प्रभु बैंकका थकाली कामना सेवा विकास बैंकको सीईओ बने, को हुन् उनी ?

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । कामना सेवा विकास बैंकको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिहित माग गरेको थियो । त्यसमा थकाली छनोट भएका हुन् । थकालीले पनि आफू छनोट भएको बताएका छन् । उनले प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको बताए । ‘प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको छ, अब बैंकभित्रका केही प्राविधिक विषयहरु व्यवस्थापन गरेर निस्कन्छु, त्यसपछि कामना सेवामा पदभार ग्रहण हुन्छ,’ थकालीले विकासन्युजसँग भने । माघ १५ गतेदेखि कार्यवाहक सीईओका रुपमा चलिरहेको कामना सेवा विकास बैंक अब थकालीले हाँक्नेछन् । अहिले सो बैंकमा विनय दाहालले कार्यवाहक सीईओका रुपमा काम गरिरहेका छन् । थकालीले आफू रणनीतिक र योजनाबद्ध किसिमभन्दा पनि गएर मिहेनतका साथ काम गर्ने प्रकृतिको मान्छे भएको धारणा राखे । चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समालेका थिए ।  त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् ।

लक्ष्मी लघुवित्तको सीईओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रेष्ठ नियुक्त भएका छन् । लघुवित्तको सीईओ प्रकाशराज शर्माको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सुन्दर प्रसाद श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सीईओ शर्माको कार्यकाल बैशाख १७ गते सकिने भएपछि श्रेष्ठले बैशाख १८ गतेदेखि लघुवित्तको सीईओको कार्यभार सम्हाल्ने छन् । श्रेष्ठलाई आगामी ४ वर्षको लागि लघुवित्तको सीईओमा नियुक्त गरेको बताइएको छ । लक्ष्मी लघुवित्तमा विगत १० वर्षदेखि कार्यरत श्रेष्ठ हाल नायव महाप्रबन्धक छन् । लघुवित्त क्षेत्रमा २० वर्षको अनभुव सँगालेका श्रेष्ठले निर्धन उत्थान लघुवित्तबाट आफ्नो करियर सुरु गरेका हुन् । उनीसँग विकास बैंकमा काम गरेको पनि अनभुव छ । लघुवित्त क्षेत्रमा साढे ३ दशकभन्दा बढी काम गरेका शर्मा आगामी दिनमा पनि यहि क्षेत्रमा नै सक्रिय रहने बताउँछन् । साढे ४ दशक बैंकिङ्ग क्षेत्रमा काम गरेका शर्मा लघुवित्त संस्थाहरुको संस्थापक मध्येमा पर्छन् । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत रहेका शर्मा आगामी दिनमा पनि लघुवित्त क्षेत्रको विकास, विस्तारको लागि सक्रिय रहने बताउँछन् । तर, कार्यकारी भूमिकामा भने नरहने उनले बताए । ‘अब कार्यकारी तहमा बसेर सक्रिय नभएपनि वित्तीय क्षेत्रमा कलम चलाउने, लबिङ गर्ने, मेरो अनुभव, ज्ञानलाई आदान प्रदान गर्ने काम गर्छु,’ उनले भने ।

मन्जुश्री फाइनान्सको डिसीइओमा तेज राज तिमिल्सिना नियुक्त

काठमाडौं । मन्जुश्री फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ)मा तेज राज तिमिल्सिना नियुक्त भएका छन् । फाइनान्सको बुधबार बिहान बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई डिसीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तिमिल्सिना यसअघि रिलायन्स फाइनान्समा सहायक महाप्रबन्धक रहेका थिए । त्यसअघि उनले एनआइसी एशिया, सिद्धार्थ बैंकमा लामो समय काम गरेका थिए ।