प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । बैठक अपरान्ह सवा ३ बजेबाट सुरु भएको हो । प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न दिने र गत १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोलेको सीमासम्बन्धी विषयलाई रेकर्डबाट हटाउने सहमति भएसँगै बैठक सुरु भएको हो । जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीचको संवादमा सहमति भएसँगै बैठक सुरु भएको हो । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै आएको थियो । 

एमसीए नेपालद्वारा २९७ किमि प्रसारण लाइन निर्माण सुरु, दुई ठूला सबस्टेशन पनि बन्ने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजना सुरु गर्दै दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ । रातमाटे सबस्टेशन निर्माणस्थलमा आयोजित समारोहमार्फत रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन तथा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्डहरूको निर्माण कार्य सुरु गरिएको हो । यो आयोजना संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा सञ्चालन भइरहेको हो । यसले नेपालको विद्युत् प्रसारण पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार तथा सुदृढ बनाउने लक्ष्य लिएको छ । कार्यक्रममा सरकारी उच्च अधिकारी, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण कम्पनी, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । एमसीए नेपालका अनुसार, यस कम्प्याक्टअन्तर्गत तीन वटा ४०० केभी क्षमताका सबस्टेशन तथा करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ, जसले राष्ट्रिय विद्युत् ग्रीडलाई थप भरपर्दो बनाउनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, यो पूर्वाधारले प्रसारण अवरोध घटाउने, विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने र दीर्घकालीन ऊर्जा माग व्यवस्थापनमा महत्वपूर्ण योगदान दिनेछ । समारोहमा बोल्दै अर्थ सचिव तथा एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यस आयोजनालाई देशको आर्थिक भविष्यसँग जोडिएको रणनीतिक लगानीका रूपमा व्याख्या गरे । त्यस्तै, नेपालका लागि अमेरिकी दूतावासका प्रतिनिधिले यो परियोजनाले नेपालको ऊर्जा भविष्यलाई मजबुत बनाउँदै घरायसी तथा औद्योगिक विद्युत् आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने बताएका छन् । एमसीसी र एमसीए नेपालका अधिकारीहरूले यो आयोजना नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा अझ प्रतिस्पर्धी र सक्षम बनाउने दिशामा महत्वपूर्ण कदम हुने बताएका छन् । निर्माण सम्पन्न भएपछि रातमाटे र नयाँ दमौली सबस्टेशन देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन् । यसले नेपालको राष्ट्रिय प्रसारण सञ्जाललाई थप सुदृढ बनाउँदै दीर्घकालीन आर्थिक वृद्धि र औद्योगिक विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेता बैठकमा व्यस्त, सांसद सिंहदरबारमा अलपत्र

काठमाडौं । सुरु नै नभई दिउँसो २ बजेका लागि सरेको प्रतिनिधि सभाको बैठक यो समाचार तयार पार्दासम्म पनि सुरु हुन सकेको छैन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सदन खुलाउने वार्ता चलिरहेकोले सभाको बैठक ढिलो भएको बताइएको छ । बैठकको पर्खाइमा थुप्रै सांसदहरू सिंहदरबारका चौरमा बसिरहेका छन् । केही सांसदहरू क्यान्टिनमा बसेर बैठक सुरु हुने समय पर्खिइरहेका छन् ।  प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीअनुसार ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।  उक्त नियमको आधारमा आज बुधबारको बैठक ४ बजेसम्म बस्न सक्नेछ । यदि चार बजेसम्म बैठक नबसे सभामुखले उक्त बैठक स्थगनको सूचना जारी गर्न सक्नेछन् । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै आएको छ । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।