आरम्भ चौतारी लघुवित्तका डिसीईओ ज्ञवालीले पाए कामुको जिम्मेवारी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत (डिसीईओ) शिवप्रसाद ज्ञवालीले कायम मुकायम (कामु) को जिम्मेवारी पाएका छन् । भदौ २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै ज्ञवालीले भदौ २६ गतेदेखि सीईओ नियुक्त नभएसम्म उक्त पदको पनि कार्यभार सम्हाल्ने छन् । संस्थाको सीईओ लक्ष्मीप्रसाद शर्माले राजिनामा दिएसँगै कामुको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो । भदौ २५ गते नै बसेको सञ्चालक समितिको बैठकले सीईओ शर्माको राजिनामा स्वीकृत गरेको हो ।
राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । श्रोतका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् । यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।
सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यभार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । साथै, बैंकले सांग्रिला कस्टुमर केयर शुभारम्भ गरेको जानकारी गराएको छ । बैंकले हाल ११२ शाखा कार्यालयहरु र ३१ एटीएम मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।