माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाईं नियुक्त
काठमाडौं । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ७ जनाको सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा भने शोभा घिमिरे निर्वाचित भएकी छिन् । असोज १८ गते सम्पन्न कम्पनीको तश्रो वार्षिक साधारण सभाले उक्त सञ्चालकहरुलाई निर्वाचित गरेको हो ।
एसबिआई बैंकको डीसीईओ र सीएफओको जिम्मेवारी पंडालाई, आलमले दिए राजीनामा
काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको तर्फबाट आएका पंडालाई डीसीओमा नियुक्त गरेको हो । साथै, पंडाले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ) पद पनि सम्हाल्ने छन् । बैंकले बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता अनुसार पंडालाई उक्त जिम्मेवारी दिएको हो । यसअघि बैंकको डीसीओको जिम्मेवारी मोहमद रिजवान आलमले सम्हाल्दै आएका थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत समेत थिए । तर उनको कार्यकाल असोज २३ गतेदेखि सकिने र एसबीआई भारत फिर्ता जाने भएकाले बैंकले पंडालाई उक्त स्थानमा नियुक्त गरेको हो ।
गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओमा नियुक्त गरेको हो । यसअघिका सीईओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेर अधिकारीलाई सीइओको जिम्मा दिएको हो । अधिकारीलाई ४ वर्षका लागि करार सेवामा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।