चमतीमा वृद्ध विश्राम भवनसहित बन्याे पार्क
काठमाडौैं । चमती जग्गा एकिकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको एक रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण भएको हो । उक्त भवन र पार्कको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन् । पार्कलाई जेष्ठ नागरिकमैत्री बनाउन ठाउँठाउँमा देवी देवताका मूर्ति समेत राखिएको छ । पार्क निर्माण गर्न काठमाडौं महानगरपालिका, चमती जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौं क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठको संसद कोषको लागानि रहेको छ । यसका लागि चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको रकमको जम्मा गरेका छन् । उक्त स्थान काठमाडौं महानगरको वडा १५ क्षेत्रमा पर्छ । यस अघि आयोजना क्षेत्रका पार्क कसले निर्माण गर्ने भन्नेमा अन्यौल थियो । आयोजनाको काम ठिला भएको कारण स्थानीयबासीले करीव २० बर्षसम्म दुःख पाइररहेका थियो । उक्त स्थानको शिलान्यास गर्दै महानगर प्रमुख शाक्यले हालसम्म ७० वटा भन्दा धेरै पार्कहरु निर्माण भइरहेको बताएका छन् । संघीय संसदका सदस्य जीवनराम श्रेष्ठले भने सकिँदै गएको खुल्ला ठाउँ बचाउन आजैबाट प्रयत्न थालिनु पर्ने छ । स्थानीयको जग्गा योगदान पार्क निर्माणको सबल र सबैको संयुक्त प्रयासबाट एउटा देखाउन मिल्ने योजना सम्पन्न भयोको पनि संसद सदस्य श्रेष्ठले भने । चमति आयोजना सम्पन्न हुने चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आयोजना सञ्चालन अवधिमा स्थानीयबाट प्राप्त सहयोगको प्रशंशा समेत गरेका छन् । पूर्वाधारको काम सकिएपछि स्थानीयको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनका लागि काम गर्ने पनि प्रवक्ता डंगोलले बताए । निर्माण समितिका संरक्षक पूर्णकाजी ज्यापूले पार्क निर्माण भएपछि स्थानीय सामाजिक जीवनमा परिवर्तन आउने अपेक्षा राखेका छन् ।
प्रतिविद्यार्थी हजार रुपैयाँका दरले विद्यालयलाई खर्च अनुदान पठाएका छौं: अध्यक्ष दुलाल
शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । यस गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल हुन् । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरी रहेका छन् । क्रमशः यही हिसाबले पालिकामा १० वर्ष काम हुने हो भने देशकै उत्कृष्ट गाउँपालिका बन्ने पनि उनी दाबी गर्छन् । भौतिक पूर्वाधारको विकाससँगै गाउँवासीलाई आत्मानिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष दुलाल बताउँछन् । उनै अध्यक्ष दुलालसँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ र समग्र पालिकाका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, शैलुङ गाउँपालिकाको मुहार कत्तिको फेरियो त ? स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि गाउँपालिकामा धेरै कामहरू भएका छन् । हाम्रो पालिका हिजो दोलखा जिल्लाको नै सबै भन्दा दुर्गम क्षेत्र मानिन्थ्यो । बिस्तारै गाउँपालिकाको समग्र क्षेत्रमा प्रगति भएको छ । त्यसैले पहिलाको तुलनामा हाल पालिकाको मुहार धेरै नै फेरिएको छ । कुन कुन क्षेत्रमा के–के प्रगति भए नी ? हामीले पूर्वाधार निर्माणमा निकै महत्वपुर्ण काम गरेका छौं । हाल पालिकाले २ ओटा सडक निर्माणको कार्यलाई अगाडि बढाएको छ । एउटा सडक ठेक्का प्रक्रियाबाट निर्माण कार्य अगाडि बढेको छ भने अर्को सडक ठेक्का हुने क्रममा छ । ४ सय किलोमिटर कच्ची सडकको ट्र्याक यो बिचमा खुलाएका छौं । एक सय किलोमिटर सडक ग्राभेल गरी स्तरोन्नती गर्ने काम सम्पन्न भएको छ । यसरी नै पालिकाको प्रत्येक वडामा सडक सञ्जाल पुर्याउने प्रयास भएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । हामी निर्वाचित हुनुभन्दा अघि ६ ओटा मात्र स्वास्थ्य चौकी थिए । हामी निर्वाचित भएर आएपछि थप ६ ओटा अस्पतालको निर्माण गरेका छौं । पालिकामा हाल १२ ओटा स्वास्थ्यचौकी रहेका छन् । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने काम भएको छ । यो बिचमा हामीले कोभिड अस्पताल पनि निर्माण गर्यौं । पालिकामा १५ शैया बेडको अपताल निर्माण हुँदैछ । हाम्रो पालिकामा ३३ ओटा विद्यालयहरू छन् भने ९ ओटा मावि छन् । ती विद्यालयहरूमा शिक्षकहरूको व्यवस्थापन भएका थिएनन् । शिक्षक नभएका विद्यालयमा दरबन्दीको व्यवस्थापन गरेका छौं । गत वर्ष मात्रै हामीले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग जोडन एक करोड रुपैयाँ खर्च गर्यौं । २ माध्यमिक विद्यालयमा कृषि र इन्जिनियरको प्राविधिक कक्षा सञ्चालन गरेका छौं । नमुना विद्यालयहरू बनि रहेका छन् । हामीले प्राविलाई एक लाख, माविलाई ५ लाख रुपैयाँ आर्थिक अनुदान पनि वितरण गरेका छौं । यो वर्ष पनि प्रति विद्यार्थी एक हजार रुपैयाँका दरले विद्यालयलाई खर्च अनुदान पठाएका छौं । पालिकामा खानेपानीको चरम अभाव थियो । उक्त समस्याको समाधान गर्नको लागि हामीले ‘एक घर एक धारा’ खानेपानी आयोजना सञ्चालन गरी प्रत्येक नागरिकको घरमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं । हालसम्म ५ सय घरधुरीमा खानेपानी पुगि सकेको छ भने अरू निर्माणका प्रक्रियामा छन् । २ ओटा ठुला सिचाईंका कुलो बनेका छन् । हाम्रो पालिका पर्यटकीय हिसाबले पनि महत्वपुर्ण छ । पर्यटन क्षेत्रको विकासका लागि करोडौं रुपैयाँ खर्च गरेका छौं । गुम्बा, मठमन्दिर आदिको निर्माण भएका छन् । स्थानीय तह सञ्चालन ऐन तथा संविधान अनुसार जे जति काम गर्न सक्छौं ती क्षेत्रमा हामीले काम गरेका छौं । गाउँपालिका क्रमशः हिजो भन्दा आज निक्कै माथि उठिरहेको छ । शैलुङ दोलखाको सबैभन्दा तल्लो तहमा गनिन्थ्यो भने अहिले अरू पालिकाभन्दा माथि आउने स्थिति बनेको छ । अनि कृषि क्षेत्रमा कस्तो कामहरू भएका छन् नी ? हामीले कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरेका छौं । हाम्रो पालिकामा ८ ओटा वडा छन् । यी प्रत्येक वडामा कृषि र पशुपंक्षिका प्राविधिकहरुको व्यवस्थापन गरेका छौं । उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लगानीले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । कृषिलाई व्यावसायिकीकरण, आधुनिकिकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । उद्यमशीलता वृद्धि गर्न पशु र कृषिमा कृषकको आकर्षण बढाउने लक्ष्यका साथ गाउँपालिका अगाडी बढाएको छ । पालिकाले ५ ओटा कृषि संकलन केन्द्रको स्थापना गरेको छ भने ४ ओटा विउविजन भण्डारण केन्द्र समेत रहेको छ । हामीले ९ करोड रुपैयाँको लगानीमा कोल्ड स्टोरको निर्माण गरी रहेका छौं । पालिकाले झन्डै एक सय ओटा फार्मलाई आर्थिक सहयोग पनि गरेको छ । उक्त फार्महरूलाई ५ लाखदेखि एक लाख रुपैयाँसम्म नगद अनुदान दिएका छौं । कृषकलाई आर्थिक अनुदान पनि दिएका छौं । बिस्तारै पालिकामा उन्नत तरिकाले उत्पादनका कामहरू भइरहेका छन् । गाउँपालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि गर्दै आएका छौं । जस अन्तर्गत प्लास्टिकमा तरकारी खेती, व्यावसायिक किसानलाई तालिमहरू दिने, उहाँहरूलाई कृषिमा उत्प्रेरणा गर्ने र प्रोत्साहित समेत गर्दै आएका छौं । किसानहरूको माग अनुसार सेवा गरिरहेका छौं । यसरी नै कृषि क्षेत्रमा पनि पालिकाको तर्फबाट व्यापक काम भएको छ । भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारले झेल्नुपर्ने समस्या के–के हुन् ? समस्या के छ भने हिजो सर्वदलीय शक्ति थियो । सुरुसुरुमा विकास निर्माणको काम अगाडि बढाउन पनि अप्ठ्यारो अवस्था आए । मानिसहरुले विकासको काममा अवरोध गर्ने पनि खोज्छन्, सहयोग पनि गर्छन् । जुनसुकै योजना सम्पन्न हुने गरी बहु वर्षीय योजना हुन्छन् । ठुला र महत्त्वपूर्ण गौरवका आयोजना बिस्तारै गर्नुपर्ने हुन्छ । बहु वर्षीय योजनाका रूपमा अघि बढाउँदा एउटै निर्माण व्यवसायीबाट निर्माण गर्न सकिने हुनाले स्रोत सुनिश्चित हुन आवश्यक पनि छ । राम्रो काम गर्नको लागि कठिन छ । यद्यपि हामी जनप्रतिनिधि, कर्मचारी, नागरिक आदिको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाईरहेका छौं । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? पहिलो वर्ष कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि भनेर ६० लाख रुपैयाँ बराबरको कोभिड कोष स्थापना गरेका थियौं । उक्त कोष मार्फत् ४० लाख रुपैयाँ खर्च भएको थियो । यो वर्ष पनि हामीले एक करोड रुपैयाँ बराबरको कोभिड कोषको स्थापना गरेका छौं । गाउँपालिकाले उक्त कोषमार्फत नै दोस्रो लहर प्रकोप व्यवस्थापका लागि खर्च गर्दै आएको छ । कोभिडबाट संक्रमित भएका बिरामीहरूलाई पोषण भत्ता भनेर दिनको ५ सयका दरले ७ हजार रुपैयाँ दिएका छौं । हालसम्म पालिकाका २ सय नागरिकले कोभिड भत्ता भनेर ७ हजार रुपैयाँको दरले लिएका छन् । कोभिड दोस्रो लहर सुरु भएपछि भदौ मसान्तसम्म कोभिडबाट संक्रमित हुनेहरूलाई गाउँपालिकाले उक्त रकम उपलब्ध गराउने छ । घर शैलुङ गाउँपालिकामा भएका तर अन्य ठाउँमा बसोबास गरेकाहरूलाई पनि कोभिड पोजेटिभ भएको रिपोर्ट लिएर आएमा रकम उपलब्ध गराउने भनेका छौं । रकम लिनको लागि काठमाडौं अथवा अन्य ठाउँमा बसोबास गर्ने केही नागरिकहरू पनि आउनुभएको छ । कोभिडको दोस्रो लहर सुरु भएपछि पालिकामा २५ बेडको कोभिड अस्पताल पनि निर्माण भएको छ । उक्त अस्पतालको व्यवस्थापनका लागि केही खर्च भएको छ । यस वर्ष पालिकाको ५० देखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान छ । आगामी दिनका योजना कस्ता छन् ? हामीले हिजो जनतासँग घोषणापत्र लिएर निर्वाचनमा गएका थियौं । ती जनतासँग गरेका बाचाहरू पुरा गर्ने कोसिस गर्छौं । अब हामी धेरै नयाँ कामको सुरुवात गर्दैनौं । सुरु गरेका कामलाई सकेसम्म पुरा गर्नतर्फ लाग्छौं । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ । अनि चुनावी बाचा कति पुरा गर्नु भयो नी ? यो बिचमा हामीले पालिकामा धेरै कामहरू गरेका छौं । त्यस कारणले गर्दा गत वर्ष बागमती प्रदेशको उत्कृष्ट गाउँपालिका भनेर पुरस्कृत समेत भएका थियौं । हामीसँग भएको स्रोत र साधन उपयोग गरी पालिकामा विकासका कामहरू अगाडि बढाएका छौं । हामीले संघ र प्रदेश सरकारको अनुदानमा पालिकाको विकास कामहरू अगाडि बढाउनु पर्ने हुन्छ । पालिकामा ३० लाख रुपैयाँभन्दा बढि आन्तरिक आम्दानी हुँदैन । हामीसँग ढुङ्गा बालुवा, गिटि आदि जस्ता चिजहरू छैन । त्यस हिसाबले हाम्रो आन्तरिक स्रोत कम छ । स्रोत कम हुँदाहुँदै पनि भएको बजेटलाई अधिकतम सदुपयोग गर्ने कोसिस गरेका छौं । हामीले घोषणापत्रमा दीर्घकालीन योजना पनि समावेश गरेका थियौं । तत्कालीन गर्नुपर्ने कामहरू पुरा भएका छन् । मध्यकालीन कामहरू पनि पुरा हुँदै छन् भने दीर्घकालीन कामको पनि हामीले सुरुवात गरेका छौं । क्रमशः यही हिसाबले पालिकामा १० वर्ष काम हुने हो भने हाम्रो पालिका देशकै उत्कृष्ट गाउँपालिका बन्छ । प्रदेश र संघ सरकारसँगको सहकार्य कस्तो रह्यो ? प्रदेश र संघमा पनि स्रोतको तानातान छ । जहाँ मन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरूले बढि स्रोत लानुहुन्छ । यद्यपि उहाँहरूसँग समन्वय तथा सहकार्य गरी गाउँपालिकाका जनताको हितका लागि हामी लागेका छौं । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? पालिकामा ठुलाठुला कलकारखाना खोल्न सक्ने सम्भावना छैन । हामीले युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड दिइरहेका छौं । हाम्रो पालिकाको तर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । युवाहरूलाई व्यवसायिक कृषि तथा पशु र पर्यटन क्षेत्रमा जोडिन आग्रह गरेका छौं । युवाहरूलाई रोजगारीमूलक बनाउने कुरामा पनि उक्तिकै हाम्रो ध्यान गएको छ । अहिलेसम्मको काम गराईबाट सन्तुष्ट हुनुहुन्छ ? हामी त अहिलेसम्मको काम गराईबाट सन्तुष्ट नै छौं । सडक सञ्जाल, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपानी आदिका क्षेत्रमा गाउँपालिकाले निकै महत्वपुर्ण काम गरेको छ । यती हुँदा पनि जनताको इच्छा र आकंक्ष आवश्यकता धेरै छन् । हिजो केही हुँदैन भन्ने थियो आज हुने रहेछ भनेर जनताको माग र चाहना बढेका छन् । सकेसम्म जनताको मागलाई संवोधन गरी अगाडि बढेका छौं । स्रोत साधनाको भरपुर उपयोग गरी पालिकाको विकास निर्माण गरेका छौं । म मात्र नभई हाम्रो कामबाट पालिकाका नागरिकहरू पनि खुसी र सन्तुष्ट हुनुहुन्छ भन्ने आशा छ । अन्त्यमा, के भन्न चाहनु हुन्छ ? हामीले हाम्रो तर्फबाट स्रोत साधनले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेका छौं । यतिले मात्र पुगेको छैन । तर, म निराश नहुन लागि सबैलाई अनुरोध गर्न चाहन्छु । क्रमशः हाम्रा बाटोहरू बन्नेछन् । हाम्रो विद्यालय, स्वास्थ्य, कृषि आदि सबै क्षेत्र अझै राम्रो हुनेछन् । बिस्तारै सहरबाट गाउँ फर्केर गाउँमा नै बस्नसक्ने वातावरण बन्दैछ । त्यसको लागि धैर्य गर्न आग्रह गर्छु । सबैको सहयोगबाट गाउँको विकास गर्न सक्छौं । त्यसैले सहयोगको पनि अपिल गर्छु ।
विश्वकै उत्कृष्ट १० मा पर्याे चाँगुनारायण नगरपालिका
भक्तपुर । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए । ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उनको भनाइ छ । नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने यस कार्यक्रमको लागि पहिलो सहभागीसमेत हुन् । नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीकोे क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेकाे नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्मको कारण यो उपाधि हासिल गरेको उनले जानकारी दिए । चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन् । ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी छ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ । कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्युयोर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत गरिएको नपाका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए । नेपालजस्तो विकासोन्मुख राष्ट्रको एउटा चाँगुनारायण नगरपालिकाले खुला तथ्याङ्क प्रविधिको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा उत्साहित बनाएको ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नी स्हमोकरले बताएकाे उनले जानकारी दिए । सूचना प्रविधि अधिकृत न्यौपानेले भने, ‘माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिइन्ट, एनवाइयु सियुएसपी, द पब्लिक सेक्टर नेटवर्कजस्ता विश्व विख्यात कम्पनीद्वारा सञ्चालित कार्यक्रम हो, यो ।’ ओपन सिटी इन्क्युबेटर विश्वभरका सहरबाट उत्कृष्ट डाटा आविष्कार सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण कार्यक्रम भएको उनको भनाइ छ । उनका अनुसार यस कार्यक्रममा छनोट हुने सहरका १० अधिकारी एवं सल्लाहकारलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारको लागि पहुँचको उपयोग गर्ने, विभिन्न सहरी चुनौतीको सामना गर्न, अत्याधुनिक काममा सक्षम बनाउनेछ र अधिकारीलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणाली विकास गर्न सशक्त बनाउने छ । रासस