शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

काठमाडौं । शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा चयन गरेको हो । यसअघि अध्यक्ष एवम् सञ्चालक रहेका राजेन्द्र प्रसाद श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि अग्रवाललाई चयन गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए । श्रेष्ठको राजीनामा गत शुक्रवार बसेको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । अग्रवाललाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएको हो ।

विद्युत उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त

काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले सीईओमा शाहीलाई नियुक्त गरेको हो । दैलेखका शाही सीईओमा विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त भएका हुन् ।

प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नियुक्त गरेको हो । भट्टचन संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए ।