नेपाल उद्योग परिसंघको उपाध्यक्षमा मोर सर्वसम्मत, सीएनआईलाई नयाँ उचाईमा पुर्याउने
काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी परिसंघको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नवनिर्वाचित उपाध्यक्ष मोरले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् । साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा कदर सम्मान गरेको थियो । सो सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरेका थिए । विभिन्न उद्योग व्यापार व्यवसाय, बैंक तथा बीमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशील समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्सको पनि सञ्चालक हुन् ।
बतास एमएडब्लुको सीइओमा दीपक अग्रवाल नियुक्त
काठमाडौं । बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो । अग्रवालले अटोमोबाइल तथा कर्पोरेट क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाइ सकेका छन् । यस अघि अग्रवाल टीभीएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सीइओ थिए । अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन् । अग्रवालले बतास एमएडब्लुलाई नम्बरवान स्थानमा पुर्याउन आफ्नो महत्त्वपूर्ण भूमिका रहने बताए । भोल्भो आइसरका ट्रक तथा बसहरू, गाेद्रेजका उत्पादन लगायत धेरै वस्तुहरु तथा सेवाहरु बतासले नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ ।
नेपाल बैंकको सञ्चालकमा काफ्ले नियुक्त, लिए शपथ
काठमाडौं । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त स्थानमा धनीराम शर्मा थिए । साथै, नवनियुक्त सञ्चालक काफ्लेले आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले गत असार ६ गते नै बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवालीबाट शपथ लिएका हुन् ।