नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पायो पूर्णता, को को थपिए ?

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई नियुक्त गरेको छ । जसमध्ये सञ्चालक जोगाई र पौडेल गत चैत १ गते नै नियुक्त भएका हुन् भने रायमाझी भने चैत ९ गते इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक जोगाई (संस्थापकतर्फबाट) अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल (सर्वसाधारणतर्फबाट) श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । सो दिन अपरान्ह बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, नवनियुक्त तीन जना सञ्चालकले चैत ९ गते बिहीबार नै आफ्नो पद तथा गोपनियताको शपथ समेत लिइसकेको कम्पनी श्रोतले बतायो । यसअघि कम्पनी सञ्चालक समितिमा अध्यक्षमा लक्ष्मण पौडेल, सञ्चालकमा चन्द्र सिंह साउद र सविता श्रेष्ठ जोशी) थिए । र, रिक्त रहेको बाँकी पद पुरा गर्न कम्पनीले थप तीन जनालाई नियुक्त गरेको हो । यससँगै, कम्पनीको सञ्चालक समितिमा ६ जनाको टीम बनेको छ ।

को बन्दैछ आइजिपी ?

काठमाडौं । नेपाल सरकारको निर्णयानुसार प्र्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै छन् । काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् । ‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।’ पछिल्लो समयमा गृहमन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ । यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदैछन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन् । हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनःरिक्त हुन्छ । हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ । यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो । पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन् । गृहमन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति भएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ । एआइजीमा पदोन्नति भएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन् । बज्राचार्यसँगै डिआइजीमा बढुवा भएकी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनी महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन् । रासस

सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

काठमाडौं । दुई जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि बसेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको अध्यक्षमा केडियालाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष केडिया साविकको रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् । अध्यक्ष केडियाले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् । त्यस्तै, सञ्चालकमा घनश्याम थापा, भरत कुमार तोडी, सुवर्ण दास श्रेष्ठ, केशव राज केसी, परिक्षित खेम्का र सरिता भट्ट अधिकारी नियुक्त भएका छन् ।