बादलले संसदमा राखेको विचारप्रति विष्णु पौडेल भन्छन्- यो पार्टीको नीति विपरीत भयो, भोली बैठकमा छलफल गछौं

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभाको आजको बैठकमा दलको नेताको हैसियतमा रामबहादुर थापा (बादल) ले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन् ।  पौडेलले थापाका विचारहरू पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।  उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भने, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् ।’ पौडेलले यस विषयमा भोलि बस्ने केन्द्रीय सचिवालयको बैठकमा विस्तृत छलफल हुने र पार्टीले ठोस निर्णय लिने समेत स्पष्ट पारे । 

सिमराको पाँचतारे होटल अब अन्तर्राष्ट्रिय ब्रान्ड: लेमन ट्रीसँग व्यवस्थापन सम्झौता

काठमाडौं । बाराको सिमरास्थित पाँचतारे होटल इक्षा लिमिटेड र चर्चित भारतीय होटल ब्रान्ड लेमन ट्रीबीच होटल व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । बिहीबार (आज) भारतको नयाँ दिल्ली स्थित लेमन ट्रीको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त सम्झौतामा होटेल इक्षा लिमिटेडका प्रबन्ध सञ्चालक मुनसन वाग्ले तथा लेमन ट्री होटल्सका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अब सिमरास्थित उक्त होटल लेमन ट्री होटलको नामबाट सञ्चालन हुनेछ । व्यवस्थापन जिम्मा लेमन ट्रीले लिएसँगै होटलले प्रदान गर्ने सेवा, सुविधा र आतिथ्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने अपेक्षा गरिएको छ । सम्झौता कार्यक्रममा होटेल इक्षा लिमिटेडका सञ्चालक समितिका सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो ।

७८ गाउँपालिकामा अधिकृत खटाउँदै सामान्य प्रशासनमन्त्री रावलले भनिन्- खटाएको ठाउँमै जानुपर्छ

काठमाडौं ।  स्थानीय तहमा देखिएको प्रशासनिक रिक्तता अन्त्य गर्न सरकारले पहल चालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गर्दै कार्यान्वयन सुरु गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत वा सो सरहका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीलाई रिक्त स्थानमा पठाउने निर्णय गरेको हो । यससँगै स्थानीय तहमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । यस अभियानलाई तीव्रता दिने नेतृत्व लिएकी प्रतिभा रावलले मन्त्रालय सम्हालेलगत्तै रिक्त पद पूर्ति गर्ने कामलाई प्राथमिकतामा राखेकी छन् । उनले भनेकी छन्- ‘सरकारले खटाएको स्थानमा जान्न नमान्ने छुट कसैलाई छैन ।’ यसअघि पनि मन्त्रालयले कर्मचारी व्यवस्थापनमा सक्रियता देखाउँदै ६३ जना उपसचिव र ६ जना सहसचिवको सरुवा गरिसकेको छ । तर, केही कर्मचारीहरू काठमाडौं बाहिर जान आनाकानी गरेपछि मन्त्री रावलले कडाइ अपनाउँदै मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन् ।