राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए राजेन्द्र भट्टराई
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजेन्द्र भट्टराई बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका भट्टराई वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । विमलराज खनाल अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवातर्फको एउटा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त रहेको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार भट्टराईलाई ईडीमा बढुवा गर्ने निर्णय भएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए । भट्टराईलाई वित्तीय संस्था व्यवस्थापन विभागको जिम्मेवारी प्रदान गरिएको छ । अर्घाखाँचीका राजेन्द्र भट्टराई वि.सं २०५३ चैत २७ गते सहायक पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । कार्यकारी निर्देशकमा बढुवा भएसँगै उनी राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि दाबेदार बनेका छन् ।
नेरूडे मिर्मिरे लघुवित्तको सीईओ बने केशव पौडेल, ३ दशक बढीको अनुभव
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्त संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पौडेलसँग लघुवित्त क्षेत्रमा ३ दशक काम गरेको अनुभव छ । निर्धन उत्थान लघुवित्तमा व्यवस्थापकीय तहमा २२ वर्ष काम गरेका पौडेलले इन्फिनिटि लघुवित्त, कालिका लघुवित्त र सबैको लघुवित्तमा सीईओको भूमिका निर्वाह गरिसकेका छन् । भोजराज बस्यालको कार्यकाल सकिएपछि लघुवित्तमा सीईओ पद रिक्त थियो । बस्यालको विसं २०८२ साउन मसान्तमा पदावधी सकिएको थियो । उनको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहूलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । तर, उनले गत मंसिर २४ गते स्वेच्छिक अवकाशमा बिदा भएपछि सहायक प्रमुख कार्यकारी अधिकृत ऋषि प्रसाद न्यौपानेलाई कामु सीईओ जिम्मेवारी तोकिएको थियो ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः डा. शर्मा चयन
काठमाडौं । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, डिल्लीबजार काठमाडौंको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेसँगै सञ्चालक समितिको बैठकले पुनः डा. रुद्र शर्मालाई अध्यक्षमा चयन गरेको छ । २५ सदस्यीय नयाँ सञ्चालक समितिमा केही सदस्य पदेन सदस्यका रूपमा रहेका छन् भने नयाँ सदस्यहरूमा पूर्व सांसद विशाल भट्टराई, पूर्व मन्त्री विक्रमबहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभियत उप्रेती, कविता लामा लगायत चयन भएका छन् । वि.सं. २०३७ सालदेखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित यस क्याम्पसले ४५ वर्ष पूरा गरिसकेको छ । क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र लगायतका विषयहरू र स्नातकोत्तर तहमा अंग्रेजी तथा समाजशास्त्र विषय सेमेस्टर प्रणालीमा अध्यापन हुँदै आएको छ । त्यस्तै, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तहमा चार वर्षे बीएडमा नेपाली, अंग्रेजी तथा स्वास्थ्य र शारीरिक शिक्षा विषयहरू तथा स्नातकोत्तर तहमा एमएड (नेपाली) सञ्चालनमा छन् । व्यवस्थापन संकायअन्तर्गत चार वर्षे बीबीएस र बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालनमा रहेका छन् । यसअघि साधारण सभाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको चर्चा गर्दै क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व मन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी संख्या बढाउन क्याम्पसलाई थप सुदृढ र सक्षम बनाउँदै आवश्यक सुधारसहित अगाडि बढ्नुपर्ने बताए । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७ सय छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिइन् । उनले क्याम्पसलाई क्यूएए स्तरोन्नतिका लागि विश्वविद्यालय अनुदान आयोगमा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै शैक्षिक गुणस्तर कायम गर्न क्याम्पस प्रशासन निरन्तर प्रतिबद्ध रहेको बताइन् । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले समयानुकूलका विषयहरू थप गर्दै क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए । क्याम्पसका शैक्षिक निर्देशक प्रा. डा. जयन्तनाथ खनालले आगामी शैक्षिक कार्यक्रम विस्तारअन्तर्गत व्यवस्थापन संकायमा नयाँ कार्यक्रम सञ्चालनका लागि आवेदन दिइसकिएको र कानुन संकाय सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । कार्यक्रममा क्याम्पसका आर्थिक तथा प्रशासनिक निर्देशक प्राध्यापक बाबुराम पौडेल, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति निलकण्ठ भुसाल, प्राध्यापक संघका सहसचिव टीपी भुसाल लगायतले सामुदायिक क्याम्पसका रूपमा रहेको कन्या क्याम्पसलाई नारी शिक्षाको उत्कृष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिएका थिए ।