कृषि विकास बैंकका सीईओको कार्यकाल सकियो, नदोहोर्याउने मुडमा सञ्चालक समिति

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको कार्यकाल सकिएको छ । ४ वर्षअघि अर्थात् २०७५ पुस १० गते बैंकको सीईओ पदमा नियुक्त भएका उनको पहिलो कार्यकाल आज सकिएको हो । यससँगै अब बैंकको सञ्चालक समितिले कार्याकाल थप्यो भने सीईओ उपाध्याय दोहोरिन चाहेका छन् । तर, पछिल्लो समय बैंकको स्थिति कमजोर बन्दै गएकाले सञ्चालकहरुले दोहोर्याउन नचाहेको उच्च श्रोतले बताएको छ । यद्दपि हालसम्म भने उनको कार्यकाल दोहोरिन्छ की दोहोरिँदैन भन्नेमा भने स्पष्ट निर्णय हुन सकेको छैन । बैंकका अध्यक्ष रमेश दुवाडी भने आजभोलि नै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने बताउँछन् । ‘बैंकको सीईओमा दोहोर्याउने वा नदोहोर्याउने भनेर निर्णय आज हुन्छ, अहिलेसम्म निर्णय भएको छैन, हामीले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘सञ्चालहरुले बैंकको अवस्था खस्किएको हुनाले हुँदैन भन्नु भएको छ, समय थोरै भएकाले आजभोलि मै निर्णय हुन्छ ।’ यता सीईओ उपाध्यायले भने आफ्नो कार्यकालमा कृषि विकास बैंकलाई एक अब्बल सरकारी बैंकका रुपमा माथि पुर्याएको दावी गरेका छन् । विकास बैंकजस्तो बैंकलाई वाणिज्य बैंकको रुपमा चिनाउन आफ्नो ठूलो योगदान रहेको उनी बताउँछन् । उनको आगामी योजना पनि बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने छ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने बताउँदै उनले भने ‘बैंकको सञ्चालक समितिले दोहोर्याएन भने ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छुँ, यो अनुभवलाई कतै न कतै साट्न योजना बनाउँछु,’ उनले भने ।

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त, कम्पनी नयाँ उचाई पुग्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रेग्मी नियुक्त भएका छन् । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् । काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आइएमई पेका अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । स्वागत कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।