यी हुन् भ्रष्टाचार अन्त्यका लागि गर्नैपर्ने २८ काम
काठमाडौं । जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न बनेको समितिले भ्रष्टाचार न्यूनीकरणका लागि विभिन्न सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वको समितिले तयार गरेको सुशासन मार्गचित्रमा भ्रष्टाचार न्यूनीकरणका साथै पारदर्शी, जवाफदेही, प्रविधिमैत्री र नागरिक केन्द्रीत शासन प्रणालीमार्फत भ्रष्टाचारमुक्त, चुस्त र प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ । सो प्रतिवेदनले सार्वजनिक सेवा सुनिश्चित गर्न र भ्रष्टाचारको न्यूनीकरण गर्न विभिन्न २८ वटा सुझाव दिएको छ । यस्ता छन् सुधारका उपायहरु –सार्वजनिक सेवा प्रवाहलाई चुस्त, सरल, पारदर्शी तथा प्रविधिमैत्री बनाउने । – सार्वजनिक खरिद प्रणालीलाई पूर्ण पारदर्शी, डिजिटल र प्रतिस्पर्धात्मक बनाउने । – सार्वजनिक निकायमा आन्तरिक लेखापरीक्षण, वित्तीय नियन्त्रण र जोखिम व्यवस्थापन प्रणाली बलियो बनाउने । – जोखिममा आधारित अनुगमन प्रणाली लागू गर्ने । उच्च जोखिम क्षेत्र (स्थानीय तह, भूमि, खरिद, राजस्व) मा लक्षित निगरानी गर्ने । –भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि प्रभावकारी अनुसन्धान र कारबाही सुनिश्चित गरी दण्डहीनताको अन्त्य गरी उत्तरदायित्व स्थापित गर्ने । –निगरानी निकायहरूको संस्थागत स्वायत्तता र क्षमता अभिवृद्धि गर्ने । –सार्वजनिक खरिद तथा आयोजना व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने । गुणस्तर परीक्षण, प्राविधिक परीक्षण र स्वतन्त्र अनुगमन प्रणाली लागू गर्ने । –अभिलेख व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल र सुरक्षित बनाउने (उदाहरणः भूमि, राजस्व, सामाजिक सुरक्षा अभिलेखहरू)। –कर्मचारीको स्वविवेकीय अधिकारलाई स्पष्ट नियम र प्रणालीद्वारा सीमित गर्ने । –अनावश्यक प्रक्रिया हटाई सेवा प्रवाह प्रक्रियालाई सरल, छिटो र झन्झटमुक्त बनाउने । –सबै खाले नियुक्ति, सरुवा र पदोन्नति प्रणालीलाई योग्यता र प्रतिस्पर्धामा आधारित बनाउने । –राजस्व प्रशासनमा डिजिटल प्रणाली लागू गरी राजस्व चुहावट नियन्त्रण गर्ने । –सामाजिक सुरक्षा तथा अनुदान वितरण प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने । –सार्वजनिक खर्च तथा विकास आयोजनाको प्रभावकारी अनुगमन गर्ने । –सार्वजनिक निकायहरूमा पारदर्शिता र सूचनाको हकको प्रभावकारी कार्यान्वयन गरी सूचनामा पहुँच सुनिश्चित गर्ने । –भ्रष्टाचार नियन्त्रण निकायहरूबीच प्रभावकारी समन्वय प्रणाली स्थापना गर्ने । –सार्वजनिक सेवा प्रवाहमा नागरिक गुनासो व्यवस्थापन प्रणाली सुदृढ गर्ने । –कृत्रिम बौद्धिकता, आधुनिक सूचना प्रविधि र डिजिटल निगरानी प्रणालीको प्रयोग विस्तार गर्ने । –सार्वजनिक प्रशासनमा नैतिकता, सत्यनिष्ठा र इमानदारिताको संस्कृति विकास गर्ने । – नागरिक सहभागिता र सामाजिक निगरानी प्रणाली सुदृढ गर्ने । सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ, नागरिक बडापत्रलाई प्रभावकारी बनाउने । –धनलाई प्रतिष्ठा मान्ने सामाजिक सोच परिवर्तन गर्न विद्यालय तहदेखि नै सदाचार शिक्षा लागू गर्ने । –नीतिगत भ्रष्टाचार रोक्न मन्त्रिपरिषद्का निर्णयहरूलाई पारदर्शी र सार्वजनिक गर्ने । – करका दरहरूमा गरिने अपारदर्शी हेरफेरलाई पूर्ण रूपमा नियन्त्रण गर्ने । –सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने र नियमित छानबिन गर्ने । –सरकारी सम्पत्तिको दुरुपयोग रोक्न कडा निगरानी र उत्तरदायित्व प्रणाली विकास गर्ने । –सहकारी र वित्तीय संस्थाहरूको अनियमितता रोक्न शक्तिशाली नियामक निकाय गठन गर्ने । –सम्पत्ति शुद्धीकरण (मनि लाउन्डिरिङ) नियन्त्रणका लागि रियल टाइम ट्र्याकिङ प्रणाली लागू गर्ने । –निजी र गैरसरकारी क्षेत्रको आर्थिक कारोबारलाई पारदर्शी र नियमन योग्य बनाउने ।
रविको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार (आज) सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । बहसपश्चात उक्त मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने आदेश भएको सर्वोच्च प्रशासनले जनाएको छ । यो रिटमा दुई सातादेखि हेर्दाहेर्दैमा राखेर बहस हुँदै आएको थियो । तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने गरेको निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए । भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । उनले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी हुन् । सभापति लामिछानेले आफूविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुरोध गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । उनको मागबमोजिम भण्डारीले स्वीकृति दिने निर्णय गरेकी हुन् ।
ओली र लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, सोमबार पेसी
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सोमबार (भोलि) सुनुवाइ हुने भएको छ । आइतबार ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ । उनलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न रिटमा माग छ । दुवै जनाको रिट दर्ता भएको र सोमबार सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ । शनिबार बिहान ओली र लेखक पक्राउ परेका हुन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।