अब ब्रिजकोर्सका कक्षा सञ्चालन गर्न नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ ।’

श्रम मन्त्रालयको १० बुँदे सुधार योजना सार्वजनिक, आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकहित संरक्षण र सेवा प्रवाहलाई आधुनिक बनाउने लक्ष्यका साथ १० बुँदे विशेष कार्ययोजना सार्वजनिक गरेको छ ।  यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले भोग्दै आएको प्रशासनिक झन्झटको अन्त्य गर्नु रहेको छ ।  अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने र पुराना ‘टोकन प्रणाली’ खारेज गर्ने तयारी मन्त्रालयले गरेको छ । यसका साथै पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन र डिजिटल माध्यममा आधारित बनाइनेछ जसले गर्दा श्रमिकहरूले घरमै बसेर श्रव्य(दृश्य सामग्रीमार्फत आवश्यक जानकारी लिन सक्नेछन् । मन्त्रालयले आन्तरिक रोजगार र सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिएको छ। श्रमिकको न्यूनतम ज्याला कार्यान्वयनको सुनिश्चितता गर्ने, सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र औद्योगिक प्रतिष्ठानहरूमा स्वास्थ्य तथा सुरक्षाको जोखिम मूल्यांकन गर्ने योजना अघि सारिएको छ ।  स्वदेशमै उत्पादन र उद्यमशीलता बढाएर रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको मन्त्रालयले थप ५ देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने र विद्यमान कानुनहरूमा समयसापेक्ष सुधार गर्ने प्रक्रिया पनि थाल्ने भएको छ ।  यस्ता छन् दश बुँदे कार्ययोजना  

पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । आइतबार बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो। जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ । यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। खड्कालाई जारी गरिएको पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा ६ सँग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । जेनजी आन्दोलनअघि उनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत बनेका थिए ।