खैरो हेरोइनसहित ११ जना पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौँका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोले टोली खटाएको थियो । सो क्रममा निजहरूबाट १०१ ग्राम लागुऔषध बरामद भएकाले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । ब्यूरोले आज सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा कैलाली, घोडाघोडी बस्ने ३२ वर्षीय दीपाकुमारी विष्ट, महोत्तरी, एकडरा-४ का २६ वर्षीय अमरकुमार साह, चितवन, भरतपुर महानगरपालिका-१७ का ३६ वर्षीय सुनिल लामा, इलाम, चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीया सङ्गिता बास्कोटा, काठमाडौं महानगरपालिका-२६ का ३७ वर्षीय प्रशान्त राना मगर र नुवाकोट, शिवपुरी गाउँपालिका-२ का ३३ वर्षीय पेम्बा लामा रहेका रेग्मीले जानकारी दिए । उनका अनुसार चितवन, भरतपुर महानगरपालिका-७ का ३८ वर्षीय जीवनकुमार लामा, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-२ का २९ वर्षीय सरोज गुरुङ, भारतको दरभङ्गा जिल्ला, फिर्मा पञ्चायत, कचुवा-२ ठेगाना भएका २६ वर्षीय आकाश सिंह, सुनसरीको धरान उपमहानगरपालिका-१७ की २० वर्षीया जिया राई र मकवानपुर, थाहा नगरपालिका-९ ठेगाना भएकी २० वर्षीया स्वस्तिका तामाङलाई पनि पक्राउ गरिएको छ । निजहरूमध्ये सुनिल लामा र सङ्गिता बास्कोटा लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलनमा फरार रहेका रेग्मीले उल्लेख गरे ।
नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् । नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग सोमबार (आज) सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने जानकारी दिए । भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संरक्षण गर्न सक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताए। हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लिखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्फबाट पेस गरिएका सुझावलाई समेट्न उनले माग गरे । त्यसअवसरमा प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई पनि हस्तान्तरण गरेको थियो । स्मरणपत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदा असान्दर्भिक, अव्यावहारिक र पुस्तौंदेखि विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेको भन्दै यस्ता प्रावधानहरु खारेज गर्न माग गरिएको छ । आजै सो प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी उक्त ऐनमा समेट्नका लागि एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुतथ गरेको थियो ।
लागूऔषधसहित ४ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका अनुसार कैलाली, टीकापुर नगरपालिका-९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो । यसैगरी, मोरङको रङ्गेली नगरपालिका-४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ । अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए । मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।