चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्दै दुःख–हैरानी दिएको भन्ने उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारले घुस रकमसहित उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share News