काठमाडौं । निर्माण कम्पनीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो ।
प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगर प्रमुख विमला राईले जानकारी दिए ।
‘नगरपालिकासँग गरिएको सम्झौतामा एक नम्बरको इँटा प्रयोग गर्ने भनिएको छ । ठेकेदार कम्पनीले पर्खाल निर्माण गर्दा सुरुमा सोही अनुसारका इँटा लगाएका थिए,’ उनले भने, ‘बढी नाफा कमाउने उद्देश्यले बीचमा आएर दुई नम्बरको इँटा प्रयोग गर्न थालेका रहेछन् । कमसल किसिमका इँटा प्रयोग गरेर लगाएको पर्खाल भत्काएर पुनः सम्झौता अनुसारका इँटा प्रयोग गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।’
सम्झौता गरेको १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनी आकाश निर्माण सेवाले निर्माणको काममा भने तीव्रता दिएको पाइएको छ । यद्यपि, कमसल इँटा प्रयोग गरेर गुणस्तरहीन काम गर्ने छुट कसैलाई पनि नभएको भन्दै नगरपालिकाको टोलीले मङ्गलबार निर्माणाधीन भवनको पर्खाल भत्काएको हो ।
प्रशासनिक भवनका लागि नेपाल सरकार, शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा ५ करोड ८७ लाख १८ हजार १३० रुपैयाँ बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिका-५ दुर्छिम स्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको नगरपालिकाको सेवालाई व्यवस्थित बनाउने उद्देश्यले आरसिसी ढलानसहितको पक्की प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको हो ।
नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि दुर्छिमका चारजना स्थानीय बासिन्दाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने १२ रोपनी जग्गा निःशुल्क दिएका छन् । ११ वडा रहेको यो नगरपालिकालाई दुर्छिमका स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले निःशुल्क जग्गा उपलब्ध गराउनुभएपछि ट्रस भवन निर्माण गरेर सेवा प्रवाह गर्दै आएको थियो ।
१० स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका) ले सोही ट्रस भवन हटाएर पक्की भवन निर्माणको काम सुरु गरेसँगै सबै स्थानीय तहको आ-आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य ८ स्थानीय तहले यसअघि नै आ-आफ्नो सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने आफ्नै लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न प्रशासनिक भवन सम्पन्न भएको लामो समय बिते पनि अहिलेसम्म सञ्चालन गरेको छैन । तत्कालीन गाउँपालिका प्रमुख एवं कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको पालामा निर्माण सुरु गरिएको प्रशासनिक भवन तीन वर्षअघि नै सम्पन्न भएपनि वर्तमान जनप्रतिनिधिले सञ्चालन नगरेको हो ।