विन नेपाल लघुवित्तको सीईओमा दिपेन्द्र खतिवडा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।  भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको रहने कम्पनीले जनाएको छ । खतिवडाले असोज २ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।उनी यसअघि सोही संस्थामा कामु सीईओ थिए ।  

निडर स्वभाव र सरल जीवनशैलीको पर्याय प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भएकी छन् । जेनजी समूहको आन्दोलनका मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवापुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाबमोजिम राजनीतिक दल तथा सरोकारवालासँगको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बीए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् । विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उनले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गरेकी थिइन् । उनले विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । विसं २०४५ देखि २०४७ सालसम्म उनले कोसी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । विसं २०६१ पुस ५ गते उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । विसं २०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्यान्डलगायत देशको भ्रमण गरिसकेकी उनी नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपुण छिन् । निडर स्वाभाव र सरल जीवनशैलीको उनको पहिचान हो । उनले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हालेकी थिइन् । रासस

शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा आश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको वैठकले सञ्चालकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।