२८ वर्षदेखिको बक्यौता असुल गर्दै कामपा, ४ कम्पनीले बुझाए एक करोड ५३ लाख
काठमाडौं । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ । गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश मात्र गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन् । सम्पर्कमा आएकामध्ये चारवटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा मंगलबारसम्ममा एक करोड ५३ लाख रुपैयाँ राजश्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर) ले एक करोड रुपैयाँ बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन दिएका छन् । वडा १४ को नेशनल हस्पिटलले २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा नं १३ को काठमाडौँ इञ्जीनियरिङ कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ । कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो । कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले जानकारी दिए । ४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ । “अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्”, प्रमुख डा अघिकारीले भने । समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ तर कामपाले विगतको दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको छ । यसो हुँदा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले ताकेता गर्न थालेको हो । धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रुपमा नै कर सङ्कलन गरिरहेको छ । सम्पर्कमा आउनेहरुले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेहरुलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ । सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा नं १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गासम्बन्धी विवरण नै बुझाएका छैनन् । घरजग्गासम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा नं १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा नं १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा नं ४ का देवेन्द्र श्रेष्ठ छन् । यसैगरी वडा नं २२ को आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ को काठमाडौँ प्लाजा, नेपाल शेयर मार्केट र वडा नं ३० को गोपालजी प्रपर्टिज प्रालि छन् । कामपाले यस वर्ष १० अर्ब २३ करोड रुपैयाँ असुल गर्ने लक्ष्य लिएको छ । गत असोज १ गतेदेखि कामपाले अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइन मा १६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ । रासस
अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्दै रामेछाप नगरपालिका
काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसले पालिकामा पनि बढ्दो रूप लिन थालेपछि पालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्न लागेकाे हाे । कोरोना भाइरस नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले साउन १७ देखि ३२ गते राति १२ बजेसम्मका रामेछाप जिल्लाभर निषेधाज्ञा गरिसकेकाे छ । साेही अनुरूप पालिकाले पनि सो अवधिभर अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन लगायतका अत्यावश्यक वाहेकका सबै सेवा बन्द हुने भएको छ ।
मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट
नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए । विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरुले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताए । अनलाइन भुक्तानी शुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ । विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगरउपप्रमुख ओमकुमारी महतोले बताइन् । आइतबारदेखि अनलाइन प्रणाली शुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत झण्झट विनै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ । विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने नगर उपप्रमुख महतोले बताइन् । नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आइटी शाखा प्रमुख नरेश गुरुङले बताए । अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरुङको भनाइ छ । करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरुङले बताए । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । अनलाइन प्रणाली शुरु गर्न करदाताले वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने गुरुङको भनाइ छ । रासस