अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो : तथ्यांक ब्यूरो
काठमाडौं । अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुगेको राष्ट्रिय तथ्यांक ब्यूरोले मंगलबार जनाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले वृद्धि प्रवृत्तिको आधारमा, अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको अनुमान गरेको बताएको छ । सय अघि सन् २०२४ मा जनसङ्ख्या दुई करोड ७० लाख नाघेको उल्लेख गर्दै दुई वर्ष पछि मंगलबार दुई करोड ८० लाख पुगेको अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइमले जनाएको छ । एबीएसका अनुसार ५९ सेकेन्डमा औसतमा हरेक एक जना विदेशी नागरिक अष्ट्रेलिया आइपुग्छन् भने हरेक दुई मिनेट १६ सेकेन्डमा अष्ट्रेलियामा एक जना बच्चा जन्मिन्छ । प्रत्येक तीन मिनेट ३३ सेकेन्डमा एक जनाको मृत्यु हुने र प्रत्येक दुई मिनेट ३५ सेकेन्डमा एक जना बासिन्दा अष्ट्रेलिया छोडेर विदेशमा बस्न जाने अनुमान गरिएको छ । एबीएसले सन् २०३१ मा अष्ट्रेलियाको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरेको जनाएको छ । एबिएसले सन् २०२१ पछि पहिलो राष्ट्रिय जनगणना आगामी अगस्टमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
कांग्रेसको अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरद्वारा जारी सूचनाअनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा आयोजना गरिनेछ । बैठकमा सहभागी हुन केन्द्रीय अनुशासन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । समितिको बैठकमा समसामयिक संगठनात्मक तथा अनुशासनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
सभापति लामिछानेले आज भारतका गृहमन्त्रीलाई भेट्दै
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज उनीहरुबीच भेटवार्ता हुनेछ । भेटका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यासको आदानप्रदान, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ। रास्वपाका सभापति लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटमा सक्रिय रहेको छ। भारतका गृहमन्त्री शाहसँगको भेटलाई नेपाल-भारत सम्बन्ध र राजनीतिक तहको संवाद विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । आजै लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेट गरेका थिए ।