गाउँपालिकामा अब चाँडै प्याराग्लाइडिङको व्यवसायिक उडान गर्नेछौं – अध्यक्ष राईसँगको अन्तर्वार्ता
प्रदेश १ अन्तर्गत खोटाङ जिल्लाको १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका पनि एक हो । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यो गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करिब ६७ दशमलव २ किलोमिटरको दूरीमा अवस्थित छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा यति वेला विकासको कामले तीव्ररूप लिएको छ । आफ्ना नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा पालिका लागिपरेको छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधीहरुवाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : स्थानीय सरकार बनेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएका विकास के–के हुन् ? हामी आउनु भन्दा पहिला त्यस्ता धेरै भौतिक संरचनाहरू पालिकामा थिएनन् । हाम्रो पालिकामा ७ ओटा वडा छन् । पहिलाको साबिक गाविस हुँदा केही सडकहरू निर्माण भएका थिए तथापि पनि यातायात सञ्चालन हुने अवस्था थिएन । हाल हामीले पालिकाकोप्रत्येक वडामा यातायात सञ्चालन हुन सक्नेसडक निर्माण गरेका छौं । जुन सडकहरू पक्की नभएर कच्ची छन् तर हिउँद र बर्खा दुवै समयमा यातायात सञ्चालन हुन्छ । हामी निर्वाचित भएर आउँदै गर्दा बस्ने एउटा ठाउँ थिएन, कहाँ काम गर्ने भन्ने परिस्थिति थियो । त्यस कारणले कार्यालको टुङ्गे नभएको, कोठाचौका समेत नभएको अवस्थाबाट पालिकाको विकास निर्माणको कामहरु अगाडि बढाएका थियौं । पालिकामा हामीले कार्यालय भवन निर्माणको कार्यबाट कामको सुरुवात गरेका थियौं । तर, हामीले स्थानीय तहको नेतृत्व समालेको करिव ४ वर्ष भएको छ ।यो बिचमा हामीले धेरै काम गरेका छौं । दीर्घकालीन महत्त्वको काम पनि धेरै सम्पन्न भइसकेका छन् । हामीले केही कामको सुरुवात गरेका छौं भने केही कामहरू सम्पन्न गर्ने चरणमा छौं । हामी आउँदै गर्दा हाम्रो पालिका अध्यारो थियो जहाँ बत्तिसमेत बलेको थियो तर हाल हामी सबै वडामा बिजुली पुर्याइ सकेका छौं । वडा नंं. ६ को केही भागमा बिजुली पुगेको छैन तर, यो वर्ष यस वडामा पनि केन्द्रीय प्रसारण लाइन पुर्याउने लक्ष्य राखेका छौं । हाम्रो पालिकामा खानेपानीको चरम अभाव थियो । तर, हाल हामीले खानेपानीको समस्यालाई पनि समाधान गरेका अवस्था छ । अब हाम्रो पालिकाका बासिन्दाहरू पानी पिउन नपाएर नै बसाइँ सर्नुपर्ने अवस्था छैन । हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष प्राथमिकता दिएर काम गरेका छौं । माध्यमिक विद्यालयहरू पालिकामा थिए तर, दरबन्दी थिएन। ती विद्यालयहरू हामीले दरबन्दी मिलाउने काम गरेका छौं । गुणस्तर शिक्षालाई विशेष जोड दिएका छौं । यसका साथै स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरेका छौं । पालिकाको प्रत्येक वडामा स्वास्थ्यचौकीको स्थापना गरेका छौं । गाउँ स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा दिएका छौं । गाउँपालिकाको प्रशासनिक भवन ५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ भने हाल उक्त भवन पनि सम्पन्न हुने चरणमा छ । ५ करोड ६२ लाख रुपैयाँको लागतमा साप्सु खोलामा मोटरेबल पुल निर्माण गरी सकेका छौं । हाम्रो पालिका प्राकृतिक नाकाबन्दीले घेरिएको छ । किनभने हाम्रो पालिकालाई एकातिरबाट दुध कोसी र अर्के तिर साप्सु खोलाले छेकेको छ । पर्यटन क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । १ सय ७६ मिटर अग्लो धिप्लुङ झरनालाई सौन्दर्यीकरण गर्ने काम गरिरहेका छौं । हाल हामीले झरनाको संरक्षण गरी पर्यटकलाई आकर्षण गर्नेतर्फ लागेका छौं । गत वर्ष हामीले २५ लाख रुपैयाँ खर्च गरी झरनाको केही भागलाई सौन्दर्यीकरण गरिसकेका थियौं । अहिले आन्तरिक तथा वाह्य पर्यटकहरू उक्त झरना हेर्नका लागि आउने गरेका छन् । हामीले वडा नं. ४ स्थित भूर्चूङ्गमा डाँडाबाट प्याराग्लाइडिङ परीक्षण उडान सम्पन्न गरिसकेका छौं । केही समयपछि पूर्वाञ्चल प्याराग्लाइडिङ कम्पनीको नामबाट व्यावसायिक रूपमा उडान हुने छ । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्वर जमिन भएको र आज भन्दा अगाडिदेखि नै हाम्रो गाउँपालिका सदरमुकामलाई पाल्ने पालिकाका रुपमा चर्चित छ । त्यसैले गाउँपालिकाकाले विशेष प्राथमिकताको साथ कृषि र पशुपालनको कार्यक्रमहरू अगाडि बढाएको छ । पालिकामा पशुपालनलाई व्यवसायीकरण गरेका छौं । कृषिको आधुनिकीकरण, विविधीकरण र व्यपारिकरणको कुरा पनि हामीले जोड दिएका छौं । यो एक वर्षमा पालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजना समेत राखेका छौं । पालिकामा सुन्तला, कागती, किवी, आँप आदिको पकेट क्षेत्र छुट्याईफलफूल खेतीतर्फकाम गरेका छौं । पालिकामा अलैँची पकेट क्षेत्र पनि छ । कृषि क्षेत्रको रूपान्तरण गर्न गाउँपालिका लागेको छ भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । पशुपालन र कृषि फार्महरूलाई अनुदान दिने र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको छ । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीय स्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउबिजन पनि वितरण गर्दै आएका छौं । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबाट हाम्रो पालिकापनि अछुतो रहन सकेन । यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि हामीले पनि गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौं । गत वर्षको कोभिडले पालिकामा धेरै ठुलो असर पुर्याएन । तर, दोस्रो लहरको कोभिडबाट पालिका पनि निकै प्रभावित बन्न पुग्यो । निषेधाज्ञा गर्नुभन्दा अगाडि नै उपत्यका र विभिन्न सहरलाई खाली गर्नुभन्ने निति लियो त्यो ३ दिनको अवधिमा सहर बस्ने नागरिक गाउँ भित्र अत्यधिक प्रवेश गरे ।हाम्रो नागरिकमात्र पालिका भित्र प्रवेश गर्दैगर्दा उनीहरूसँगै कोभिड पनि प्रवेश गर्याे । हाम्रो नागरिकहरूलाई सुरक्षित गर्नको लागि धेरै कामहरू गरेका छौं । पालिकामा हामीले अस्थायी कोभिड अस्पताल पनि निर्माण गरेका छौं भने स्वास्थ्यकर्मी पनि व्यवस्थापन गरेका छौं तर त्यसले मात्रा कोभिड नियन्त्रण हुँन सकेन । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टीन, आइसोलेसन व्यवस्थापन देखि नागरिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रमहरू गर्यौं । पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा पालिकामा हालसम्म २ सय ८४ जनामा संक्रमित पुष्टि भएको छ । पालिकामा हालसम्म ७ सय ७३ जनाको परीक्षण भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाबाट ३ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरू सहितको पर्चा छपाई आम जनताहरुलाई वितरण तथा माइकिङ मार्फत प्रचारप्रसार गर्ने काम गर्यौं । महामारीको नियन्त्रण गर्नको लागि हाम्रा सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू, राजनैतिक पार्टीका प्रतिनिधिहरू, सामाजिक अगुवाहरू खटिनु भएको थियो । तपाईंहरु निर्वाचित भएर आएको करिव ४ वर्ष पुरा भयो, चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् ? चुनावी बाचा लगभग पूरा भइसकेको छ । हामीले चूनावको बेला नागरिकलाई झुटो आश्वासन पनि देखाएका थिइनौं । हामीले गर्न सक्ने कामहरू जनतासँग बाचा गरेका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । हामीले घोषणापत्रमा समसामयिक विषयलाई धेरै जसो समेटेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । यस्तौ भन्दै गर्दा हामी र नागरिकले देखेको सपनाहरू सबै पुरा भए भन्ने होइन । हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ । तपाईंले जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नुभएको छ, यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता छन्, र संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ? स्थानीय सरकार नागरिकको घर आँगनको सरकार हो । स्थानीय सरकारका आफ्नै कथा ब्यथा पनि छन् । हामी नागरिकको सेवामा समर्पित भएर समाजसेवामा लागिसकेको मान्छेहरूका लागि सूवर्ण अवसर थियो । दृष्टिकोणको कुरा गर्दा संघीय सरकार प्रक्रियामा जाने प्रयत्न गरिरहेको देखिन्छ । तर, प्रदेश सरकारले चाहिँ स्थानीय सरकारलाई तहको रूपमा नस्विकारेको जस्तो देखिन्छ । किनभने प्रदेशले स्थानीय सरकारको समन्वय बेगर नै बजेट विनियोजन गरेको देखिन्छ । योजनामा कसरी खर्च हुन्छ र त्यो कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा अहिलेसम्म स्थानीय सरकारको प्रमुख भएर पनि मलाई थाहा छैन । हाम्रो पालिकामा पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको देख्छु तर कसरी कार्यान्वयन भयो भन्ने कुरा चाहिँ हामीलाई थाहा हुँदैन । त्यसकारणले प्रदेश सरकारले गरेको जुन प्रकारको गतिविधि छ त्यो चाहिँ अत्यन्तै दुःख लाग्दो छ । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ? स्थानीय नागरिकको माग कस्तो हुन्छ भन्ने कुरा होइन, आम नेपालको माग नै स्थानीय नागरिकको माग हो । कच्ची सडक भएको ठाउँमा पक्की सडक चाहिएको छ । पुल नभएको ठाउँमा पुल चाहिएको छ । काठमाडौंमा जन्मेको नागरिक र खोटाङमा जन्मेको नागरिकको समान अधिकार हुन्छ । तर, त्यस्तो छैन । खोटाङको नागरिक काठमाडौंका नागरिकसरह बाँच्न चाहन्छ तर त्यो अवसर यहाँ छैन । उनीहरु भन्छन् कि हामीले पनि काठमाडौंका नागरिक जस्तै बाँच्न पाउनु पर्छ । हाम्रो पनि काठमाडौंमा जस्तै सडक, अस्पताल, शिक्षा हुनुपर्छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ? अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनतको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं ।यस वर्ष म लगायत गाउँपालिकाले देश र जनताको सेवामा निस्स्वार्थ भावले सकारात्मक सोचका साथ कार्यसम्पादन गर्ने लक्ष्य लिएका छौं । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दा हामीले सुरुवात गरेका कामलाई निरन्तारता दिनका अलावा नयाँ सोच र नयाँ कामको थालनी गर्न लगाउने हो । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? रोजगारी सिर्जना गर्नको लागि हामीले यस्ता ठुलठुला काम गर्न सक्ने परिस्थितिमा छैनौं । पालिकामा विभिन्न युवा स्वारोजगारका कार्यक्रमहरू रहेको छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् भने हामीलृ पनि युवालाईकृषि क्षेत्रमा जोडिन पनि आग्रह गरेका छौं । वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरू र उनीहरूले बिदेशमा कमाएको पैसालाई सदुपयोग गर्नुहोस् भनेर गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सम्मान वा ताली मात्र दिने होइन, सरसल्लाह सूझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।
पाेखरा महानगरले हरेक वर्ष २ छात्रालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने
पाेखरा । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुईजना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ । महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । त्यसैगरि पोखरा महानगरपालिका–१९ ले यो वर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार वडाभित्र एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । पोखरा महानगरपालिका–३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नं ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए । शिक्षालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २२० जना सहभागी भइसकेका छन् । रासस
महानगरकाे वडा नं. १२ काे कार्यालय भवनको शिलान्यास, अपाङ्गमैत्री हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १२ कार्यालय भवनको शिलान्यास गरेको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा नगरप्रमुख विद्यासुन्दर शाक्यले आज सांस्कृतिक पूजा गर्दै उक्त भवनको शिलान्यास गरेका हुन् । वडा भवन निर्माणमा भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ अनुमान गरिएको थियो । तर, उक्त भवन निमार्ण भ्याटसहित ३ करोड २० लाख ५१ हजार ६ सय ७० रुपैयाँ हुने बताइएकाे छ । वडा कार्यालयको भवन जमिन तलासहित ६ तले निर्माण हुने भएको हो । पचली क्षेत्रमा भवन बनाउने योजना सार्दा ढिला भएकाे मेयर शाक्यले बताएका छन् । महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय भएकाे थियाे । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको पनि शाक्यले बताए । उक्त भवन अपाङ्गमैत्री हुने पनि शाक्यले बताए ।