते सीईओ पदमा नियुक्त गरेको थियो । तर उनले करिब डेढ वर्ष अघि नै राजिनामा दिएकी छिन् । हिमालयन रिइन्स्योरेन्समा राम्रो अफर पाएसँगै पौडेलले युनाईटेड इन्स्योरेन्सबाट राजिनामा दिएकी श्रोतले जनाएको छ । यससँगै उनी नेपालको दोश्रो पुनर्बीमा कम्पनी अर्थात हिमालयन रिमा डेपुटी सीईओको रुपमा जाँदै छिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
सानिमा जीआईसीको सीईओमा उपाध्याय नियुक्त, बीमा क्षेत्रमा दुई दशक बढीको अनुभव
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसपमा गाभिएपछि सानिमा जीआईसी इन्स्योरेन्सबाट कार्त्तिक ७ गतेदेखि एकीकृत कारोबार भएको हो । यससँगै कम्पनीको सीईओमा सानिमा जनरलका सीईओ उपाध्यायलाई नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले जानकारी गराए । विगत दुई दशकदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्यायले २०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सीईओको कार्यभार सम्हाल्दै आएका थिए । सानिमा जनरलमा आउनु अघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा सीईओ थिए । उनले उक्त कम्पनीमा ४/४ वर्षको दुई कार्यकाल बिताएका थिए । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित ६ जना नियुक्त भएका छन् । कम्पनीको अध्यक्षमा कुनाल कयाल नियुक्त भएका छन् भने सञ्चालकमा डा. हेमन्त कुमार दवाडी, सोनाम ग्याछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल र प्रकाशमान श्रेष्ठ रहेका छन् ।
ज्योति लाइफका सञ्चालक अग्रवाल बने राउण्ड टेबलको अध्यक्ष, नेपालकै पहिलो बन्न सफल
काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । गैरनाफामूलक संस्था राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । जुन शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो । यस संस्थाले टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्वबाट बिश्राम लिने गर्दछ । त्यसैले यो सधैं जवान रहने बताइन्छ ।