भीमदत्त नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने
महेन्द्रनगर । नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ । नगरपालिकाले करदाता पोर्टल सञ्चालनमा ल्याएको हो । नगरपालिकाका सूचना अधिकृत सुरेशप्रसाद भट्टले अनलाइनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरी पोर्टल सञ्चालन गरिएको जानकारी दिए । ‘भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन्’, सूचना अधिकृत भट्टले भने,’साथै करदाताले व्यक्तिगत, सम्पत्ति, कर तिर्नुपर्ने तथा कर तिरेकोलगायतको विवरण कर अनलाइन पोर्टलमा हेर्नसमेत सक्ने सुविधा थपिएको छ ।’ सफ्टवेयरमा करदाताको रुपमा दर्ता भएपछि निजको आधिकारिक आठ अङ्कको करदाता सङ्केत नम्बर प्राप्त हुन्छ । त्यसपछि कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखी प्रयोगकर्ता दर्ता गरी आफ्नो विवरण हेर्नुका साथै कर भुक्तानी गर्नसक्ने नगरपालिकाले जनाएको छ । अनलाइन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षमा रु २३ करोड ३१ लाख ७२ हजार ७०० आन्तरिक आय (राजस्व) सङ्कलन गरेको छ । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि यहाँ राजस्व सङ्कलनको दायरा बढ्दै गइरहेको छ । नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवन धमाधम निर्माण गरेपछि सेवाग्राहीलाई सहज भएको छ । नगरपालिकाले जैविक, शुक्लाफाँटा पर्यटन मार्गलगायतका आफ्नै लगानीमा सडक निर्माण गरेपछि ग्रामीण स्तरसम्म यसको सञ्जाल विस्तार गरेको छ । रासस
कृषकलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउँदै आएका छौं – अध्यक्ष ओली
कर्णाली प्रदेश अन्तर्गतको दैलेख जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो गुराँस गाउँपालिका । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यो गाउँपालिका कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ किलोमिटरको दुरीमा रहेको छ । यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृश्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उद्देश्यले वर्षेनी हजारौं आन्तरिक र बाहेक पर्यटनहरू आउने गर्दछन् । यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुबाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : स्थानीय सरकार बनेपछि गुराँस गाउँपालिकामा भएका विकास के–के हुन् ? विगतका दिनमा गुराँस गाउँपालिका समस्या नै समस्याको बिचमा थियो । यहाँ पूर्वाधार विकास भएको थिएन, दुर्गम बस्तीहरू धेरै थिए भने कुनै पनि ठाउँमा सडक पुगेको थिएन । गाउँपालिकामा हाम्रो उपस्थितिपछि हामीले विशेष प्राथमिकताका साथ पूर्वाधार विकासमा जोड दियौं । ‘गुणस्तरीय शिक्षा, जनताको पहुँचमा स्वास्थ्य, व्यावसायिक कृषि, व्यावसायिक पर्यटन र दिगो पूर्वाधार’ गुराँस संवृद्धको ५ आधार भन्ने हाम्रो नारा छ । त्यही नारालाई अवलम्वन गरी पालिकाको विकास निर्माणको कामहरू गरेका छौं । पालिकामा पहिला १ सय ९१ किलोमिटर मात्र सडक थियो हाल पालिकामा ३ सय ६० किलोमिटर सडक निर्माण भएको छ । उक्त किलोमिटरको सडक निर्माण गरी प्रत्येक वडाको टोल टोलमा सडक पुर्याएका छौं । पालिकामा हाल १ सय १० ओटा सडकहरू सञ्चालनमा छन् । पालिका जम्मा ५ प्रतिशत वाहेक अन्य नागरिकहरुले बत्ती बाल्ने अवसर पाएका थिएनन् । अब आउने दशैसम्म प्रत्यके नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्यमा छौं । हामी निर्वाचित भएर आइसकेपछि यो ४ वर्षको बिचमा २५ ओटा विद्यालयका भवनहरू निर्माण गरेका छौं । सबै विद्यालयहरूमा बसाई व्यवस्थापन र विद्यालयको पहिचान युक्त भवनहरू निर्माण भएका छन् । माध्यमिक विद्यालयहरू पालिकामा थिए तर दरबन्दी थिएन । ती विद्यालयहरू हामीले ४० दरबन्दी मिलाउने काम गरेका छौं भने हाल सबै विद्यालयमा आवश्यकिय दरबन्दीको व्यवस्थापन भएको छ । पालिकाको वडा नं. १, २ र ८ मा स्वास्थ्य संस्थाहरु थिएनन् । उक्त वडामा पनि स्वास्थ्य संस्थाको निर्माण गरी सेवा प्रवाह गरेका छौं । दुर्गम वस्ति स्वास्थ्य संस्था भनेर वडा नं. ५ पनि स्वास्थ्य सेवाको स्थापना गरेका छौं । गाउँपालिकामा वडागत स्वास्थ्य संस्था थिएनन् भने अस्पतालको त कल्पना नै थिएन । हाल वडा नं. ४ को रति खोलकामा अस्पताल निर्माणको काम सुरुवात हुँदै छ । उक्त भवन निर्माणको लागि २२ करोड रुपैयाँमा टेन्डर भएको छ । वडा नं. ५ को रानी घट्टामा २० शैयाको अस्पताल निर्माण भइसेवा पनि सुरु भइसकेको छ । तपाईंको पालिकामा संक्रमणको अवस्था कस्तो छ, कोभिड रोकथाम तथा न्यूनीकरणका लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू गरिरहनुभएको छ ? कोभिड एउटा चुनौतीको विषय हो । कोभिडका कारणले धेरै समस्या पनि आयो । समस्या सँगसँगै अवसरको पनि सुरुवात भयो । कोभिड नआएको भए पालिकामा २ ओटा अस्पताल निर्माणको काम एकै पटक सुरुवात गर्ने थिएनौं होला । हाम्रो पालिकाको ५ जना नागरिकलाई कोभिडका कारण गुमाएका छौं । हालसम्म २ सय ८९ जनामा संक्रमणको पुष्टि भएको छ । कतैकतै अझै पनि फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी नै छ । तर, पछिल्लो समयमा पालिकामा संक्रमणको अवस्था सामान्य नै छ । धेरै संक्रमित भएका नागरिकहरू निको हुनुभएको छ । अझै पनि पालिकामा कोभिडको रोकथाम र नियन्त्रणको लागि हाम्रो सम्पूर्ण प्रयास जारी छ । अहिले पनि पालिका सम्पूर्ण स्वास्थ्य संस्थालाई क्रियाशील रूपमा राखेका छौं । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न अन्य पहाडी र हिमाली जिल्लाहरूमा जानको लागि मुलद्धारको रूपमा रहेको गुराँस गाउँपालिका कृषि, पशुपंक्षि, वन, जडीबुटी, तथा साना अन्य उद्योगहरूको लागि उपयुक्त स्थान रहेको छ । हाम्रो गाउँपालिकाको मुख्य आय आर्जनको सम्भावना भएको क्षेत्र कृषि नै हो । यहाँका धेरै नागरिकहरूले पनि कृषि पेसा नै अँगालेका छन् । कृषिका अनेक समस्या र चुनौती रहेको सन्दर्भमा ती चुनौतीको समाधान गरी कृषिको व्यवसायीकरण र दिगो कृषि विकासको योजना बनाई पालिकाले कृषि विकासको रणनीति र कृषि क्रान्तिको कार्यक्रम अगाडि बढाएका छौं । त्यसैका आधारमा कृषि प्रोत्साहन कार्यक्रम अन्तर्गत कृषकलाई ५० हजार देखि एक लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम हामीले ल्याएका छौं । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । अध्यक्ष स्वरोजगार कार्यक्रम अन्तर्गत किसानहरूको क्षमता विकास र कृषिका विभिन्न तालिम पनि दिँदै आएका छौं । परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी ठानेर कृषिका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । गाउँपालिकाले गरिब किसानको लागि बाख्रा तथा कुखुरा आदि अनुदानमा वितरण गर्दै पनि आएको छ । त्यति मात्र नभई गाउँपालिकाकाले किसानका ठुला व्यवसायिहरुसँगको साझेदारीमा विभिन्न व्यवसाय कृषिका कामहरू पनि सञ्चालन गरेको छ । औधोगिककरणको गति मन्द रहेकोले यहाँको कृषि तथा पशु व्यवसाय नै आर्थिक विकासको मुख्य आधार क्षेत्र हो । व्यावसायिक कृषिमा किसानहरूलाई अगाडि बढाउनको लागि तरकारी, आलु, फलफूल, बाख्रापालन, गाईपालन आदिको पकेट क्षेत्र पनि छुट्याएका छौं । कृषिलाई आधुनिकिकरण गर्ने र व्यावसायिकीकरण गर्ने प्रयास हाम्रो जारी छ । गाउँपालिकामा पूर्वाधार निर्माणको लागि प्रदेश र संघ सरकारसँग कस्तो सहकार्य भइरहेको छ ? विकासको खाका एकद्वार प्रणालीबाट आउन सकेन । प्रदेश र संघ सरकार आ–आफ्नै तरिकाले अगाडि बढ्ने र स्थानीय तहसँग पर्याप्त समन्वय साझेदारी नगर्नाले योजना वितरण लगायतमा थुप्रै समस्याहरू आए । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? हामी निर्वाचित भएर आएको पनि चार वर्ष भइसकेको छ । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका सम्पूर्ण कामहरु सकिसकेका छौं भने पालिकामा थप कामहरू गरेको पनि अनुभूति गरेका छौं । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । त्यो अनुसार काम पनि भएको छ भने चुनावी बाचा पनि पुरा गरिसकेका छौं । कार्यकालको अन्तिममा पनि हुनु हुन्छ, आगामी योजनाहरू के–के छन् ? अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । त्यो अनुसार पनि काम भएको छ । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । पालिकाको संवृद्ध नै हाम्रो अन्तिम लक्ष्य हो । युवा स्वरोजगार गाउँपालिकाले कसरी गरिरहेको छ ? गाउँपालिकामा २०७४ सालमा नै पहिलो पटक बेरोजगार युवाहरूको संभेलन गर्यौं । देश भरका स्थानीय तह मध्ये बेरोजगार युवाहरूको संभेलन गर्ने पहिलो पालिका नै हाम्रो हो । हामीले त्यतिखेर २८ सय ३१ जना बेरोजगार युवाहरूको सूचि संकलन गरेका थियौं । यी बेरोजगार युवाहरूलाई रोजगार वा स्वरोजगारेको पाटोमा आवद्ध गर्ने र उनीहरूको सिप विकास गर्ने हाम्रो योजना थियो । उक्त कार्यक्रम अन्तर्गत १ सय ५३ युवाहरूलाई गुराँस स्वरोजगार कार्यदलको रूपमा विकास निर्माणको कामहरूमा लगाएका छौं । यो ४ वर्षको बिचमा पालिकाको तर्फबाट ३ हजार भन्दा बढि व्यक्तिहरूले रोजगार पाएका छन् । पालिकाका १ सय भन्दा बढि युवाहरूलाई सिप मूलक तालिम पनि दिएका छौं । रोजगारी सिर्जना गर्नको लागि पालिकाको तर्फबाट ३ ओटा पाटोहरू छुट्याएका छौं । जस्तै, रोजगार आफै उपलब्ध गराउने, स्वरोजगारमा पालिकाले समर्थन गर्ने, युवाको सिप विकास गरी उनीहरूलाई रोजगारी बनाउने भनिएको छ । गुराँस गाउँपालिका एउटा सन्देश मूलक पालिका पनि हो । युवा लक्षित गर्दै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । उक्त कार्यक्रम अन्तर्गत पहिलो वर्ष २ सय र दोस्रो वर्ष ३ सय युवाहरुले रोजगार पाएका छन् । यो वर्ष पनि ३ सय जना युवालाई एक सय दिने कार्यक्रम आवद्ध गर्नका लागि रकम पालिकामा आएको छ । हाम्रो पालिकाकोतर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । युवालाई उद्यमशील विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । कतिपय युवाहरूलाई भने विकास निर्माणको काममा लगाएका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? हामीले पालिकामा केही नविनतम कामहरू गरेका छौं । हाम्रो गाउँपालिकाले गरेको कामबाट देशभरका स्थानीय तहले सिक्नु पर्छ जस्तो लाग्छ । अन्य पालिकाले पनि केही राम्रो काम गरेका छन् भने त्यो काम पनि हामीले सिक्न जरुरी छ । हामीले हाम्रो पालिकाको तर्फबाट गरेको नविनतम कामहरूमध्ये ‘जीवन सुरक्षा’ कार्यक्रम एक हो । यही कार्यक्रम अन्तर्गत २०७४ सालभन्दा पछि गुराँस गाउँपालिकामा जन्मिएर २० वर्ष उमेर पुगेकाहरूलाई १ लाख ५० हजार रुपैयाँसम्म दिने व्यवस्था गरेका छौं । पालिकामा जोखिम बालबालिका कार्यक्रम पनि रहेको छ । उक्त कार्यक्रमअन्तर्गत आमाबुबा नभएका बालबालिकालाई पनि पालिकाले समर्थन गर्ने र स्थिर पुँजीको रुपमा उनीहरुलाई विकास गरिदिएका छौं । गाउँपालिकाले ५० प्रतिशत छुट्मा एम्बुलेन्स सेवा उपलब्ध गराएका छ । राउटे समुदायको संरक्षण र राउटेलाई स्थानीय नागरिकको रूपमा विकास गर्न पालिकाले उनीहलाई जन्मदर्ताको रूपमा परिचय पत्र उपल्बध गराएको छ । पालिकामा ‘मेरी छोरी जीवन भरी’ भन्ने कार्यक्रम पनि सञ्चालन भएको छ । दुईभन्दा बढि बच्चा नजन्माउन अभिभावकलाई प्रोत्साहन पनि गर्दै आएका छौं । त्यसैगरी, पालिकामा असल बुहारी प्रोत्साहन कार्यक्रमको सुरुवात भएको छ । गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । डाक्टर, इन्जिनियर जस्ता प्राविधिक धारमा अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको छ । यस्ता थुप्रै नयाँ कामको सुरुवात पालिकामा भएका छन् । यसको संरक्षण तथा उपयोग गर्ने काम नागरिकहरूको हो । पालिकाले ल्याएका कार्यक्रमहरूको संरक्षण सदुपयोग गर्न म नागरिकहरूलाई अनुरोध गर्छु । पालिकाले गरेका यी नयाँ कामहरू अन्य ठाउँमा पनि प्रचार गरिदिनुहोस् भन्ने मेरो आग्रह छ ।
कीर्तिपुरमा मास्क बिना प्रवेश निषेध अभियान सुरु
काठमाडाैं । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो । आईतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान संचालनमा ल्याइएको बताए । त्यसका लागि मास्क उपलब्ध गराउन नगरपालिकाले ‘मास्क बैंक’को पनि स्थापना गरेकाे छ । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए । ‘कीतिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौं । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरुमा, कार्यस्थलहरुमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौं,’ उनले भने कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौं कीपूलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।