हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा पन्त नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । जेठ १० गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदमा लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे थिइन् । निजले व्यक्तिगत कारणले सञ्चालक पदमा रहि निरन्तरता दिन नसक्ने भएसँगै इन्स्योरेन्सले उक्त पदमा डा. राजेश पन्तकी छोरी शर्मा (ललितपुरको भक्तपुर निवासी) लाई नियुक्त गरेको हो । साथै, इन्स्योरेन्सले हाल लक्ष्मी बैंकको तर्फबाट कसैलाई पनि प्रतिनिधिको रुपमा सञ्चालक मनोनय नगर्ने जानकारी गराएको छ ।
आइजीआई प्रुडेन्सियलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् । नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज पछि बनेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने सिफारिस गरेको थियो । जुन सिफारिसलाई नेपाल बीमा प्राधिकरण लेजेठ ५ गते स्वीकृति दियो । त्यसपछि जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा उनले नयाँ नयाँ कम्पनीको सीईओको रुपमा शपथ लिए । नवनियुक्त सीईओ श्रेष्ठ करिब तीन दशकदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा साविकको आईएमई जनरल इन्स्योरेन्सले प्रिमियम लगायत विभिन्न शीर्षकमा फड्को मारेको थियो । श्रेष्ठ साविकको आईएमई जनरल इन्स्योरेन्सका सीईओ समेत हुन् । तत्कालिन एनबी इन्स्योरेन्स समस्याग्रस्त हुँदा आइएमई समूहले उक्त इन्स्योरेन्सको सेयर किनेको थियो । त्यतिबेला श्रेष्ठ कम्पनीको कायम मुकायम सीईओको रुपमा इन्स्योरेन्समा आवद्ध भएका थिए ।
माइखोला हाइड्रोको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त
काठमाडौं । माइ खोला हाइड्रोपावर कम्पनीको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले गुरागाईंलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । श्रीजेश गुरागाईं यसअघि कम्पनीको सञ्चालक थिए । यसअघि कम्पनीको अध्यक्ष रहेका शैलेन्द्र गुरागाईंले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले जानकारी दिए । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कूल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।