वैद्य र चन्दलाई पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएका छन् । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भने “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।” स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मानक तयार पारेको स्पष्ट परेका छन् । देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उनले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा राखेका छन् । कार्यक्रममा नेकपा (एमाले), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका तीन दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

अवैध रुपमा सञ्चालित निजी विद्यालयमाथि कारबाही

लहान । वर्षाैदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको १२२ निजी विद्यालयमाथि जिल्ला शिक्षा कार्यालय, सिरहाले कारबाही सुरु गरेको छ । जिल्लामा सञ्चालित १७८ निजी विद्यालयमा अनुगमन गर्दा १२२ निजी विद्यालय बिनास्वीकृति सञ्चालनमा रहेको पाइएपछि त्यस्ता विद्यालय बन्द गर्न निर्देशन दिए पनि अटेर गरेकाले स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित अनुरोध गरिएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिए। व्यापक रुपमा निजी विद्यालय अवैध तरिकाले सञ्चालन भइरहेको गुनासोपश्चात् जिल्ला शिक्षा अधिकारी कर्णको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ३९ निजी विद्यालयले बिनाअनुमति, ५१ निजी विद्यालयले ५ कक्षाका मात्र अनुमति लिई त्योभन्दा माथिल्लो कक्षा सञ्चालन गरेको र ३३ निजी विद्यालयले तल्लो तहको अनुमति लिई माध्यमिक तहसम्मको कक्षा सञ्चालन गरेको पाइएकाले त्यस्ता विद्यालयमाथि कारबाही सुरु गरिएको जिल्ला शिक्षा अधिकारी, कर्णले बताए । अवैध रुपमा निजी विद्यालय सञ्चालन गरी एकातिर सरकारको राजस्व र अर्कोतिर विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेकाले सञ्चालकमाथि स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित रुपमा अनुरोध गरिएको शिक्षा कार्यालयले जनाएको छ । रासस

कांग्रेसलाई ११ र माओवादीलाई ९ मन्त्रालय, बाँकी मन्त्रालय अरु दललाई

काठमाडौं । सत्ता गठबन्धन नेपाली कांग्रेले ११ र माओवादी केन्द्रले ९ वटा मन्त्रालय लिएर बाँकी मन्त्रालय अन्य दललाई भागबण्डा आधारमा दिने भएका छन् । गठबन्धनमा सहभागि लोकतान्त्रिक फोरम, राप्रपा नेपाल, नेकपमा संयुक्त लगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच भएको छ । कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयके भागबन्डा टुंगो लगाउन बाँकी छ ।मन्त्रालयको भागबन्डा टुंगो लगाउन कांग्रेसबाट विमलेन्द्र निधी, रमेश लेखक, र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षामान पुन, र जनार्दन शर्माले गृहकार्य गरिरहेका छन् । पाटीले मन्त्री छान्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट पौडेले समूहले भने मन्त्रालयको किटान गरेपछि मात्रै मन्त्री छान्ने भएको छ । नयाँ पत्रिका दैनिकबाट । देउवाका ५ प्राथमिकता नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएको छ । ‘राष्ट्रिय सदाचार नीति’ बनाउने प्रस्तावमा हस्ताक्षर गरी उहाँले पदभार सम्हाल्नुभएको हो । देउवाले अन्तरप्रदेश समन्वयका लागि ‘समन्वय परिषद्को सचिवालय गठन गर्ने’ निर्णयमा पनि हस्ताक्षर गर्नुभएको छ । निर्णयपछि अब प्रधानमन्त्री कार्यालयमा महाशाखा स्थापना भई उक्त परिषद्को सचिवालय गठन हुनेछ । देउवाले पदभार लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारका सात प्राथमिकता तय गरिएको छ । देउवा नेतृत्वको नयाँ सरकारले ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्वघोषित मिति १४ असारमा सम्पन्न हुने प्रतिबद्धता पनि मन्त्रिपरिषद् बैठकले जनाएको छ । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन सरकारको पहिलो प्राथमिकतामा परेको छ । साथै, भूकम्पपछिको पुनर्निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले आर्थिक समृद्धिलाई महत्व दिने गरी लगानीको वातावरण बनाउने र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ । शान्ति, सुरक्षा र सुशासन जनताले अनुभूत गरी गराउने पनि सरकारको प्राथमिकतामा परेको छ । पाँच प्राथमिकता: संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन माघ ७ गतेभित्र तीनै तहको चुनाव भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता आर्थिक समृद्धिलाई महत्वव दिने गरी लगानीको वातावरण शान्ति प्रक्रियाका बाँकी काम र शान्तिसुरक्षा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा तीन उपप्रधानमन्त्रीसहित चार मन्त्रीले पनि शपथ लिए । उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्रीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शपथ लिनुभएको छ । उहाँ १३ आौंपटक सरकारमा सहभागी हुनुभएको हो । त्यस्तै, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको शपथ लिनुभएको छ । महरा निवर्तमान सरकारमा पनि उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । कांग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षामन्त्रीको शपथ लिनुभएको छ । अर्थमन्त्रीमा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर उहाँ ०६३ को जनआन्दोलनपछि गठन भएको सरकारमा जलस्रोतमन्त्री हुनुहुन्थ्यो । उहाँकै पहलमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल सरकारले बनाएको हो । कांग्रेसबाटै फरमुल्ला मन्सुरले श्रम तथा रोजगारमन्त्रीको शपथ लिनुभएको छ । बाराबाट प्रत्यक्ष निर्वाचित मन्सुर मधेसका पुराना नेता हुनुहुन्छ । उहाँ सरकारमा दोस्रो पटक प्रवेश गर्नुभएको हो । माओवादी नेता जनार्दन शर्माले गृहमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँ यसअघिको दाहाल सरकारमा ऊर्जामन्त्री हुनुहुन्थ्यो । देशभर लोडसेडिङ हटाउन सफल शर्मा पछिल्लो समय लोकप्रिय मन्त्रीका रूपमा परिचित हुनुहुन्छ । माओवादीका अर्का नेता प्रभु साहलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । साह यसअघि कानुनमन्त्री हुनुहुन्थ्यो । देउवाले आफ्नो मन्त्रिमण्डलमा एक जना महिला सदस्य समावेश गर्नुभएको छैन । यस्तो छ मन्त्रिमण्डल: शेरबहादुर देउवा, प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा स्थानीय कृष्णबहादुर महरा, उपप्रधान तथा परराष्ट्र गोपालमान श्रेष्ठ, उपप्रधान तथा शिक्षा ज्ञानेन्द्रबहादुर कार्की, अर्थ फरमुल्लाह मन्सुर, श्रम तथा रोजगार जनार्दन शर्मा, गृह प्रभु साह, विनाविभागीय असार १४ अघि फेरि विस्तार हुने सरकारले असार १४ अघि केही मन्त्री थप गर्ने तयारी गरेको छ । सरकारलाई समर्थन गरेका दललाई सहभागी गराउने र कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट पनि केही मन्त्री थप गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ । तर, मन्त्रिमण्डलले पूर्णता भने असार १४ को स्थानीय तह चुनावपछि मात्रै पाउने भएको छ । दलबीच मन्त्रालयको भागबन्डा अझै मिलिसकेको छैन । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने टुंग्याउन बाँकी भएकाले अर्को साता केही मन्त्री थप हुने बताइएको छ । अन्नपूर्ण पाेस्टबाट ।