भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार रेणु र चित्रसेन विजयी

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेणु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् । विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मनुभएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिइन् । हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छिन् । यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहेकी थिइन् । भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरे । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । विसं २०२४ मा जन्मनुभएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो । विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बनेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए । विसं २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि विसं २०६२÷६३ मा सक्रिय सहभागिता जना एकानेता अधिकारी विसं २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत  भएका थिए । यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।

काठमाडौंमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा ९एमाले०का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित भएका छन् । काठमाडौंमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । कांग्रेस कागेश्वरीमनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा जितेको छ । एमाले टोखा र बूढानीलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । काठमाडौं महानगरपालिकाको भने मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता लिएकी छिन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार साहलाई कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितले पछाइरहेका छन् ।

के धरानवासीको हर्ष बन्लान् त हर्क ?

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका छन् । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे । यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)की मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उहनी प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए । एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन् । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए । को हुन हर्क साम्पाङ ? हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लागे । अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो । सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए । यस विषयमा विस्तारै अन्यले पनि साथ दिँदै गए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे । ‘सतिसाल’झँ’ नागरिकका सानातिना समस्यामा उनी आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् । जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन् । ‘यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गरे । उनीहरुप्रति धेरै कृतज्ञ छु’, नवनिर्वाचित साम्पाङले भने । विसं २०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उहाँ तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ । उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन् । ‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ’, उनले भने । अभियन्ता साम्पाङ धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् । उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिनु भई सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ । ‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो’, मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् । धरानमा विसं २०७६ पछि एमाले पछि प¥र्यो वामपन्थी गढका रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा (एमाले)का लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काए । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् । ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहनुभएको थियो, हर्क साम्पाङले जीत हासिल गरे । धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो । विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका निर्वाचानमा समेत एमालेले विजयी हासिल गर्दै आएका थिए । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जीत हासिल गरेका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे । विसं २०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७०९ मत प्राप्त गर्नुभयो भने प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गरेका छन् । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् ।