‘मेरो नियुक्तिमा सरकारले ऐतिहासिक निर्णय गरेको छ, कुनै सेटिङ छैन’

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले सोमबार पहिलो पत्रकार सम्मेलन गरे । फागुन ५ गते सेबोनको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते बोर्डको अध्यक्षका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो पत्रकार सम्मेलन थियो । पत्रकार सम्मेलनमा उनले धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए । आफु अनुभवी र नेपाली सेयरबजारलाई राम्ररी बुझेको दावी गर्दै उनले आगामी दिनदेखि नेपाली सेयर बजारमा अनियमितता तथा सेयर बजारमा हुने चलखेलहरुको अन्त्य गर्ने दावी समेत गरे । १२ बजेदेखि सुरु भएको पत्रकार सम्मेलन साढे १ बजेसम्म रह्यो । साढे एक घण्टाको समय पत्रकारको प्रश्न र हमालको जवाफमा सीमित भयो । १० मिनेट जतिको समयमा हमालले आफ्ना योजना सुनाएका थिए । पत्रकार सम्मेलनमा हमालले पुँजी बजारको विस्तार, विकास र विविधिकरणमा महत्वपूर्ण ध्यान दिनका लागि अध्ययन गर्ने भन्ने धारणालाई दोहोर्याई रहे । उनले कार्यक्रममा खासै नयाँ कुरा बोलेनन् । उनले पत्रकार सम्मेलनमा बोलेका विषयहरु उनले यसअघि पनि बोलिसकेका छन् । कार्यक्रमको अन्तिममा एक सञ्चारकर्मीले हमाललाई एउटा प्रश्न गर्न खोजे । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अब खाजा खाँदै कुरा गरौंला प्रश्न गर्ने समय पनि सकियो, हलको पनि आफ्नै समय हुन्छ भनेर ‘कन्भिन्स’ गर्न खोजे । तर, ती सञ्चारकर्मीले आफुले प्रश्न गर्न पाउनु पर्ने अडान राखे । सो समयसम्म हलमा सीमित सञ्चारकर्मी मात्रै थिए । अधिकांश हलबाट बाहिरिसकेका थिए । ती सञ्चारकर्मीले सुरुदेखि प्रश्न गर्न खोजेको र प्रश्न गर्ने पालो नै नआएको भनेर गुनासो गरेपछि अध्यक्ष हमालले प्रश्न गर्न इशारा गरे । उनले प्रश्न गरे, ‘तपाईंमाथि करोडौंको कमिशन खुवाएर बोर्डको अध्यक्ष भएको र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनकै लागि अध्यक्ष बनाइएको आरोप पनि छ,  यसप्रति तपाईंको धारणा के छ ? ती सञ्चारकर्मीको प्रश्नपछि हमाल गम्भीर देखिए । उनले हलमा हल्ला गरिरहेका सहभागीहरुलाई शान्त हुन आग्रह गर्दै भने, ‘सबै साथीहरु सुन्नुहोस्, महत्वपूर्ण प्रश्न आएको छ, भन्नेले जेसुकै भनेपनि आफ्नो काम गर्ने हो, मलाई लाग्छ यस पटक सरकारले महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको छ, अन्तर्राष्ट्रिय एक्सपर्टीज, टोटल्ली अर्को क्षेत्रबाट आएको मान्छेलाई अवसर दिएको छ, यो व्यक्तिले मोर्टेकमा फेयरनेसको वातावरण सिर्जना गर्न सक्छ भन्ने विश्वास साथ मलाई नियुक्त गरेको छ, सरकारको विश्वासलाई पूरा गर्न काम गरेर देखाउने हो ।’ यस्तै, उनले सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने पनि बताए । उनले व्यक्तिको एक्सपर्टीज हेरेर नै यस्ता खालका शंकाहरु गर्नु पर्ने धारणा राखे । ‘यहाँले भने जस्तै यो मान्छे सेटिङमा आएको हो भन्ने हल्ला हुन पनि सक्छ, त्यसमा मेरो भन्नु केही छैन, सरकारले मेरो एक्सपर्टीजलाई बुझेर मलाई नियुक्त गरेको छ, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि ल्याइएको हो भन्ने कुरा पनि सुनियो, यस्ता यस्ता हल्ला र आशंकाहरुको पछाडि लाग्ने होइन काम गरेर देखाउने हो,’ अध्यक्ष हमालले भने । उनले प्रश्नको पुनः जवाफ दिँदै नयाँ स्टक एक्सचेञ्जको विषयमा पनि सेबोनले अध्ययन गरिरहेकोले अहिले नै लाइसेन्स दिइन्छ वा दिइँदैन भन्न हतार हुने बताए । कार्यक्रममा उनले आफुले सेयर बजारमा हुने चलखेलको अन्त्यका लागि सधैं लागि रहने बताए । उनले कार्यक्रममा ब्रोकरहरुले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष हमालले सम्हाले कार्यभार

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कार्यभार सम्हालेका छन् । नवनियुक्त अध्यक्ष हमालले फागुन ८ गते आफ्नो पदभार ग्रहण गरि कार्यभार सम्हालेका हुन् । हमालले नियुक्त भएको तीन दिनमै आफ्नो कार्यभार सम्हालेका हुन् । गत फागुन ५ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो । करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत हमालसँग छ । हमाल पूर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमालकाे घर कैलाली हो । हाल उनी ललितपुरमा बस्दै आएका छन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पनि पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम पनि गरेका थिए । सम्बन्धित सामाग्रीः सेबोनको अध्यक्ष बने रमेश हमाल, को हुन् उनी ?

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी ४ वर्षसम्म संस्थामा रहेर उक्त पदको कार्यभार सम्हाल्ने छन् ।