काठमाडौं । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुन सक्ने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने, पहाडी क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।
साथै, तापक्रम थप बढ्ने सम्भावना रहेकाले महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न महाशाखाले सुझाव दिएको छ ।