महानगरले ७० करोडको लागतमा ८ तले प्रशासनिक भवन बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गरे । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवन भित्र नेवारी शैलीको चोकहरु रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन÷कर्मचारी÷आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भ¥याङ रहने महानगरले जानकारी दिएको छ । भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रिय भवनको शिलान्यास गरेको बताए । महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन बिभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको शाक्यको भनाई छ । ‘आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो, उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन्,’ मेयर शाक्यले भने । हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति शाक्यले गुनासो गरे । राम्रो कामको सुरुवात गर्न समयसिमा नुहने भन्दै आफ्नै कार्यकालमा सिलान्यास हुँदा खुशी लागेको उनको भनाई छ । ‘रुख रोप्नु ठूलो कुरा हो, यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन, त्यसैले हामीले रुख रोपेका हौं, रुखको फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन,’ उनले थपे । महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको शाक्यकको भनाई थियो । महानगरको केन्द्रिय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए । महानगरपालिकाको केन्द्रिय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।
४ करोड लागतमा साहित्यकार भवन बनाउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । आईतबार महानगरका प्रमुुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्दै साहित्यकारका लागि आवासीय सुविधासहितको भवन निर्माण गरिने बताएका हुन । भवन शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताए । ‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो । ननुहाई हुँदै हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । कोभिडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नु प¥यो । नत्र काठमाडौँ अर्कै भइसक्ने थियो ।’ हामीले पैसा हेरेर विकास योजना बनाएका छैनौँ । योजना तर्जुमा गरेर त्यसअनुसारको पैसा छुट्याएका छौँ । पैसा जति छ त्यतिको योजना बनाउँदा जनताका आवश्यकता पूरा हुँदैनन् । प्रमुख शाक्यले, मूर्त अमूर्त सम्पदाको ममर्त सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौँ बस्न र हेर्न लायक सहर बन्दै गएको बताए । योजनाहरु शिलान्यास हुने तर उद्घाटन गर्न नपाइने उदाहरुण सुनाउँदै सांसद कृष्ण राईले साहित्य सदनको भवन समयमा निर्माण सम्पन्न हुने अपेक्षा व्यक्त गरे । जुन प्रयोजनका लागि भवन निर्माण हुने हो, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्ने बताउँदै उनले कुनै पनि कारणले काम रोकिनु नहुनेमा जोड दिए । महानगरका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार साहित्यकार भवन भूमिगतसहित भवन ५ तलाको हुनेछ । साहित्य सदन रहेको भवन परिसरको कि. नं. ११५ को २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण हुनेछ । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ । जमिन र पहिलो तला कार्यालय प्रयोजन, दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । त्यस्तै ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष पनि हुनेछ । इञ्जिनियर श्रेष्ठकाअनुसार भवनको भूमिगत, जमिन र पहिलो तला २ हजार ४० दशमलव ५३ बर्गफुटका हुनेछन् । दोस्रो तला २ हजार १२४ दशमलव ५६ बर्गफुट र तेस्रो तला १ हजार ६८७ दशमलव ४९ वर्गफुटको हुनेछ । भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुटको हुनेछ । भवनमा ६ जना अट्ने लिफ्ट जडान हुनेछ । भवन अपाङ्गतामैत्री र जेष्ठनागरिक मैत्री हुनेछ । आउँदा बर्षको भदौ मसान्तभित्र (१२ महिनामा) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको भवनको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ रहेको छ । यसको निर्माण सुनकोशी प्रजिल जे. भी. ले गर्दैछ ।
सोचे जस्तो काम नबन्दा असफल भइयो कि भन्ने महशुस हुन्छः अध्यक्ष गुरुङ
धार्चे गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा पर्छ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै भौगोलिक तथा सांस्कृतिक रूपमा पनि विविधतायुक्त छ । यो गाउँपालिकाका अध्यक्ष हुन् सन्त बहादुर गुरूङ । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ । उक्त अवधिभर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना अगाडि बढाइरहेको उनी बताउँछन् । तर, उनको योजना अनुसारको काम नभएको कारण उनी आफैदेखि असन्तुष्ट छन् । उनै गुरूङसँग जनप्रतिनिधिका रूपमा चार वर्षसम्म काम गर्दाको अनुभव, सामाजिक रूपान्तरण, विकास निर्माण गतिविधि, पालिकाको आर्थिक विकासको रणनीति, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकाको अध्यक्ष भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ? हामी निर्वाचित हुँदै गर्दा घोषणा पत्र अनुसार मतदातालाई पाँच वर्षभित्र यो-यो काम गर्न सक्छौं भनेर विश्वास दिलाएका थियौं । जनतामाझ भोट माग्न जाँदा घोषणापत्र लिएर गाएका थियौं । गाउँपालिका आवश्यकता र समसामयिक विषयहरूलाई घोषणापत्रमा उल्लेख गरेका थियौं । हाम्रो घोषणापत्र रुचाएर जनताले गाउँपालिको विकास र समृद्ध बनाउने जिम्मा दिनुभयो । निर्वाचित पश्चात् हामीले पालिकामा विकाको गतिलाई तीव्रता दियौं । समस्या नै समस्याको बिचबाट हामीले विकास निर्माण, भौतिक संरचना तथा नागरिकका आवश्यकतालाई सम्वोधन गर्दै अगाडि बढ्यौं । हामीले जुन लक्ष्य तथा योजना लिएर अगाडि बढेका थियौं, त्यो काम बन्न नसक्दा अलि असन्तुष्ट छु । कोभिड-१९, बाढी-पहिरो लगायका प्राकृतिक विपद जस्ता कारणले हाम्रो योजना अनुरुपका काम गर्न सकेनौं । संघ र प्रदेश सरकारको कार्यविधि समयमा नै उपलब्ध नभएको र उपलब्ध भएको प्रतिवेदन स्पष्ट नभएको कारण अन्योल सिर्जना भयो । हाम्रो पालिका दुर्गम भएको कारणले गर्दा दक्ष कर्मचारी आउन नचाहने, आएको कर्मचारी समयावधि भर नबस्ने जस्ता कारणले पनि सोचेको जस्तो काम हनु सकेको छैन । चुनावी बाचा कति पुरा गर्नु भयो ? चुनावी बाचा लगभग पुरा भयो । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने भनेका थियौं । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्छौं भनेका थियौं । हामीले भोट माग्न जाँदा सबै वडाको बिचमा गाउँपालिकाको प्रशासनिक भवनको निर्माण गर्छौं भनेका थियौं । केही समय भवन निर्माणको लागि जग्गा नभएको र केही विवादको कारण निर्माण कार्य अन्योलमा थियो । हाल गाउँपालिकाको प्रशासनिक भवन पनि निर्माणको क्रममा छ । उक्त भवन ८ करोड रुपैयाँको लगानीमा निर्माण हुँदै छ । केही काम वाहेक हामीले चुनावमा गरेका प्रतिबद्धता पुरा गरेका छौं । तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के-के हुन् ? हामी निर्वाचित भएपछि गाउँपालिकाको धेरै कुराहरूमा उपलब्धि भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको छ । निर्वाचित भएपछिको पहिलो गाउँसभाबाट नै पालिकालाई लोडसेडिङ मुक्त बनाउने निर्णय गरेका थियौं । हाल पालिकामा ११ मेगावाटको जलविद्युतको आयोजना निर्माणाधीन अवस्थामा छ । यसलाई हामीले रेमिट हाइड्रोपावरको नामबाट नामकरण गरेका छौं । उक्त आयोजनाको निर्माण कार्य हाम्रो कार्यकालको अन्तसम्ममा सम्पन्न हुनेछ । यस आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइन जडान गरिनेछ । पालिकाको ३ ठाउँमा हाइड्रोपावरको काम द्रुत गतिमा अगाडि बढि रहेको छ । बाढी पहिरोका कारण जलविद्युतका आयोजनामा समस्या देखिएको छ । पालिकाको ४ ओटा वडामा बिजुलीको लाइन बिस्तार भइसकेको छ । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिका प्रत्येक नागरिक घरमा बिजुली पुर्याउने लक्ष्यका साथ अगाडि बढेका छौं । पालिकाको ७ वटै वडामा इन्टरनेट जडान गरेका छौं । केही ठाउँमा इन्टरनेट जडान गर्ने काम भइरहेको रहेको छ । हामीले गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडासम्म सडक सञ्जाल पुर्याउछौं भनेका थियौं । वडा नं. एक वाहेक अन्य सबै वडाको केन्द्रसम्म सडक सञ्जाल पुर्याएका छौं । सडक पुग्न बाँकी रहेको १ नं. वडामा पनि यस वर्ष सडक पुर्याउने लक्ष्य राखेका छौं । हाम्रो साजा शत्रु भनेको गरिबी हो । गरिबीलाई न्यूनीकरण गर्ने र स्वावलम्बी बन्नको लागि युवा लक्षित चुनौती कोषहरू खडा गरी व्यवसायी सञ्जाल पनि बनाएका छौं । पर्यटकीय हिसाबले हाम्रो पालिका निकै महत्वपुर्ण छ । हामीले पर्यटनलाई गाउँपालिकाको समृद्धको मूल आधार मानेका छौं । पर्यटन क्षेत्रको पूर्वाधारका कामहरू पनि भएका छन् । स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ? स्वास्थ्यको सवालमा हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । १५ शैयाको अस्पताल निर्माण गर्दैछौं । नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याएका छौं । स्वास्थ्य संस्थाको सुदृढिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । २ वटा वडा वाहेक पालिकाको प्रत्यके वडामा प्रजनन् केन्द्र समेत रहेका छन् । पालिकाले गर्भवती महिलाहरूलाई पनि सहयोग गर्दै आएको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई पनि सक्रिय अवस्थामा राखेका छौं । गर्भवती महिलाहरूको अवस्थाबारे बुझेको लागि स्वयम् सेविकाहरूलाई ३ महिनामा ५ सय रुपैयाँ रिर्चाज कार्ड पनि उपलब्ध गराएका छौं । हामीले प्लस टु का कक्षाहरू पनि सञ्चालन गरेका छौं । पालिकामा नै ३ वर्षे बन विज्ञानका कक्षा सञ्चालन गर्नको लागि अनुमति लिएका छौं । शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थायी दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले शैक्षिक गुणस्तरलाई विशेष जोड दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्ता रह्यो ? प्रत्येक वडामा एकएक ओटा गौरवशाली आयोजना सम्पन्न गर्ने योजना बनाएका थियौं । त्यो योजनाअनुसार काम गर्न सकेनौं । बजेट थोरै हुन्छ जनकाङक्षा धेरै हन्छ । स–साना विकासका काम त धेरै भएका छन् । तर, सा–सानो कामको नतिजा चाहिँ नदेखिने कारणले गर्दा हाम्रो नेतृत्व असफल रहेको हो कि भने कुराको महशुष गरेका छौं । आगामी दिनका योजना कस्ता छन् ? हामीले सञ्चालन गरेका तर पुरा नभएका अधुरा योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । कृषिलाई व्यवसायीकरण गर्ने सोच बनाएका छौं । सडक धेरै निर्माण नगर्ने भएका सडकलाई स्तारोन्नती गर्ने योजना बनाएका छौं । पर्यटन गाउँपालिका बनाउको लागि भौतिक पूर्वाधार जस्तै संग्राहलय पदमार्ग, बनाउने योजनामा छौं । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ । अन्त्यमा, के भन्न चाहनु हुन्छ ? कोभिडका कारणले हामीले सोचेको जस्तो काम गर्ने सकेनौं । सदैव कोभिड–१९ नहुन सक्छ । अब हामीले आर्थिक क्रान्तीको रूपमा अगाडि बढ्नु पर्छ । राज्यको नेतृत्व र जनताको बुझाई एक ठाउँमा भयो भने विकासले अपेक्षाकृत फड्को मार्न सक्छ । त्यसैले जनता र सरकार एक ठाउँमा भएर विकासको गतिलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नु हुन हार्दिक अनुरोध गर्छु ।