डेढ दशकभन्दा बढी बैंकिङ अनुभव भएको मनोज बने सेञ्चुरी बैंकको सीईओ
काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । यसअघि उनी गत साउन १ गतेदेखि कायममुकायम सीइओका रुपमा कार्यरत थिए । बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीईओको जिम्मेवारी पाएका थिए । न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडमा काम गरिसकेका उनीसँग करिब १७ वर्षको बैंकिङ कार्यानुभव छ । उनले सनराइज बैंकमा कर्पोरेट बैंकिङ हेड भएर पनि काम गरिसकेका छन् । न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वित्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनमा थप सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ । सम्बन्धित सामग्री: बैंकहरुको बागडोर नयाँ पुस्ताले सम्हाल्दै, डेपुटीबाट धमाधम सीईओ
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो । यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा व्यवस्थापन गरेका अवस्थीले इण्डियन इन्सिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर काम गरिसकेका छन् । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत हुन् । अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार पनि मानिन्छन् ।
नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए शपथ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् । समितिका अध्यक्ष सिलवालले इन्स्योरेन्सका अध्यक्ष संघईलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।