काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सो बैठक आह्वान गरिएको हो ।
बैठक सोमबार (भोलि) बिहान ९ः०० बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ ।
उक्त सर्वदलीय बैठकमा सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ ।
बैठकमा सहभागी हुन प्रत्येक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिहरूलाई अनुरोध गर्दै सूचनासहितको निमन्त्रणा पठाइसकिएको रास्वपाले जनाएको छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच समसामयिक राजनीतिक मुद्दाहरूमा घनीभूत छलफल गरी निकास पहिल्याउन यो बैठक महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।