माइखोला हाइड्रोको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त
काठमाडौं । माइ खोला हाइड्रोपावर कम्पनीको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले गुरागाईंलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । श्रीजेश गुरागाईं यसअघि कम्पनीको सञ्चालक थिए । यसअघि कम्पनीको अध्यक्ष रहेका शैलेन्द्र गुरागाईंले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले जानकारी दिए । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कूल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
एनसेलको सीइओमा जाब्बोर कायुमोभ, दूरसञ्चार क्षेत्रमा २० वर्षको अनुभव
काठमाडौं । एनसेल आजियाटाको नयाँ प्रमुख कार्यकारी अधिकृत(सीइओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन् । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्नेछन् । जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ । दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्रय्याक रेकर्ड राख्न सफल जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिन्छन् । एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए । ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु, प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु, टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा ग्रुपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरले भने, ‘१ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’ दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्रय्याक रेकर्ड कायम गरेका छन् । पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन् । उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो छ । डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ ।
लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष मिन बहादुर बोहराले गर्ने भएका छन् । यसअघि संघको अध्यक्ष रहेका प्रकाशराज शर्माले लक्ष्मी लघुवित्तको सीईओबाट अवकाश पाएपछि उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने भएका हुन् । संघको विधान अनुसार अध्यक्ष पद रिक्त रहेको अवस्थामा उपाध्यक्षले निजको कार्य गर्ने व्यवस्था छ । सोही बमोजिम लघुवित्त बैंकर्स संघको अबको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने छन् । सीईओको कार्यकाल सकिएपछि शर्माको अध्यक्ष पद पनि स्वतः समाप्त भएको थियो । संघको विधान अनुसार अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले स्वतः नेतृत्व गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने छन् । सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका बोहरासँग विभिन्न लघुवित्त तथा विकास बैंकको सीईओ बनेर भूमिका निर्वाह गरेको अनुभव छ । साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख पदमा रहेर उनले काम गरेका थिए । बोहराले साविक नेपाल एग्रो लघुवित्त, कालिका लघुवित्त र धौलागिरी लघुवित्तको सीईओको भूमिका निर्वाह गरिसकेका छन् । एक वर्षमा तीन वटा लघुवित्तको सीईओ बन्ने अवसर बोहराले प्राप्त गरेका थिए । एक दर्जन संस्थाको मर्जरमा उनले भूमिका समेत निर्वाह गरेका छन् ।