इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
इनरुवा। सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएका छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता
चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छिन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् । उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेका छन् । भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
स्थानीय सरकारको पहिलो निर्णय : स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
तम्घास । गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । बीमामा छुट र सुत्केरीलाई यातायात खर्च चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आर्थिक विपन्नताकै कारणले नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छुट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिनुभयो । चन्द्रकोटले पालिकामै प्रसूति हुन नसक्ने गम्भीर प्रकारका बिरामीलाई पालिका बाहिर लैजानुपरेमा त्यसको यातायात खर्च दिने निर्णय गरेको छ । अस्पतालले रिफर गरेको काजगपत्रका आधारमा आवश्यक यातायात खर्च दिने निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । छत्रकोट गाउँपालिकाले वडा नम्बर ४ मा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर ५ खज्र्याङको लागि दुई वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । अहिले एउटा पुरानो एम्बुलेन्स भएको र त्यो पर्याप्त नभएकाले नयाँ एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । त्यस्तै नागरिकको सेवा सहजताका लागि पालिकामा ‘हेल्प डेक्स’ स्थापना गर्ने निर्णय गरेको छ । छत्रकोटको वडा नम्बर ६ दौघाको लिफ्टिङ खानेपानीको लागि गाउँपालिकाको बजेटबाट तीन लाखबराबरको सामग्री खरिद गर्नको लागि निर्णय गरिएको अध्यक्ष पाण्डेले बताए । मालिका गाउँपालिकाले आगामी पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने निर्णय गरेको छ । वृद्ध, अपाङ्ग र अशक्तको लागि टोल–टोलमा सामाजिक भत्ता वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलले जानकारी दिए । मालिकाले राजस्व परामर्श समिति गठन गर्ने पनि निर्णय गरेको छ । गुल्मीदरबार गाउँपालिकाले बलिथुमकी नर्मदा रेश्मीलाई बिजुली जडानको लागि १० हजार रूपैयाँ दिने निर्णय गरेको छ । सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षका बाँकी योजना समयमै पूरा गर्ने र आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र रेग्मीले बताए । मदाने गाउँपालिकाले पालिकाभित्रको एकजना बिरामीको लागि कार्यविधिअनुसारको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।