कांग्रेस एकताका लागि शेखरको अग्रसरता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कोशी प्रदेशबाट पार्टी एकता र सुदृढीकरणका लागि जुट्ने तयारी गरेका छन् । आगामी जेठ ३१ गते विराटनगरमा आयोजना हुने कोशी प्रदेशस्तरीय भेलामार्फत उनले कांग्रेसभित्रका सबै पक्षलाई एकताका लागि आह्वान गर्ने भएका हुन् । कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डेले उक्त भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका र नियमित महाधिवेशनको पक्षमा रहेका दुवै समूहका नेता तथा कार्यकर्तालाई सहभागी हुन निमन्त्रणा गरिएको जानकारी दिए । पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिने उनले बताए । नेता डा.मीनेन्द्र रिजालले पार्टीमा एकमना एकता कायम गर्न आफू निरन्तर लागिरहेको जानकारी दिए । आफूले सभापति गगनकुमार थापा र डा. शेखरसँग निरन्तर संवाद गरिरहेको बताए । पूर्वसहमहामन्त्री पाण्डेले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले महत्त्वपूर्ण राजनीतिक घोषणा र सन्देशका लागि विराटनगरलाई केन्द्र बनाउने गरेको स्मरण गर्दै यसपटक पनि डा. शेखर कोइरालाले पार्टी एकता, संगठन सुदृढीकरण र कांग्रेसको भावी दिशासम्बन्धी केही नयाँ धारणा सार्वजनिक गर्न सक्ने संकेत दिए । विराटनगरस्थित मनास्लु होटलमा आयोजना हुने भेलामा डा. कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद तथा राजीव कोइरालालगायत नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमको तयारीमा कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई सक्रिय रूपमा जुटेका छन् । तर सभापति उद्धव थापाले भने कार्यक्रमबारे जानकारी नभएको बताएका छन् । आयोजकहरूले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेको सामग्रीमा उक्त भेलालाई ऐतिहासिक बृहत कोशी प्रदेशस्तरीय भेलाका रूपमा प्रस्तुत गरेका छन् । कांग्रेसभित्र आगामी महाधिवेशनको बहस तीव्र भइरहेका बेला विभिन्न धारका नेताहरूलाई एउटै मञ्चमा ल्याउने डा. कोइरालाको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लामो समयदेखि फरक राजनीतिक धारमा रहेका नेताहरूको संयुक्त उपस्थितिले पार्टीभित्र संवाद, सहकार्य र एकताको नयाँ वातावरण निर्माण गर्न सक्ने अपेक्षा गरिएको नेता पाण्डेले जानकारी दिए ।

मापदण्ड विपरीतका हेडलाइट र हर्न प्रयोग गरे कारबाही हुने

काठमाडौं । सरकारले सवारी साधनहरूमा उत्पादक कम्पनीले तोकेको प्राविधिक स्पेसिफिकेसन विपरीत जथाभावी बत्ती र हर्न जडान गरी चलाउने कार्यमा रोक लगाएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक  सूचना जारी गर्दै कानुन विपरीत अतिरिक्त लाइट र प्रेसर हर्न प्रयोग गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।  बजारमा सवारी साधनको मूल स्वरूप परिवर्तन गरी उच्च क्षमताका लाइटहरू जडान गरेर सवारी चलाउने प्रवृत्ति बढेको र यसले गर्दा विपरीत दिशाबाट आउने चालक तथा पैदल यात्रीहरूलाई बाधा पुगी दुर्घटनाको जोखिम बढेको विभागको ठहर छ ।  कानुनी रूपमा पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार स्वीकृत नलिई सवारीको स्वरूप वा प्राविधिक पक्ष हेरफेर गर्न नपाइने प्रावधान छ । विभागले सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४ बमोजिम हेडलाइट र हर्नको स्पष्ट मापदण्ड समेत तोकेको छ । जसअनुसार डिप वा कम विमको हेड ल्याम्पको हकमा १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म र हाई विमको हकमा प्रत्येक हेड ल्याम्प १ लाख क्यान्डेलाभन्दा कम तथा समग्रमा चारवटै हेड ल्याम्पको प्रकाश २ लाख क्यान्डेलाभन्दा कम तीव्रताको हुनुपर्ने व्यवस्था छ ।  यसैगरी हर्नको हकमा न्यूनतम ९० डेसिबलदेखि अधिकतम ११२ डेसिबलसम्म मात्र ध्वनि निकाल्न पाउने नियम रहेकाले आफूखुसी प्रेसर हर्नहरू जोड्न नपाइने विभागले स्पष्ट पारेको छ ।  उक्त प्रावधान विपरीत बत्ती र हर्न जडान गरी सवारी साधन चलाएको खण्डमा प्रचलित नियम कानुन अनुसार कारबाही हुने व्यहोरा जानकारी गराउँदै विभागले सबैलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

बजेट छलफल अवरुद्ध गरी म विरुद्ध संगठित अफवाह फैलाइयो: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफबाह फैलाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा बजेटबारे आयोजित छलफलका क्रममा बोल्दै उनले प्रतिनिधि सभामा बजेट छलफल अवरुद्ध गरेर आफ्नो विरुद्धमा अफबाह फैलाइएको बताए । ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफबाह फैलाइएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएको हुँ ।’