दुर्गन्ध हटाउन जीवातु राखेर प्लाष्टिकले छोपियो महानगरको फोहोर

काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । पानीले सडक बिग्रिएर पूर्ण क्षमतामा फोहोर ढुवानी हुने नसकेपछि महानगरले जीवातु राखेर प्लाष्टिकले फोहोर छोपेको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालका अनुसार शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुने उनले बताए । प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । ‘आज घाम लागेको छ, यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौं, स्टेशनमा फोहोरको मात्रा घटाउने छौं,’ उनले भने । टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ ।

बूढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

काठमाडाैं । बूढीढगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनियाँ नगरप्रमुखमा विजयी भएका छन् । नगरप्रमुखका उम्मेदवार बाँनियाले प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीभन्दा एक हजार तीन बढी मत ल्याएर विजयी भएका हुन् । मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने खातीले तीन हजार ७७४ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै मायाकुमारी खडका विजयी भएकी छिन् । खडका चार हजार ७२७ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाएकी छिन्   । निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

गण्डकीमा मुख्यमन्त्री र मन्त्रीका बुबा–आमाको नाममा कोष

काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीका बुबा आमाको नाममा ट्रष्ट स्थापना गर्नेगरी रकम विनियोजन गरेको पाइएको छ । प्रदेशले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री तथा मन्त्रीका बुबाआमाको नाममा कोष भर्न, ट्रष्ट चलाउन डेढ करोड रकम विनियोजन गरिएको पाइएको हो । उक्त कोषका लागि भन्दै सबैभन्दा धेरै रकम शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई दिईएको छ । मुख्यमन्त्रीका बुवाको नामको कोषलाई ५० लाख र शिक्षामन्त्री श्रेष्ठका बुवा–आमाको नामको ट्रष्टलाई एक करोड रूपैयाँ सरकारी ढुकुटीबाट दिन लागिएको हो । मुख्यमन्त्री पोखरेलले बुवा गोबद्र्धन शर्माको नामको कोष (तनहुँ, व्यास नगरपालिका–१० लाई) मा ५० लाख रूपैयाँ विनियोजन गरेका छन् । शिक्षामन्त्रीले नलिने घोषणा गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट नलिने बताएका छन् । उनले प्रदेशका अर्थमन्त्री रामजी बराललाई उक्त रकम हटाइदिन आग्रह गरेका हुन । उनका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो । उनले टष्ट्रबाट फिर्ता भएको बजेट असहाय, जेष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग गर्न आग्रह समेत गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले बजेट मार्फत आफ्ना बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ । उक्त विरोधपछि शिक्षामन्त्रीले रकम नलिने घोषणा गरेका हुन । गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।