सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित संघीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
भरतपुरमा बाल क्यान्सर उपचारका लागि अत्याधुनिक आरोग्य सुपर स्पेसालिटी क्लिनिक सञ्चालनमा
काठमाडौं । चितवनको भरतपुरमा बालबालिकामा बढ्दो क्यान्सर रोगलाई लक्षित गर्दै अत्याधुनिक सेवा सुविधासहितको बहुविशेषज्ञ क्लिनिक सञ्चालनमा आएको छ । आरोग्य मल्टी सुपर स्पेसालिटी क्लिनिक नामक उक्त क्लिनिकले विशेषगरी बाल क्यान्सर उपचारमा केन्द्रित सेवा प्रदान गर्ने जनाएको छ । क्लिनिकका सञ्चालक कृष्णराज गैरेका अनुसार पछिल्लो समय बालबालिकामा विभिन्न प्रकारका क्यान्सर रोगको जोखिम बढ्दै गएकाले बालकेन्द्रित उपचार सेवा आवश्यक देखिएको हो । यो क्लिनिक नेपालमै बाल क्यान्सर उपचारका लागि स्थापना गरिएको पहिलो सुपर स्पेसालिटी केन्द्र रहेको उनले जानकारी दिए । बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरको परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध हुने उनको भनाइ छ । विदेश जान लागेका बिरामीहरूलाई नेपाली डाक्टरहरूको सहायतामा विदेशी डाक्टरसँग परामर्श गराउने र रिपोर्ट पठाएर बिरामीको रोगको बारेमा परामर्श लिने काम पनि यहाँ हुने गैरेले जानकारी दिए । उनका अनुसार यसले नेपाली बिरामीले विदेश गएर गर्ने खर्च रोक्ने तथा कम गर्नेछ । क्लिनिकले स्वदेशमै उपचार सम्भव नभएका जटिल केसका लागि बिरामीलाई विदेश पठाउने प्रक्रियामा पनि सहजीकरण गर्ने जनाएको छ । यसअन्तर्गत भारत, सिंगापुर र थाइल्याण्डका प्रतिष्ठित अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग समन्वय गरी बिरामी र उनका आफन्तलाई आवश्यक सहयोग प्रदान गरिने गैरेले जानकारी दिए । त्यसैगरी, विदेश जान असमर्थ बिरामीका लागि भने उनीहरूको स्वास्थ्य विवरण हिस्ट्रीका आधारमा विदेशी चिकित्सकसँग प्रत्यक्ष संवाद गराउने सुविधा समेत उपलब्ध गराइने क्लिनिकले जनाएको छ । बाल क्यान्सर उपचारलाई सहज, सुलभ र विशेषज्ञ सेवामार्फत प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरिएको यस क्लिनिकले देशभित्रै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको गैरेले बताए ।
जनताभन्दा माथि सरकार हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जनताभन्दा माथि सरकार नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा सुतेको फोटो राख्दै उनले निर्माताभन्दा ठूलो निर्माण नहुने बताएका हुन् । ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ उनले भनेका छन् ।