नेको इन्स्योरेन्सका सीईओ खड्काले पाए निरन्तरता
काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काले निरन्तरता पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खड्काको कार्यकाल थप्ने निर्णय गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । उक्त प्रस्तावलाई प्राधिकरणले असार १९ गते स्वीकृत गरेको छ । यससँगै सीईओ खड्काले नेको इन्स्योरेन्समा दोश्रो कार्यकाल सम्हाल्ने भएका छन् । २०७६ साउनमा सीईओमा नियुक्त भएका सीईओ खड्काको पहिलो कार्यकाल आगामी साउनको तेश्रो सातादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो । इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्नु अघि खड्का नेको इन्स्योरेन्सको डेपुटी सीईओ थिए । वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा असिस्टेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे । अधिकृतमा काम गर्दै गर्दा सो बैंक छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्ट्याण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यसयता उनी डेपुटी सीईओ थिए ।
नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ
काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट प्रा. लि. को तर्फबाट सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक श्रेष्ठले असार १५ गते नै पद बहाली गरेकी हुन् ।
नेपाल उद्योग परिसंघको उपाध्यक्षमा मोर सर्वसम्मत, सीएनआईलाई नयाँ उचाईमा पुर्याउने
काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी परिसंघको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नवनिर्वाचित उपाध्यक्ष मोरले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् । साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा कदर सम्मान गरेको थियो । सो सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरेका थिए । विभिन्न उद्योग व्यापार व्यवसाय, बैंक तथा बीमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशील समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्सको पनि सञ्चालक हुन् ।