महालक्ष्मी लाईफका सीईओ भट्टराईले पाए निरन्तरता

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । मंसिर २३ गते बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै उनले पुस १७ गतेदेखि दोश्रो कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्नेछन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो । साथै, उनको नेतृत्वमा कम्पनीले नयाँ उचाइ प्राप्त गर्नेमा कम्पनी विश्वस्त छ । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको करिब ४ दशकको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २६ वर्षभन्दा बढी समय काम गरिसकेका छन् ।

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल नियुक्त, चौधरीले दिइन् राजिनामा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशवराज पौडेल नियुक्त भएका छन् । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको अध्यक्ष पदमा भगवती चौधरी थिइन् । उनले राजिनामा दिएसँगै रिक्त भएको उक्त पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो । पोडेलले एभरेष्ट बैंकबाट संस्थाको सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका छन् । यससँगै नवनियुक्त अध्यक्ष पौडेलले मंसिर १४ गतेदेखि नै उक्त पदको जिम्मेवारी सम्हालेका छन् ।

हिमालयन रिको डीसीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रमा एक दशकभन्दा बढी अनुभव

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई डीसीईओ पदमा नियुक्त गरेको हो । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । यससँगै उनले युनाईटेडमा डीसीईओ र सीईओ पदमा गरी करिब तीन वर्ष काम गरिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । यो पनि पढ्नुहोस् : युनाइटेडमा उपासनाको डेढ वर्ष : पुरा नभएको त्यो इच्छा र सेयरधनीले पाएको खुसी