प्रभु लाइफको अध्यक्षमा शिक्षा भट्टचन
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट भट्टचन अध्यक्षमा चयन भएकी हुन् । साथै कम्पनीको संचालकमा सुशान शेरचन, मिजास भट्टचन र श्याम कृृष्ण श्रेष्ठ चयन भएका छन् ।
युनाइटेड अजोडको सीईओमा रावल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएसँगै उनी औपचारिक रुपमा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् । साविकको युनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स मर्जपछि बनेको कम्पनीको सीईओ बन्न प्राधिकरणले उनलाई जेठ २३ गते मात्रै स्वीकृति दिएको हो । मर्जपछि बनेको कम्पनी सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन हालै स्वीकृत भएको छ । यससँगै जेठ २३ गतेदेखि नै रावलले कम्पनीको सीईओको जिम्मेवार सम्हालेका छन् । यसअघि आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ थिए । नवनियुक्त सीईओ रावलले अबका दिनमा जिम्मेवारी ठूलो रहेको बताउँदै सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता गरे । ‘भर्खर मर्जर भएको छ, पोष्ट मर्जरका धेरै काम बाँकी छन्, त्यसपछि बिजनेस वृद्धिमा फोकससँगै सेयरधनीलाई दिने प्रतिफललाई बढी प्राथमिकता दिनेछु,’ विकासन्युजसँग बोल्दै सीईओ रावलले भने । सीईओ रावलसँग बीमा क्षेत्रको लामो अनुभव छ । प्रुडेन्सियलमा आवद्ध हुनु अघि उनी सगरमाथा, नेको लगायतका बीमा कम्पनीमा कार्यरत थिए ।
इप्पानको कोषाध्यक्षमा पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार्की र बरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग छलफलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । कोषाध्यक्षका प्रत्यासी पन्त युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका अध्यक्ष हुन् । उनी टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीका कार्यकारी प्रबन्धक समेत हुन् । त्यस्तै २२।५ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत कम्पनीमा समेत उनको उल्लेख्य लगानी छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमित सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् । उर्जा युवा उद्येमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । १५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको कोषाध्यक्षमा दाबेदार रहेको उनले बताए । आफू कोषाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा पन्त ढुक्क छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरुले भोग्दै आएको समस्याको समधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ । यसअघि २०७७ साउन ३२ गते ३ वर्षका लागि चुनिएको वर्तमान कार्यसमितिको पदावधि सकिनु अगाडि नै निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने हुन्छ । इपानले विधान संशोधन गरी अबको कार्यकालदेखि एक जना वरिष्ठ उपाध्यक्षको पद थप गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने मापदण्डभित्र रहेर अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीको चयन हुने इपानले जानकारी दिएको छ ।