सिद्धार्थ प्रिमियरको अध्यक्ष बने सुरेशलाल श्रेष्ठ, कम्पनी सचिवमा आचार्य नियुक्त
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको अध्यक्षपदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठ प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)का अध्यक्ष हुन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेसँगै उक्त कम्पनीको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरिएको कम्पनी श्रोतले बताएको छ । त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।
गुहेश्वरी मर्चेन्टका अध्यक्षले लिए सपथ
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष युवराज भण्डारीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणकर भट्टले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीलाई सपथ गराएका हुन् । गत माघ २७ गते सम्पन्न फाइनान्सको २१ औं वार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचनबाट संस्थापक सेयरधनीमा डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी, दिपेश गोर्खाली तथा सर्वसासधारण सेयरधनीबाट सुजन प्रधान, सजीना अमात्य श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । शुक्रबार बसेको कम्पनीको २४८ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नबनियुक्त अध्यक्ष भण्डारीले राष्ट्र बैंकबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।
सिभिल छोडेका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै, ३ वर्षका लागि नियुक्त हुँदै
काठमाडौं । सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो । उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् । सिभिलबाट बाहिरिएसँगै उनी विदेशी बैंकको सीईओ बन्ने निर्णयमा पुगेका हुन् । उनको नियुक्तीको विषय भने भोलि अर्थात् शुक्रबार फाइनल हुनेछ । पोखरेलले सिभिल बैंक छोडेसँगै विदेशी बैंक टिसाको सीईओ बन्ने कुरा भएको विकासन्युजसँग बताए । ‘सिभिल बैंकमा सबै विषय मिलाइयो, साथीहरुको भावना पनि समेटियो, अब विदेशमा पनि काम गर्नु पर्छ भन्ने मानसिकता बनाएपछि टिसा बैंकसँग कुरा भएको हो, भोलि मात्रै यकिन हुन्छ,’ उनले विकासन्युजसँग भने । उनीसँग यसअघि पनि विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरिसकेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । उनले एनआइसी एसिया बैंकमा पनि करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि एक वर्ष काम गरेको उनीसँग अनुभव छ । २०७८ जेठमा उनी सिभिल बैंकको सीईओ बनेका थिए । अहिले सिभिल बैंक हिमालयन बैंकसँग गाभिएपछि उनले सो बैंकबाट बाहिरिने निर्णय गरे लगत्तै विदेशी बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । सिभिल बैंकबाट पोखरेलसहित ८ जना व्यवस्थापन टीमका कर्मचारीले स्वेच्छिक अवकास सुविधा (भिएसआर) लिएर बाहिरिएका छन् । उनीहरु दुई वर्षको सेवा सुविधा लिएर बाहिरिएका हुन् । सिभिल बैंकका तत्कालीन सीईओ गोविन्द्र गुरुङले सिभिल छोडेर विदेशी बैंकको सीईओ बन्न गएपछि सिभिल बैंकको सिईओ पोखरेल बनेका थिए । सिभिल बैंकको सीईओ बनेपछि विदेशी बैंकमा जाने अभ्यास पनि देखिएको छ । विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा पोखरेल चिनिन्छन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले सिभिल बैंकलाई बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रुपमा स्थापित गरेका छन् । कस्तो बैंक हो टिसा ? दी टीचर्स सेभिङ्स एण्ड लोन सोसाइटी लिमिटेड (टिसा) पपुवा न्यूगिनीको एउटा वाणिज्य बैंक स्तरको वित्तीय संस्था हो । यो बचत तथा ऋण समाज र प्यासिफिकको सबैभन्दा ठूलो क्रेडिट युनियन हो । टिसा बचत तथा ऋण समाज ऐन २०१५ अन्तर्गत दर्ता गरिएको बचत र ऋण समाज हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिभिजन नेपाल राष्ट्र बैंकले गरे जस्तै यसको नियमन बैंक अफ पपुवा न्यूगिनीले गर्छ । यो कम्पनीलाई लगानी प्रवर्द्धन प्राधिकरणले पनि नियमन गर्छ । यो कम्पनी शिक्षा विभागका दर्ता भएका शिक्षक र कर्मचारीहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउनका लागि सन् १९७२ मा स्थापना भएको थियो । अहिले नेपालमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले गर्ने काम जस्तै यो कम्पनीसाग पनि सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको आवद्धता छ । यसले मुख्य गरेर बचत र ऋण काम गर्छ । त्यसैले पनि यो एउटा बैंकको रुपमा परिचित छ । यसले सदस्यहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउन र ऋण प्रदान गर्ने गर्छ । बैंकिङ र फाइनान्स, एयरलाइन्स, बीमा लगायत क्षेत्रमा पनि यस संस्थाको लगानी छ ।