चुनावका वेला गरेका वाचाहरुको ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं – गाउँपालिका अध्यक्ष श्रेष्ठ
नेपालको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो ‘त्रिपुरासुन्दरी गाउँपालिका’ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक किसिमको विशेषता बोक्न सफल पनि छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९४ दसमलव २८ वर्ग कि.मि रहेको छ भने गाउँपालिकाले नेपालको समग्र भू–भागको ० दसमलव ०६४ प्रतिशत भू–भाग ओगटेको छ । यो गाउँपालिका काठमाडौंबाट ८३ं दसमलव ६ कि.मि. टाढा रहेको छ । सो गाउँपालिकामा अवस्थित १ हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामाकरण गरिएको हो । ४ हजार २ सय ३३ घरधुरी भएको यस पालिकामा हिन्दु, बौद्ध र क्रिस्चियन गरी अलग अलग धर्मका अनुयायीहरुको बसोबास रहेको भएतापनि त्यहाँ बोलिने मुख्य भाषा भनेको नेपाली नै हो । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोना महामारीका कारण पुग्न गएको असर वारे केही बताइदिनुस न गाउँपालिका भित्रका ४ जना मानिसलाई कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा कोरोनाको त्रास फैलिन थालेपछि हामीले ६० लाख रुपैयाँ बराबरको कोरोना कोष स्थापना गरेका थियौं । गाउँपालिकाको ३ ओटा वडामा आइसोलेसन कक्ष स्थापना गरेका थियौं । त्यसैगरी प्रत्येक वडामा १५ देखि २० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । क्वारेन्टिनमा बस्ने मानिसको संख्या जम्मा ९६ थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । तर अहिले भने अवस्था सामान्य भइसकेको छ । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? धेरै परिवर्तन आएको छ भन्दा पनि हुन्छ । म निर्वाचित हुनुभन्दा अगाडि गाविस सचिवले काम कारवाही चलाउने गरेका थिए । बजेटको आकार पनि सानो थियो । सडकको राम्रो पहँुच थिएन । विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन सकेका थिएनन् । त्यसैगरी, स्वास्थ्य क्षेत्र तर्फ पनि विभिन्न समस्याहरु देखा पर्ने गरेको थियो । तर म निर्वाचित भएर आईसके पछि गाउँपालिकामा विद्यालयका नयाँ भवनहरु निर्माण गरिएका छन् । ३० ओटा विद्यालयहरुमध्येका २९ वटा विद्यालयहरुको भवन पक्कि बनाइसकिएको छ । वडाका भवनहरु निर्माण भइरहेका छन् । ३ ओटा स्वास्थ्य चौकीका भवन बनिसकेका छन् । सडक निर्माण, खानेपानी आदि क्षेत्रको काम भइरहेको छ । त्यसैले पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आइसकेको छ भन्नुपर्छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? जिल्ला समितिको बैठकमार्फत प्रदेश सरकारका मन्त्री अनि कर्मचारीहरुसँग समन्वय गरिरहेका छौं । प्रदेश बाट गाउँपालिकामा योजनाहरु पनि आउने गरेका छन् । प्रदेश सरकारसँग समन्वय गरेरै विकास निर्माणका कामहरु पनि गरिरहेका छौं । सोचे अनुसारको नै बजेट तथा योजनाहरु आइरहेका छन् । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? घरघरमा सडक पुगोस् अनि खानेपानीको पनि राम्रो व्यवस्था होस् भन्ने जनताको चाहना हो जुन स्वभाविक पनि छ । तर यति हुँदाहुँदै पनि हामीले जनताको चाहना अनुरुपका सम्पूर्ण कामहरु पूरा गर्न भने सकेका छैनौं । बजेटको अभावले यस्तो भइरहेको हो । हाम्रो भुभागमा धेरैजसो पाहाडी क्षेत्र रहेकोले गर्दा बर्खाको बेलामा विकास निर्माणका कामहरु गर्न असहज हुने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकार र हाम्रो बीचमा कुराकानी भइनै रहन्छन् । मूल बजेटनै केन्द्र सरकार बाट आउने हो । हामीलाई विभिन्न क्षेत्रको विकास गर्नका लागि भनेर केन्द्र सरकारले ४१ करोड रुपैयाँको वार्षिक बजेट पठाउने गरेको छ । स्थानीय तहमा आउने बजेटमध्ये ७० प्रतिशत बजेट केन्द्र सरकारबाटै आउने गरेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? यहाँको वडा नं. ३ बाट वडा नं. ४ हुँदै दोलखासम्म जाने सडकको निर्माण गरिरहेका छौं । २ करोड रुपैयाँ बराबरको बजेट यसका लागि छुट्याएका छौं । ७ करोड रुपैयाँ बराबरको टेन्डरमा गाउँपालिकाको भवन निर्माण भएको छ । कालिन्चोक जाने सडक पनि निर्माणकै क्रममा छ । जे होस् यहाँका ठूला योजनाका रुपमा सडक सञ्जाललाई नै लिन सकिन्छ । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु अत्यन्तै प्रभावकारी छन् । विकासका काम प्रभावकारी भएकाले नै त होला जनताहरु मसँग खुसी भएका । तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक कामहरु के–के होलान् ? मैले सम्झिन लायक कामहरु धेरै छन् । गाँउपालिकाको भवन निर्माण भइरहेको छ । स्वास्थ्यचौकी भवनको निर्माण भइसकेको छ । केही विद्यालयका भवन निर्माण भइसकेका छन् भने केही बन्ने क्रममा छन् । अघि नै पनि भनिहालें सडक निर्माणका काम पनि भइरहेका छन् । कृषिको विकास र त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्न पनि हामी कम्मर कसेर लागिपरेका छौं । स्वास्थ्य क्षेत्रतर्फ कुरा गर्नुपर्दा प्रयोगशालाको स्थापना गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? किसानहरुका लागि भनेर हामीले अनुदानको व्यवस्था मिलाएका छौं । हरेक वडालाई ब्लकको रुपमा छुट्याएका छौैं । जसअनुसार वडा नं १ मा बाख्रा पालन, २ मा अलैंची उत्पादन, ३ मा भैंसी पालन, ४ मा आलुको उत्पादन हुने गरेको छ । हामीले यसलाई पकेट क्षेत्रको रुपमा घोषणा गरेका छौं । त्यसैगरी वडा नं ५ मा केरा खेती अनि वडा नं ६ मा तरकारी खेती हुने गरेको छ । गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा विउ उपलब्ध गराउँदै आएको छ । हामीले १० लाख रुपैयाँ बराबरको आलुको विउ ल्याएका छौं । कृषि विकासको लागि भनेर हामीले वार्षिक ६० लाख रुपैयाँ छुट्याउँदै आएका छौं । प्रधानमन्त्री आधुनिकिकरण बाट छुट्टै १९ लाख रुपैयाँ दिने भनेर तयारी भएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? काठमाडौं बाट नजिकै रहेको हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकिय क्षेत्र पनि हो । यहाँ सम्झन लायक धेरै चिज छन् । शहिद पार्क छ, ३८ फिट उचाइको बुद्धको मुर्तिलाई बुद्ध पार्कमा राखेका छौं । तौथलीमा अवस्थित टोकलोखु डाँडामा पार्कको स्थापना गरेका छौं । यहाँ दैनिक ४० जना सम्म पर्यटकहरु आउने गरेका छन् । वडा नं ३ बाट सूर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । यहाँ रहेको महभिर नामको झरनाले मनलाई आनन्दित तुल्याउँछ । यसका साथै हाम्रो गाउँपालिका भित्र विभिन्न मठ, मन्दिरहरु पनि रहेका छन् । हामीले उपरोक्त सवै ठाउँहरुको क्रमिक रुपमा प्रचारप्रसार गरिरहेकै छौैं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले युवा प्रति लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमहरु ल्याएका छौं । काम गर्ने युवा तथा मजदुरका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । केही युवाहरु भने विकास निर्माणका काममा पनि लाग्दै आएका छन् । तपाईंको पालिकामा रहेको सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनीको नाम लिनुपर्दा कसको लिनुहुन्छ ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु छैनन् भन्दा पनि हुन्छ । बरु ३ ठाउँमा साबुन उद्योग सञ्चालित छन् भने कागजको उत्पादन पनि हुने गरेको छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सबैभन्दा बढि कर तिर्ने भनेको साबुन उद्योगले नै हो । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने त म कृषिलाई नै जोड दिन्छु । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ त ? सन्तुष्ट नै छु भन्नुपर्यो । घोषणापत्रमा उल्लेख गरेको र चुनावका वेला गरेका वाचाहरुको ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । यो कुराले पनि मलाई सन्तुष्ट बनाएको छ । गाउँपालिकामा मानिसहरु प्रायःजसो कस्ता समस्या लिएर आउने गरेका छन् ? धेरैजसो चाहिँ विकास निर्माणकै कुरा लिएर आउने गर्नुहुन्छ । तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन कस्ता योजनाहरु अघि सार्नुभएको छ ? भौतिक निर्माणको हिसाबले भन्नुपर्दा स्वास्थ्य कार्यालय र स्कुल बनाउने कुरालाई प्राथमिकतामा राखेका छौं । कृषिलाई आधुनिकरण गर्ने योजना पनि छ । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिँदै आएका छौं ।
पञ्चायतकालमा जस्तो योजनाहरु खल्तीबाट झिकेर आफ्ना कार्यकर्तालाई दिने शैली अझै गएको रहेनछ- अध्यक्ष थापा
बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिकाका हो ‘शिवपुरी गाउँपालिका’ । यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक विशेषता बोकेको छ । यस भूमीमा ऋषि तथा तपस्वीहरुले भगवान शिवको तपस्या तथा आरधाना गर्दथे भन्ने पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको किंवदन्ती छ । लेक, बेँसी, पहाड लगायतका भुबनोटले बनेको यस गाउँपालिकाको भूमी खेतीयोग्य छ । यस गाउँपालिकामा विभिन्न जातजाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराका मानिसहरु मिलेर बसेका छन् । मध्यपहाडी लोकमार्गले शिवपुरी गाँउपालिकालाई बिचबाट छिचोलेको छ भने टोखा छहरे सडकले पश्चिमपट्टी बाट काटेको छ । काठमाडौं बाट एकदम नजिक रहेको यो गाउँपालिकाले विकास र सम्बृद्धि तर्फ प्रचुर संभावना बोकेको छ भन्दा अत्युक्ति हुँदैन । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? जनप्रतिनिधीहरु निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा आएको परिर्वतन के–के छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहेर सो गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोना महामारीले पुर्याएको असर तथा हालको ताजा अवस्था वारे केही बताइदिनुस् न कोरोनाले समग्र विश्वलाई नै स्तब्ध बनाएका वेला हाम्रो गाउँपालिकामा चाहिँ असर नपुग्ने कुरै भएन । सरकारले गरेको लकडाउनको सुरुवाती दिनहरुमा हामीलाई क्वारेन्टिन व्यावस्थापन गर्न पनि समस्या भएको थियो । कोरोनाले गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा पनि नकारात्मक असर पुग्न गयो । सो वेला हामिले ८ बेडको आइसोलेसनको व्यवस्था गरेका थियौं । यहाँका धेरै नागरिकहरुलाई कोरोना पोजिटिभ देखा परेको थियो । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरु पनि सामान्य रुपमा जीवन यापन गरिरहेका छन् । हाल कोरोना विरुद्धको खोप नेपालमा पनि आइसकेको हुनाले सो खोप लगाउनको लागि हामीले स्वास्थ्यकर्मी साथिहरुलाई पालोपालो गर्दै काठमाडौं पठाइरहेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हामीले ४ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण गरेका छौं । कोल्ड स्टोरको निर्माण अन्तिम चरणमा पुगेको छ । चिसो बनाउने मेशिन खरिद गर्नको लागि अहिले हामी टेन्डरकै प्रकियामा छौं । ठुलो योजनाको रुपमा हामीले शिवपुरी कृषि रिङ्गरोड बनाउँदैछौं । गाउँपालिकाका कूल ७० कि.मि को रहने यो सडकको ९० प्रतिसत ट्रयाक हामिले खोलिसकेका छौं । माथिका कृषि उपजलाई तल झार्ने र त्यसैगरी तलका कृषि उपजलाई माथि लग्दै बजारीकरणलाई सहज बनाउने उद्देश्य हामीले लिएका छौं । १ नं वडा पर्यटकिय स्थल हो जसमा भ्यु टावर बनाउने योजना छ । स्वास्थ्य भवनको निर्माण भइरहेको छ । १० बेडको अस्पताकोे डिपिआर टेन्डर गरी सकेका छौं । गाउँपालिका भित्र शिवपुरी रङ्गशालाको निर्माण गरेका छौं । यी विभिन्न योजानहरुमध्ये केही सम्पन्न भइसकेका छन् भने केहि चाहिँ सम्पन्न हुने क्रममा छन् । राम्रो काम गरेकै हुनाले हामी जिल्ला बाट सम्मानित पनि भएका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ नि ? तिन ठाउँको सरकारको समन्वय हुनु पर्ने रहेछ । आधारशिला र बेस चाहिँ स्थानीय तहनै रहेछ । जसले जे काम गरेपनि विकास गरिने भनेको स्थानीय तहमा नै हो । आफुले जाने अनुसार अनि भ्याए अनुसार समन्वय गरेर नै अगाडी बढिरहेका छौं । फरक पार्टिको नेतृत्व हुँदा हँुदै पनि समन्वय गरेरै अगाडी बढेका छांै । तर पञ्चायतकालमा जस्तो योजनाहरु खल्ती बाट झिकेर आफ्ना कार्यकर्तालाई दिने शैली भने अझै पनि गएको रहेनछ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट पाउनुपर्ने सहयोग पाइरहेकै छौं । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? यहाँ भएका विकास निर्माणका कामहरु निक्कै नै प्रभावकारी छन् । यसले मलाई खुसी र सन्तुष्ट पनि बनाएको छ । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनु भन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? हामी निर्वाचित हुनुभन्दा अघि जनता कतिपय पहुँचबाट टाढै रहेका थिए । उनीहरुले समस्या पोख्ने ठाउँ खासै पाएका थिएनन् पनि । संविधानको परिकल्पना अनुसार स्थानीय सरकार बनिसके पछि जनताहरु समस्या लिएर आउनसक्ने भएका छन् । हामी निर्वाचित भएर आएपछि गाँउपालिकाको स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिर्वतन आएको छ । अहिले हामीले गाउँपालिकामा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेका छौं । यस बाहेक यहाँको सडक, खानेपानी, शिक्षा लगायतको क्षेत्रहरुमा पनि धेरै परिर्वतन आइसकेको छ । निर्वाचित भएको ३ बर्ष पूरा हुँदा तपाईंले गरेका सम्झिन लायक कामहरु के–के रहेका छन् त ? त्यस्ता काम धेरै नै छन् जस्तो लाग्छ । गाँउपालिकाको भवन बनेको छ । ४ वटा वडाको भवन निर्माण भइसकेको छ भने अन्यत्रका भवनहरु बन्ने क्रममा छन् । तरकारी भण्डारण गर्नका लागि भनेर कोल्ड स्टोरको निर्माण गरिएको छ । अघिनै पनि भनिहालेँ स्वास्थ्य भवनको निर्माण भइरहेको छ । त्यसैगरी, कृषि उद्योग संकलन केन्द्र विभिन्न ठाउँमा बनाएका छौं । सहकारीसँग मिलेर ढुवानी सेवाको व्यवस्था गरेका छौं । १० बेडको अस्पतालको लागि पनि टेन्डर भएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न केकस्ता कदम चाल्नुभएको छ ? हाम्रो गाँउपालिका काठमाडौं बाट नजिकै छ । यहाँ रहेको चिसापानी एरिया निकै मनमोहक छ । यसको विकासको लागि हामीले विभिन्न योजना पनि बनाएका छौं । यो ठाउँमा हामीले पार्क, भ्युटावर बनाउन योजना अगाडी सारेका छौं । पर्यटन प्रवद्र्धनका लागि बेला बेलामा कार्यक्रमहरु पनि गर्ने गरेका छौं । त्यसैगरी, होमस्टेको अवधारणा पनि अघि बढाएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकास गर्नकै लागि भनेर हामीले गाउँपालिकामा धेरै किसिमका कामहरु गर्दै आइरहेका छौं । यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । यहाँ कोदो, धान र मकै प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ । मध्यपहाडी लोकमार्गले १२ महिनानै किसानको पँहुच बजारसम्म पुर्याएको छ । हामीले पछिल्ला दिनमा फलफुल, तरकारी तथा पशुपालनमा जोड दिइरहेका छौं । कृषिलाई व्यवसायिक बनाउनु पर्छ भनेर हामी लागिपरेका छौं । सुरुका दिनमा हामिले किसानलाई एक–एक ओटा टनेल वितरण गरेका थियौं । ‘कृषकको लगानी गाउँपालिकाको ढुवानी’ भन्ने नारालाई मूर्तरुप दिइरहेका छौं । यहाँ उत्पादान हुने गरेका फलफुल बाट जाम अथवा जुस बनाउनका लागि मेशिन पनि खरिद गरेका छौं । गाउँपालिकाको समृद्धिको मुल आधार कृषि नै हो । हामीले गाउँपालिकामा कृषि बीमाको पनि सुरुवात गरेका छौं । च्याउ खेतीका लागि हामीले पकेट क्षेत्र पनि छुट्याएका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? यहाँका कतिपय युवा विदेश गएका छन् भने कतिपय चाहिँ आर्मी अथवा प्रहरीमा भर्ती भएका छन् । कोभिडको कारण बिदेश वाट धेरै युवाहरु गाउँ आए । हामीले त्यसरी आएका युवाहरुलाई कृषिमा आत्मनिर्भर बन्नुपर्छ भनेका छौं । बरु उनीहरुलाई ऋणको पनि सहजिकरण गर्ने व्यवस्था मिलाएका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । छिटपुट रुपमा साना खुद्रा पसल मात्र खुलेका छन् । अहिले हामीले खोल्न लागेको जुस बनाउने उद्योग नै सम्भवतः गाँउपालिकाकै ठुलो उद्योग हुनेछ । यहाँ दुधको उत्पादन प्रशस्त मात्रामा हुने गरेको छ । काठमाडौंमा त झन् शिवपुरीको दुध फेमस नै रहेको पाइन्छ । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? मैले गरेको कार्यप्रति म एकदमै सन्तुष्ट छु । सबैसँग समन्वय गर्दै काम गरिरहेको छु । त्यसैले पनि होला गाउँपालिकामा पहिलेको तुलनामा अहिले निक्कै परिर्वतन पनि आएको छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ? अझ धेरै विकास गर्नपाए हुन्थ्यो भन्ने सोचिरहन्छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरुबाट लाभ लिइरहन सकुन भन्ने चाहना छ । गाउँपालिकमा रहेका सबै वडामा विद्युत पुर्याएका छौं भने अब चाहिँ सबै घरमा सडक पुर्याउने योजना बनाएको छु ।
कृषि क्षेत्रको विकासका लागि उल्लेख्य काम गरेका छौंः गाउँपालिका अध्यक्ष पाण्डेसँगको कुराकानी
‘भिमसेनथापा गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा रमणीय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गरी भिन्नभिन्न विशेषता बोकेको पाइन्छ । सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियारी एवं राष्ट्रिय बिभुति भिमसेन थापाको नामबाट यस गाँउपालिकाको नामाकारण गरिएको हो । भौगोलिक विविधता, पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेँसी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यो गाउँपालिकाको क्षेत्रफल १ सय १ दशमलव ३५ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ३ रहेको छ भने यहाँ ८ ओटा वडा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के-के हुन्, पछिल्लो समय गाउँपालिकामा के–कस्ता परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्न गाँउपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाका कारण परेको असर बारे केही बताइदिनुहोस् न आज नागरिकहरु कोरोनाका कारण त्रसित हुने वातावरण त छैन तर लकडाउनको समयमा पालिकाले नसोचेको क्षती भने वेहोर्नु पर्यो । गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा नराम्रो असर त पुग्यो नै साथसाथै शिक्षा क्षेत्रमा पनि असर पुग्न गयो । कोरोनाको समयमा एकपल्टमै ५० जनासम्मलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था आएको थियो । विदेश बाट आएकाहरुलाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले गाउँपालिका भित्र रहेका विद्यालयलाई क्वारेन्टिनको रुपमा पनि सञ्चालन गरेका थियौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? हाम्रो खासै ठुलो समन्वय भएको त छैन । प्रदेश सरकार बाट केहि बजेट आउने गरेको छ । प्रदेश सरकार बाट आएको बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । प्रदेश सरकारले विकास निर्माणको काममा योजना हाल्दा हामीसँग त्यति परामर्श नगरेको हो कि भन्ने हामीले महशुस गरेका छौं । हामीले र प्रदेश सरकारले एउटै ठाउँमा बजेट हाल्ने गरेकोले कहिलेकाहिँ समस्या पनि देखा पर्ने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? विकास निर्माणको सवालमा हेर्दा जनताको चाहना तथा आवश्यकता अनुसार हामीले योजनाहरु दिन सकेका छैनौं । कारण हो सिमीत बजेट । नेपाल सरकार र प्रदेश सरकारले पठाएको बजेट सिमित हुन्छ । त्यसैले हामीले ठुला योजनातर्फ काम गर्नै सक्दैनौं । हरेक टोलमा रहेका साना-साना योजनालाई पनि बजेट छुट्याउनु पर्ने हुन्छ । जे होस, समस्या आए पनि त्यसको समाधान गर्दै हामी अगाडि बढिरहेका छौं । केन्द्र सरकार बाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारले जनसंख्या तथा भुगोलको आधारमा हाम्रो गाँउपालिकालाई एकमुष्ट बजेट पठाउने गरेको छ । त्यहि पैसाले हामीले विकास निर्माणको काम गर्ने गरेका छौं । संघीय सरकारले देशभरी बाँडफाँड गर्ने पैसा हामीले पनि पाउने गरेका छौं । संघिय सरकार नै स्थानीय सरकारको स्रोत पनि हो । संघिय सरकार बाट आएको बजेटले नै हामीले गाँउपालिकाको विकास निर्माणका कामहरु गर्ने गरेका छौं । तपाईंको गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् ? हाम्रो गाउँपालिकामा ठुला योजानाहरु खासै धेरै छैनन् । गाउँपालिका कार्यालय भवनको निर्माण भइरहेको छ । नेपाल सरकारको विधानअनुसार भवन निर्माण गर्न १० करोड रुपैयाँ लाग्छ भनेपनि हामी भने त्यसलाई घटाएर ८ करोड रुपैयाँ सम्ममै पनि तयार गर्ने प्रयासमा छौं । हामीले ७ करोड रुपैयाँ बराबरको टेन्डर पनि निकालेका छौं । शाखा कार्यालय निर्माणका लागि हामीले २ करोड रुपैयाँ बराबरको डिपिआर गर्न लागेका छौं । हामीले ८ ओटा वडालाई समेट्ने गरी ८ मिटर चौडाइको चक्रपथको कल्पना गरेका छौं । यसको डिपिआर पनि तयार भईसकेको छ । योभन्दा वाहेक गाउँपालिकामा ४ वटा खानेपानीको ठुला योजनाहरु पनि रहेका छन् । ८ सय घरधुरीसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न हुन लागेको छ । हामीले नै सुरु गरेको १ सय धारा, अर्काे १ सय ७० धारा र त्यसैगरी ४ सय धारा खानेपानी तर्फ १ करोड रुपैयाँ भन्दा माथिका योजनाहरु पनि बनाएका छौं । यसतर्फ पनि काम भइरहेको छ । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? धेरै नै प्रभावकारी छन् । विकासको काम प्रभावकारी भएकै कारणले गर्दा यहाँका नागरिक पनि हामीसँग खुसी छन् । हामीले पनि उनिहरुको आवश्यकतालाई सम्वोधन गर्ने खालका योजना गाउँसभा बाट पास गरेका छौं । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिर्वतन देखा परेका छन् त ? म निर्वाचित भएर आइसकेपछि गाँउपालिकामा धेरै परिवर्तन आएको छ । पहिला सडक तथा खानेपानीको अवस्था राम्रो थिएन । हामी निर्वाचित भएर आएपछि ती सबै क्षेत्रमा परिवर्तन र विकास भएको छ । हामी प्रत्येक घरमा धारा र प्रत्येक धारामा पानी दिनका लागि कम्मर कसिरहेका छौं । विद्युत प्राधिकरणसँगको समन्वयमा गाउँपालिकामा रहेका काठका पोल हटाएर फलामका पोल गाडेका छौं । सडक निर्माणको कामहरु पनि भईनै रहेको छ । ‘एक वडा एक पक्की बाटो’ भन्ने अभियानै चलाएका छौं । रातीको समयमा सहज हिँडडुलका लागि भनेर सडक बत्तिको पनि व्यवस्था गरेका छौं । यिनै तथ्यहरुले पनि म निर्वाचित हुनु अघि र पछिका परिवर्तनलाई दर्शाउँछन् जस्तो लाग्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? भिमसेन थापा नेपालकै पहिलो प्रधानमन्त्री हुन् । उनको जन्म हाम्रै ठाँउमा भएको हो र उनकै नाम बाट हाम्रो गाउँपालिकाको नाम पनि राखिएको हो । यो ऐतिहासिक भूमीमा हामीले पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेका छौं । तर प्रचार गरेजस्तो परिणाम भने आएको छैन । यहाँ हामीले पर्यटकिय मार्ग बनाउने योजना बनाएका छौं । धार्मिकस्थल पनि गाँउपालिकामा धेरै रहेका छन् र यिनीहरुको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । बुढिगण्डकी जलविद्युत आयोजना पनि बन्ने क्रममै रहेको छ । गाउँपालिकामा भिमसेनथापाको सालिक राख्नको लागि हामीले सालिक बनाई सकेका छौं । अनुकुल ठाँउमा पार्क, भ्युटावर लगायत बनाउने योजना पनि गाउँपालिकाले बनाएको छ । हामीले पर्यटनको पूर्वधारको पनि विकास गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? यसतर्फ धेरै काम भएको छ । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । सकभर जमीनलाई बाँझो नराख्न हामीले आग्रह गरेका छौं । त्यसैगरी किसानलाई सहुलियत दिने योजना पनि अगाडि सारेका छौं । हामीले फलफुल, तरकारीको पकेट क्षेत्र छुट्याएका छौं । पकेट क्षेत्रमा पनि किसानलाई व्यावसायिक बनाउने र अनुदान समेत दिने व्यावस्था मिलाएका छौं । हामीले गाउँपालिकामा रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेका छौं । कोदो खेती धेरै मात्रामा गर्ने किसानलाई पुरष्कारको पनि व्यवस्था मिलाएका छौं । किटनासक औषधी पनि हामीले वितरण गरेका छौं । किसानलाई मलको पनि व्यवस्था मिलाएका छौं । कोदो कुट्ने मेशिन किसानहरुलाई उपलब्ध गराएका छौं । कृषि विकासको लागि भनेर वार्षिक रुपमा लगभग ५० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आइरहेका छौं । आलु र मकैको विउमा हामीले ५० प्रतिशत अनुदान पनि दिएका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको छ । हामीले युवाहरुलाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । हामीले ठाउँ तथा अवस्था अनुसार उनीहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएका छौं । यहाँ उद्योगधन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो । तपाईंको गाउँपालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । किसानहरुले खेती गर्छन् । बुढिगण्डकी जलविद्युत आयोजना बनिरहेको छ । तर कहिले बाट यसको काम सञ्चालन हुन्छ भन्ने चाहिँ अझै टुङ्गो छैन । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्यो भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? हामी विशेष गरेर खाद्य वस्तुको उत्पादनमा जोड दिने थियौं । हामीले कोल्ड स्टोर बनाउने योजना बनाएका छौं । किसानले उत्पादन गरेको आलु तथा विभिन्न तरकारीहरु भण्डारण गर्नका लागि ठुलो खालको कोल्ड स्टोर बनाउने योजना छ । जे होस्, गाउँपालिकाका जनतालाई आवश्यकीय दैनिक उपभोग्य वस्तुको उत्पादनमा हामी जोड दिन्छौं । तपाईंले आजसम्म गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? आफूले गर्छु भनी योजना बनाएका कतिपय काम गर्न बाँकी नै छन् । तरपनि आजका दिनसम्म आफूले गरेको कार्य प्रति म एकदम सन्तुष्टनै छु । पहिलेको हेरी अहिलेको अवस्थामा यहाँ निक्कै परिवर्तन आइसकेको छ । अब चाहेर पनि गर्न नसकेका कामहरु भने आगामी वर्षको बजेट बाट भएपनि पुरा चाहिँ गर्ने विचार छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । घरघरमा सडक पुर्याउने योजना छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकीलाई व्यवस्थित रुपमा सञ्चालन गराउने योजना पनि छ ।