संक्रमितलाई उच्च मनोबल बनाउन पुतलीबजार नगरपालिकाले वितरण गर्याे आयुर्वेदीक औषधी

स्याङ्जा । पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितलाई उच्च मनोबल बनाउन आयुर्वेदीक औषधी वितरण शुरु गरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको हो । पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समाज मै फैलिरहेको र कोरोनालाई न्यूनिकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताए । नगरप्रमुख क्षेत्रीले पालिकामा हाल सम्म २९ जना कोरोना संक्रमित रहेको बताउदै सबै कोरोना संक्रमित बिरामीहरुकहाँ पुर्याउने जानकारी दिए । उनले आयुर्वेदिक औषधीले कुनै असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताए । पुतलीबजारमा दोस्रो चरणको भेरिएन्ट कोरोनाबाट २९ जना विरामी परेका छन् । कोरोना संक्रमितहरु होम आईसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ । बिरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदीक औषधी दिन शुरु गरिएको १३ का वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रबक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । उनले औषधी वितरणले विरामीहरुको मनोवल उच्च भएको बताए । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।

अक्सिजनभन्दा सिलिण्डर अभावप्रति संवेदनशील हुन मेयर शाक्यको अपिल

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको उपचारका लागि अक्सिजनभन्दा सिलिण्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बधित निकायलाई आग्रह गरेका छन् । प्रमुख शाक्यले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अक्सिजनको सिलिण्डरको व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिण्डरको अभाव छ । व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिण्डर संचित गरेर राखेको पाइएको छ । यस्तो महामारीका बेला बिरामीलाई अति आवश्यक पर्ने अक्सिजन आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिण्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’ कोभिड संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका कामसँगै उपचार पद्धतिलाई समेत सहज बनाउनु पर्ने बर्तमान अवस्था उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।’ दोस्रो लहरका रुपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी हो । यसका लागि महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका बिरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको छ । विज्ञप्तिमार्फत प्रमुख शाक्यले भने, ‘हामी संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेका छौँ ।’ अस्पतालको क्षमता र संख्या बढाउनु अहिलेको आवश्यकता हो तर यही नै निर्विकल्प समाधान होइन । विज्ञप्तिमा भनिएको छ, जसरी पानीको मुल सफा नगरी नदी सफाइ हुँदैन । त्यसैगरी स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन सकिँदैन । विरामीको चापले आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापनमा भार सिर्जना हुन्छ । महामारी व्यवस्थापनका कोणबाट यो जटिल अवस्था हो । त्यसैले यसप्रकारको जटिलता आउनु अघि सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गरौँ । अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ । मास्कको अनिवार्य र सही प्रयोग गरौँ । साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ ।

अक्सिजनसहित ३५ शय्याको आइसोलेशन निर्माण, नगरप्रमुख भन्छन्- सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौं 

फाइल फाेटाे गलकोट । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा रहेका आइसोलेशन श्यया भरिँदै जान थालेपछि आइसोलेशन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘अस्पतालमा रहेको २५ श्यया क्षमताको आइसोलेशन लगभग भरिन थालेको छ, कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहितको आइसोलेशन निर्माण गरेका हौं’, नगरप्रमुख पौडेलले भने, ‘अहिले ३५ श्ययाको तयारी गरेका छौं, सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौं ।’ धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ । गत वर्ष सङ्क्रमित धेरै भएपछि धौलागिरि बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो । अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएको छ । एक सङ्क्रमित र अर्का एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको थियो । आइसोलेशनका सबै श्ययामा अक्सिजन जडान भएकाले अक्सिजन आवश्यक सङ्क्रमितलाई समेत आइसोलेशन श्ययामा राख्न सकिने नगर स्वास्थ्य शाखा संयोजन रामप्रसाद खनालले बताए । जिल्लामा सङ्क्रमित भएका अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले आइसोलेशन निर्माण गर्दा अक्सिजन जडान गर्नुपरेको हो । रासस