कामना सेवा विकास बैंकको डीसीईओमा विनय दाहाल, बैंकिङ्ग क्षेत्रमा ३ दशक अनुभव

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ दाहालसँग बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य गरेको अनुभव छ । विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएका दाहालले पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसी एशिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका छन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ

काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शपथ लिएका हुन् । इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गराएको थियो । जसमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि) रहेका छन् । त्यसपछि बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कूल ४ सञ्चालकमध्ये मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गराउने निर्णय गरेको हो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो । यो पनि पढ्नुहोस् लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित

आइएमई जनरलको बोर्डमा इन्फो डेभलपर्सका सीईओ रघुवंशी नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फो डेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ । माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ । आइएमई जनरल इन्स्यारेन्स कम्पनी सन् २००१ मा स्थापना भएको निर्जीवन बीमा कम्पनी हो । २ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यक्ति तथा समुहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्णप्रसाद शर्मा रहेका छन् ।