थप दुई नगरसँग काठमाडाैं महानगरकाे भगिनी सम्बन्ध
काठमाडाैं । काठमाडौं महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका हुन् । सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनानुसार यसअघि कामपाले कर्णालीको चन्दननाथ, वाग्मतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ । मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको गरिएको कामपा प्रमुख शाक्यको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानूनी व्यवस्थाबमोजिम सङ्घीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका विषयमा कामपाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको हो । कामपाले भगिनी सम्बन्ध स्थापनासँगै नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ उद्यान निर्माण गर्न एक करोड ५० लाख सहयोग गर्ने भएको छ । त्यसैगरी अमरगढी नगरपालिकाको वडा नं २ र ५ मा अवस्थित अमरगढी उद्यान निर्माणका लागि एक करोड ५० लाख सहयोग गरेको छ । त्यसैगरी कामपाले अन्तर्राष्ट्रियतर्फ चीन, जापान, अमेरिका, बेलायतलगायत पाँच देशका १६ शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।
गोरखाको गण्डकी गाउँपालिकामा शुक्रबारदेखि कोभिशिल्डको दोस्रो डोज
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रूपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साउन २९ र ३० गतेसम्म कोभिशिल्डको दोस्रो डोज खाेज लगाउने जनाएकाे हो । गाउँपालिकाले ८ वटै स्वास्थ्यचौकीमा उक्त खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पुरा हुने गरी र खोप लगाउन आउने व्यक्तिले कोभिशिल्डको पहिलो मात्रा लगाएको एकिन गरी दोस्रो मात्रा दिने समेत सूचनामा उल्लेख छ । गाउँपालिकामा उक्त खोप बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ । भारतबाट पहिलो डोजको कोभिसिल्डको खोप आएपछि दोस्रो डोजको खोप नआएपछि आजबाट जिल्लाले दोस्रो डोजको रूपमा भुटान र जापानले दिएको एस्ट्राजेनेकाको खोप लगाउन थालेको हो । जापानले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको १६ लाख डोज एस्ट्राजेनेकाको खोप मध्ये आइतबारसम्म ८ लाख डोज नेपाल आइसकेको छ ।
बिरुवाका हाँगा भाँचे हजार, जथाभावी कार रोके १० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरले जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाच्नेलाई कारवाही स्वरुप जरिवाना गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०७८ जारी गर्दै कारवाही गर्ने भएको हो । महानगरले आर्थिक वर्ष २०७८/०७९ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनको लागि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आयय संकलनको प्रशासनिक व्यवस्था गर्न उक्त ऐन जारी गरेको हो । उक्त ऐन साउन १ गतेदेखि लागु भइसकेको छ । उक्त ऐन अनुसार महानगरले अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेको पाइएमा मोटरसाइकललाई १ हजार र तीन पाङग्रे सवारी साधनलाई २ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । यस्तै, १ हजार सीसीसम्मको सवारी साधनको २ हजार ५ सय, १ हजार सीसीदेखि १५०० सीसीसम्मका लागि ५ हजार, १५०० देखि २२०० सीसीसम्मका साधनका लागि ७ हजार र २२०० सीसीभन्दा माथिका सबै सवारी साधनलाई १० हजार जरिवाना गर्ने भएको छ । महानगरले रुख बिरुवाको हाँगा भाँच्ने वा काट्ने तथा फुल टिप्ने वा पात चुँड्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने भएको हो । सार्वजनिक सवारी साधन बिसौनी बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा र चालक तथा सहचालकले तोकिएको पोसाक नलगाएमा १००/१०० रुपैयाँ जरिवाना गर्नेछ । पिक एण्ड ड्रप पद्धति लागु भएका स्थानमा तोकिएको बाहेक सवारी साधनले यात्रु ओराल्ने वा चढाउने गरेमा ४ सय रुपैयाँ जरिवाना लिने उल्लेख गरिएको छ ।